२०८१ असोज ३, बिहिवार , ०१:००:५० बजे

Sajhamanch
'

कविताः महिला हौ तिमी

मङ्गलवार, साउन ३०, २०८०

महिला हौ तिमी बाह्य रमझम छोडेर घरको काममा लाग
घरको इज्जत तिम्रो हातमा सबै आकांक्षा त्याग ।
निश्चल चाहिन्छ सबलाई यहाँ तिम्रो रूप अनि मन
कलियुगको सत्यता हो सबैजना सुन ।।

श्वेत वस्त्रजस्तै चरित्र तिम्रो
त्यही चरित्रमा दाग लगाउने गिद्धहरुको ओइरो ।
तिमीजस्तो पहिरनमा सजिए पनि तिमीमाथि कुदृष्टि लगाइन्छ
तिमी घर आवतजावत गर्ने समय हेरि तिम्रो चरित्रमा खोट देखाइन्छ ।।

विहेपश्चात न माइती तिम्रो न घरका तिम्रो साथ हुन्छन्
दाइजोसँगै लग्दा पनि दमन गर्न तयार हुन्छन् ।
अरू त के कुरा गरू यहाँ आफ्नै आमा बुबाले पनि साथ छोड्ने गर्छन्
गर्भमा छोरी मार्न लाउने त्यही पिता बुहारी खोज्दै भौतारिने गर्छन् ।।

रजश्वला हुँदा तिमीलाई अपवित्र ठहर्याइन्छ
तर त्यही प्रसूतिको रक्तमा लट्पटिएको सन्ततिलाई शुद्ध कहलाइन्छ ।
छाऊ गोठको सामना गर्दै छन् अझै कयौ किशोरीहरु
तेही एकल किशोरीलाई हेरी रमाउने गर्छन यहाँ थुप्रै बलात्कारीहरु ।।

मृत्युपश्चात कात्रो ओडाउँदा सबलाई समान ठानिन्छ
तर त्यहि छोरी जिउँदो हुँदा उसलाई बोझ मानिन्छ ।
तिम्री आमाले तिम्रो शरीर ढाक्न आफ्नो फरिया च्यातेकी थिइन्
त्यही आमाको गरिमा बिर्सिएर कयौँ चेलिबेटीले आफ्नो इज्जत फालेकी छिन् ।।

निर्दोष चेलिबेटीहरु अझै शोषित भएका छन्
गहभरी पीडा भए पनि मुस्कान दिई बाँचेका छन् ।
स्त्री सशक्तीकरणको लागि आवाज उठाउन सिक नारी
तिमीले आवाज नउठाए यहाँ कसले उठाउछ त प्यारी ?

(कवि खड्का ग्रिनफिल्ड नेशनल सेकेण्डरी स्कूल, नागार्जुन–४, काठमाडौँमा कक्षा १० मा अध्ययनरत छिन् ।ं)

मङ्गलवार, साउन ३०, २०८० | सासंक

सम्बन्धित खबर