२०८१ पौष ५, शुक्रवार , ०८:१७:३८ बजे

Sajhamanch
'

झापा एमालेको नेतृत्वमा आकांक्षीहरुको यस्तो छ चर्चा

बुधवार, फागुन ३०, २०८०

बिर्तामोड । नेकपा एमाले झापाको नवौं पूर्ण जिल्ला कमिटी बैठकले अधिवेशनको मिति घोषणा गरेसँगै उम्मेदवारहरुको चर्चा सुरु भएको छ । ११ औं जिल्ला अधिवेशन चैत्र १५ र १६ गते बिर्तामोडमा हुने निर्णय गरेसँगै विशेषगरी पदाधिकारीमा उम्मेदवारहरुको चर्चा सुरु भएको हो ।

अधिवेशनको मिति घोषणा हुनुअघि भइरहेका चर्चा मिति तोकिएसँगै त्यसले तीब्रता पाएको छ । अधिवेशनका कयौं प्राविधिक कामहरु भएपनि नेताहरु आफ्नो उम्मेदवारी आकांक्षा व्यक्त गर्दै आएका छन् । एमाले वृत्तमा अध्यक्षका लागि दुई जनाको नाम चर्चामा छ । हालका कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङगेलले अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् । दुवै जना पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र हुन् ।

झापाको पार्टी नेतृत्व निर्माणमा केन्द्रीय अध्यक्षको समेत निर्देशन कुरेर बसेका एमाले नेताहरु सार्वजनिक रुपमा उम्मेदवार घोषणा गर्न भने सकिरहेका छैनन् । अध्यक्षका उम्मेदवार आन्तरिक रुपमा लविङमा रहे पनि ओलीको सूझाव नेताहरुले पर्खिरहेको बुझिन्छ । अध्यक्षका दुवै आकांक्षीले ओलीलाई रुष्ट नबनाउने रणनीति अवलम्बन गरिरहेको बुझिन्छ । उनीहरु ओलीले आफैलाई सर्वसम्मत गरिदिने भन्नेमा ढुक्क छन् ।

संविधानसभा सदस्य एवम् पार्टीको उपाध्यक्ष भइसकेकोले अध्यक्षमा स्वभाविक रुपमा गिरीले आकांक्षा व्यक्त गरहेको कतिपयको बुझाई छ । यता, संसदीय मोर्चामा अहिलेसम्म अवसर नलिएको, पार्टी निर्माणमा वर्षौ देखि निरन्तर योगदान गरिरहेका ढुङगेललाई नेतृत्व प्रदान गर्नुपर्ने धेरैको तर्क छ । जसले पार्टी निर्माणमा योगदान गरिरहेको छ, उसैले नेतृत्व पाउनुपर्ने तर्क बलियो ढंगबाट उठिरहेको छ । पार्टी निर्माणमा दुवै जनाको योगदान उस्तै–उस्तै भएको एमाले नेताहरुको धारणा छ ।

गिरी र ढुङगेल दुवै जना अध्यक्षको उम्मेदवार बन्ने लगभग निश्चित भएपछि समकक्षीहरु कसको समर्थनमा लाग्ने भ भन्ने संकट आइलागेको बताउछन् । एक नेता भन्छन्, ‘उहाँहरु एकै टिमबाट हुनुहुन्छ । एकतिर लाग्दा अर्कातिर समस्या होस् भन्ने चहाना पनि छैन । पार्टीमा थप एकता र सहकार्यका लागि उम्मेदवारका पक्ष विपक्षमा देखिनु हुदैन । ओलीको सूझाव पर्खिरहेको झापा एमालेले सर्वसम्मत गरोस् भन्ने चहाना अधिकांश नेताहरुले व्यक्त गर्दै आएका छन् ।

यस्तै उपाध्यक्षमा बद्री भट्टराई, लक्ष्मण पाठक, सचिवमा असारु राजवंशी, गोपाल काफ्ले, टिकाराम मंग्राती, तुलसी कार्की, उपसचिवमा छविलाल विश्वकर्मा, छविलाल चुडाल, पवित्रा पाठक, लिला दाहालको चर्चा चलिरहेको छ ।

सम्बन्धित खबर