२०८१ माघ ६, आइतवार , ०३:१७:२९ बजे

Sajhamanch
'

शिवसताक्षी ३ मा सार्वजनिक सुनुवाईः भानु मावि पाराबारीको पूर्वाधार विकासको काम नभएको गुनासो

बिहिवार, असार ७, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं  ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सार्वजनिक सुनुवाईमा चालु आवमा वडाको विकास आयोजनाहरुको प्रगति प्रतिवेदन वडा अध्यक्ष भाष्कर न्यौपानेले प्रस्तुत गरेका थिए।

कार्यक्रममा वडाबासीका गुनासा र सहभागीहरुको सुझाब संकलन गरिएको थियो । उपभोक्ता समिति र ठेक्का मार्फत गरिएको धेरै जसो कामहरु गुणस्तरीय नभएको समेत वडाबासीहरुले गुनासो गरेका छन् ।

सहभागीहरुका तर्फबाट गुणराज लामिछानेले भानु मा.वि. पाराबारीको १०लाख बराबरको पूर्वाधार विकासको काम नभएका कारण गुनासो गरे । उनले यो स्कुल त उदाहरण मात्र हो , किन अनुगमन नै नगरि पास हुन्छ कि योजना भनेर प्रश्न गरेका थिए ।

त्यस्तै सुमित्रा श्रेष्ठले पाराबारी बजारको रहेको फ्रि वाईफाईको प्रचार धेरै गरिएको तर नेटले राम्रो काम दिन नसकेको दुखेसो पोखिन् ।

धेरै वडाबासीहरुले वडाका नयाँ बाटाहरु ग्राभेल भएता पनि धेरै पुराना केही बाटाहरु ग्राभेलका लागि किन प्राथमिकतामा परेन कि पहुँचका आधारमा मात्रै काम हुने हो भनेर प्रश्न सोधेका थिए ।

सहभागीहरूको प्रश्नको जवाफ दिदै नगर उप-प्रमुख नरमाया कार्कीले उपभोक्ता समितिमार्फत गरिएको काम र टेण्डर ठेक्काबाट गरिएका कामहरूको अनुगमनलाई कडाई गरिने बताइन् ।फरफारकमा केही समस्या भएको प्रत्येक वडाबाट पनि गुनासो आएको बताइन् ।आउँदो आवदेखि यसमा हामी केही सहज बनाउन गृहकार्य सुरु गरेको उनको भनाई थियो ।

त्यस्तै पाराबारी बजारमा रहेको फ्रि वाईफाई बिषयको प्रश्नको उत्तर दिदै वडाध्यक्ष भाष्कर न्यौपानेले वाईफाई फ्रि भएकोले प्रयोग कर्ता धेरै भए र नेटले भने जस्तो काम गर्न नसकेको बताए ।उनले वडामा रहेका केही पुराना बाटाहरुमा ग्राभेलको काम पुरा भएका छैनन् । यो सत्य हो । वडाले सबै बाटाहरुमा बजेट बाँड फाँड गर्दा केही बाटाहरुमा आधी मात्र काम भएको छ । आगामी बजेटमा त्यस्ता बाटाहरुमा बजेट विनियोजन गरिने जानकारी दिए ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक खेलकुद ,भाषा, साहित्य ,संस्कृति र कमल खोलाको समस्या लगायत विषयमा सहभागीहरुले प्रश्न राखेका थिए भने केही सुझाब पनि दिएका थिए ।

कार्यक्रमा शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछाने,वडा सदस्य मुनाकुमारी तामाङ ,लासाङदोर्जे तामाङ, तिर्था दर्जी र शंकर राईको उपस्थिति रहेको थियो ।

शिवसताक्षी नगरपालिका वडा नं. ३ले आयोजना गरेको सार्वजनिक सुनुवाईको पहिलो सत्रको कार्यक्रम वडा सचिव इन्द्रकला लिङ्देनले सञ्चालन गरेकी थिइन् भने, कार्यक्रमको सहजीकरण नवनासो साहित्य प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेले गरेकाथिए ।