शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ४ र ५ का ३ सय ४० नागरिकले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् ।
सतासीधाम जेसीजको आयोजनामा शिवसताक्षी ४ जनता बजारमा भएको आँखा तथा कानको निशुल्क शिविरमा दुई वडाका ३ सय ४० नागरिकले आँखा र कानको उपचार गराएका हुन् ।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेर सुरु गरिएको स्वास्थ्य शिविरमा वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाई र वडा नं. ५ का वडाध्यक्ष सिकिन पाश्वानले आँखा तथा कानका विरामीहरुलाई व्यवस्थापन गरेका थिए ।
शिविरमा विर्तामोड स्थित दृष्टि आँखा अस्पतालका डा. अजितकुमार ठाकुर, डा श्यामसुन्दर यादव सहितको प्राविधिकले सहजीकरण गरेका थिए । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको सतासीधाम जेसीजले जनाएको छ । सतासीधाम जेसीज वर्ष २०२३ को जेसीज सप्ताह कार्यक्रम अन्तर्गत शिविरको आयोजना गरेको थियो ।