![](https://sajhamanch.com/wp-content/uploads/2024/06/BNC.jpg)
बिर्तामोड । बिर्तामोडस्थित बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम शुरु गरेको छ ।
हस्पिटलले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा आजैबाट शुरु भएको निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी गराइएको हो ।
अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले कार्यक्रमअन्तर्गत सरकारले तोकेबमोजिम मृगौलाका बिरामीहरुलाई निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा प्रदान गरिने बताए ।
कार्यक्रममा कुनै पनि मृगौलाका बिरामीहरुले निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा लिन पाउने गिरीले जानकारी दिए ।
निःशुल्क सेवा लिन बिरामी अस्पतालको ओपिडी वा इमरजेन्सीमा आएपछि चिकित्सकले आवश्यक स्वास्थ्य परीक्षण गरी मृगौलामा समस्या देखिएको र मृगौलाको हेमोडाइलाइसिस गर्नुपर्ने देखिएमा बिरामीको स्थायी ठेगाना भएको स्थानीय तहलाई सम्बोधन गरी विपन्न नागरिक औषधि कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस सेवा लिन सिफारिसका लागि अस्पतालले सिफारिसपत्र उपलब्ध गराउनेछ ।
त्यस्तै, बिरामीको परिवारका सदस्यले उक्त सिफारिसपत्र सम्बन्धित स्थानीय तहमा पेस गरेपछि पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुख रहेको समितिले निर्णय गरेर निर्णयको प्रतिलिपिसहित अस्पताललाई सिफारिसपत्र पठाउनुपर्नेछ ।
स्थानीय तहको सिफारिसपत्रका आधारमा अस्पतालले बिरामीसँग सम्बन्धित अन्य आवश्यक कागजातहरु संलग्न गरेर बिएन्डसी अस्पतालको सामाजिक सुरक्षा इकाईमा पेस गरेपछि निःशुल्क हेमोडाइलाइसिस सेवा प्राप्त गर्न सकिने गिरीको भनाई छ ।
कार्यक्रमअन्तर्गत बिरामीको उपचार प्रक्रियामा अस्पतालमा कार्यरत डाक्टर गोपाल मिश्र, डाक्टर मुक्ति देवकोटा, डाक्टर वासुदेव बाँस्कोटा, डाक्टर राजु श्रेष्ठ, डाक्टर अमितकुमार शाह लगायतका चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीहरुको समूह संलग्न रहने अस्पतालले जनाएको छ ।
हाल बिएन्डसीमा पाँचवटा हेमोडाइलाइसिस मेशिन रहेको र चाँडै थप गरेर २० वटा पुर्याइने गिरीले बताए । पत्रकार सम्मेलनमा उनले हेमोडाइलाइसिसका लागि अस्पतालमा फिस्टुला बनाउने र सघन उपचारको पनि व्यवस्था रहेको जानकारी गराए ।