२०८१ मंसिर १, शनिवार , ११:४४:३९ बजे

Sajhamanch
'

झापामा लागू औषधसहित तीन जना पक्राउ

बिहिवार, जेठ १०, २०८१

झापा । झापामा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । हिजो दिउँसो ४ बजे बिर्तामोड नगरपालिका–५ सुकुम्वासी टोलमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का ३६ वर्षीय कृष्ण ठाकुर र सुनसरी दुहबी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका ४२ वर्षीय खड्गनारायण चौधरीलाई चेकजाँच गर्दा उनीहरूको साथबाट ७ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, २५४ ग्राम गाँजा र नगद २ हजार ६७० रुपैयाँ फेला परेको थियो ।

त्यस्तै हिजो नै प्रहरी चौकी मेचीपारिबाट भद्रपुर नगरपालिका–३ मा खटिएको प्रहरी टोलीले मे. ४ प १६९६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक भद्रपुर–२ का २८ वर्षीय योगेश आलेको साथबाट फेनारगन र डाईजेपाम गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधि फेला परेको थियो । तीनैजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसको अघिल्लो दिन झापा जिल्लाको विभिन्न स्थानहरूबाट ब्राउन सुगरसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । मंगलबार जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट लागू औषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानहरूबाट ६७ ग्राम १६० मिलिग्राम ब्राउन सुगरसहित ८ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–५ मोरङका २६ वर्षीय समीर मगर, उर्लाबारी नगरपालिका–२ का २७ वर्षीय सुजन कार्की, कचनकवल गाउँपालिका–४ की ३६ बर्षीया अलिशा शेख मिया, शिवताक्षी नगरपालिका–१ का ३० वर्षीय शिशिर सुब्बा, २९ वर्षीय सञ्जय सुब्बा र गौरादह नगरपालिका–९ का ३२ वर्षीय नवीन बस्नेत रहेका छन् । ब्राउन सुगरसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर