२०८१ असोज १, मङ्गलवार , ०१:४०:२७ बजे

Sajhamanch
'

सरोकारवाला निकाय मौनताको फाइदा उठाउँदै देवघाटमा सार्वजनिक जग्गामा धमाधम व्यवसायिक भवन निर्माण

मङ्गलवार, माघ १८, २०७८

चितवन, पवित्र तीर्थस्थल देवघाटमा सरकारी सार्वजनिक जग्गा अतिक्रमण तीब्र रुपमा भएको । सार्वजनिक जग्गामा विभिन्न गुठी र मन्दिरका नाममा भवन बनाउने र व्यवसायिक रुपमा बिक्री समेत गर्ने गरेको गुनासो स्थानीयले गरेका हुन् ।

सार्वजनिक जग्गाको अतिक्रमण बढेपछि “देवघाट सार्वजनिक सरकारी नदी तटीय जग्गा अतिक्रमण विरुद्ध संरक्षण अभियान, चितवन” का नामबाट देवघाट क्षेत्र विकास समितिमा उजुरी दर्ता गरिएको छ ।

उक्त उजुरीमा सरकारी सार्वजनिक जग्गा अनधिकृत रुपमा कब्जा गरी विभिन्न मठमन्दिरको नाममा भेटी चन्दा उठाई आश्रमको नाम दिई भवन बनाएर बिक्री गरेको उल्लेख छ ।

उजुरीपत्रमा भनिएको छ “मुकुन्दशरण सिग्देल नाम गरेका व्यक्तिले सार्वजनिक स्थलमा मन्दिरको नाममा भवन निर्माण गरी उक्त भवन सोही स्थानको सार्वजनिक जग्गामा बसोबास गर्ने जगन्नाथ पोख्रेल नाम गरेका व्यक्तिलाई रु। ४० लाखमा व्यवसायिक प्रयोजनका लागि बिक्री गरिएको छ ।”

यसैगरी रत्न कँडेलले पनि सार्वजनिक जग्गा अतिक्रमण गरी दुई वटा घर निर्माण गरिरहेको उक्त उजुरीपत्रमा उल्लेख छ । यसरी सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गर्दा समेत सरोकारवाला निकाय मौन रहेको उजुरीमा उल्लेख छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले राज्यको सम्पत्ति संरक्षण गर्ने दायित्व विकास समितिको रहेको बताउँदै वास्तविकता बुझेर विधिसम्मत तरिकाले अघि बढ्ने जनाए । उनले समिति अझै पनि गठन आदेशको भरमा चलेको हुँदा ऐनको अभाव भने रहेको उनले बताए ।

समितिका अध्यक्ष बद्री अधिकारीले राज्यको सम्पत्ति व्यक्तिगत रुपमा कसैले प्रयोग गर्न र व्यापार व्यवसाय गर्न नपाउने बताउँदै छाविन प्रक्रिया अगाडि बढाउने जानकारी दिए । स्थानीय पालिका र वडाहरुसँग समन्वय गरेर सरकारी सार्वजनिक सम्पत्तिको संरक्षण गरिने उनको भनाई छ ।

भरतपुर महानगरपालिका वडा नं। १ का अध्यक्ष जयराम श्रेष्ठले आफूहरुले कसैलाई पनि घर बनाउन स्वीकृत नदिएको बताए । उनले भने “घर बनाउन स्वीकृत दिएका छैनौं, कसैले बनाएको रोक्न पनि गएका छैनौं ।”

देवघाट क्षेत्रको जग्गा रजिष्ट्रेशन पास नहुने बताउँदै उनले विगतदेखि कागजी र मौखिक रुपमा खरिद बिक्री हुँदै आएको जानकारी दिए । आफूसम्म आएका गुनासाहरु महानगरपालिकामा जानकारी गराएको उनको भनाई छ । सबै पक्ष मिलेर सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने उनको भनाई छ ।

सम्बन्धित खबर