२०८२ मंसिर १, आइतवार , १०:०९:२४ बजे

Sajhamanch
'

दृष्टिविहीन महिला टी- २० विश्वकप, नेपालको दोस्रो जित

आइतवार, मंसिर १, २०८२

काठमाडौँ । पहिलो दृष्टिबिहिन महिला टी- २० विश्वकपमा नेपालले दोस्रो जित दर्ता गरेको छ। बिनिता सोमाईको अर्धशतकीय पारीमा नेपाल अष्ट्रेलिया विरुद्ध ८ विकेटको रोमाञ्चक जित निकाल्न सफल भएको हो।दृष्टिविहिन महिला क्रिकेटको इतिहासमा नै पहिलो पटक अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेको नेपाललाई महत्त्वपूर्ण जित दिलाउन सोमाईले ५६ रनको योगदान दिइन्। उनी ओमन अफ दि म्याच पनि बनिन्।

भारतको बैंगलुरुमा भएको खेलमा १३७ रनको लक्ष्य पछयाउँदै जवाफी ब्याटिङ गरेको नेपालले १४.५ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। नेपालको जितमा सोमाईले ३७ बलमा ५ चौकाको मद्दतमा नटआउट रहँदै ५६ रनको महत्त्वपूर्ण पारी खेलिन् ।यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदा दोस्रो खेलमा भारतसँग ८५ रनले पराजित भएको थियो। नेपालले आइतबार अमेरिकासँग खेल्दैछ ।नेपाल गीता पौडेलको कप्तानी तथा विनिता पुनको उपकप्तानीमा विश्वकप यात्रामा छ ।टिममा विनिता सोमाई, दिल्ली सरा धमला, देवकी थापा मगर, अङ्गिला ढकाल, मनकेशी चौधरी, कान्ति डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई छन् ।

टिमको प्रमुख प्रशिक्षक पुरनसिंह खत्री, सहायक प्रशिक्षक नरेन्द्र निरौला र टिम म्यानेजर भगवती भट्टराई बराल छन्। यो प्रतियोगिताका आयोजक भारत र श्रीलंका हुन् ।