काभ्रेपलाञ्चोक । लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा–महाराजाको खान्गी बन्छ भन्ने कमैलाई थाहा होला।काभ्रेपलाञ्चोक जिल्लाका रोसी खोला, बेथानचोक, ढुङ्खर्क र काठमाडौँको फुल्चोकी पहाड वरिपरि बग्ने ससाना ठाडा खोलामा पाइने लेउ स्वादिलो हुने भएकाले दरबार र पाँचतारे होटलसम्म पुग्ने गरेको छ।
कात्तिकदेखि फागुनसम्मका पाँच महिनासम्म घाम लाग्ने सफा उच्च प्रवाहमा बग्ने पानीको ढुङ्गामा टाँसिएर रहने सिमाली त्यही लेउ हो। असला माछाको जस्तै स्वाद हुने यो लेउ एक हजार ५०० देखि दुई हजार मिटर उचाइका खोलामा पाइन्छ। नेपालमा ९९८ प्रकारका लेउ पाइन्छ।
खोलाको ढुङ्गामा टाँसिएर रहेको लेउलाई स्थानीयले सङ्कलन गरी बिस्कुन सुकाउने मान्द्रामा राखेर करिब आठ इञ्चको वर्गाकार पापड बनाउने गर्छन्। पापडलाई राम्रोसँग घाममा सुकाएर भण्डारण गर्छन्। रुचि र स्वाद अनुसार फरक फरकका परिकार बनाएर खान्छन्।स्थानीयले घरायसी प्रयोजनसँगै सिमाली लेउलाई आयआर्जनको माध्यम पनि बनाएका छन्। वनस्पतिविद् डा। मोहनलाल वनर्जीले सन् १९५५ मा जर्नल अफ द बम्बे नेचुरल हिस्ट्री सोसाइटीमा प्रकाशित लेखमा सिमाली इन्द्रचोकको बजारमा पाइने उल्लेख गरिएको छ। त्यसैलाई पछ्याउँदै ६२ वर्षपछि सन् २०१७ मा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा त्यसको अनुसन्धान शुरु भएको छ। तर यो अहिले लोप हुने अवस्थामा पुगेको छ।
पनौती पर्यटन केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले असला माछा लोप हुने अवस्थामा पुगेसँगै सिमाली पनि लोप हुने अवस्थामा पुगेको उनले जानकारी दिए।पहिले–पहिले सिमाली राजदरबारसम्म जाने गरेको उनले सुनाए। ‘२०५५ सालसम्म स्थानीय मास्के धउ बाज्याले त राणा र राजाको दरबारसम्म सिमाली लगेर बेच्ने गर्नुहुन्थ्यो। उहाँको निधनपछि पनौतीबाट सिमाली दरबारमा जान छाडेको हो’, उनले भने।वनस्पति विभाग प्रयोगशाला ललितपुरले गरेको अध्ययन अनुसार सिमालीमा प्रोटिन, कार्बोहाइड्रेट, बोसो, रेसा, क्षार र फलामको तìव पाइन्छ। तिहारमा सो क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइलाई तेलमा तारेर पापड बनाए जस्तै गरी बनाएर दिने प्रचलन पनि छ। तथापि सिमालीको संरक्षण र प्रवर्धनमा स्थानीय तहले पनि खासै चासो र चिन्ता भने गरेको देखिँदैन।गोरखापत्रबाट