२०८१ मंसिर ११, मङ्गलवार , ०७:३६:३८ बजे

Sajhamanch
'

वडासदस्य मैनालीको रचनात्मक काम, आफ्नो जन्म दिनमा ८० जना विद्यार्थीलाई स्कुल व्याग वितरण

सोमवार, पौष ९, २०८०

शिवसताक्षी । आफ्नो जन्म दिन साथीभाईहरुलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला झापा शिवसताक्षी १० की वडा सदस्य तथा नगर कार्यापालिका सदस्य कोपिला चिमोरिया मैनालीले रचनात्मक काम गरेर जन्म दिन मनाएकी छिन् ।

उनले आज आफ्नो जन्म शिवसताक्षी नगरपालिका वडा नं. १० को दिपेन्द्र आधारभूत विद्यालयमा मनाइन् । जन्म दिनको अवसरमा मैनालीले दिपेन्द्र आ.वि. का ८० जना बालबालिकाहरुलाई स्कुल व्याग वितरण गरेकी छिन् । उनले जन्म दिन मनाउने खर्चलाई रचनात्मक काममा लगाउँदै विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ३ सम्मका विपन्न समुदायका छोराछोरीहरुलाई स्कुल व्याग वितरण गरेकी हुन् ।

उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, कार्यापालिका सदस्य कोपिला मैनाली र उनका श्रीमान् कपिलमणी मैनालीले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी स्कुल व्याग वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारसिंह साँवाले जानकारी दिए ।

त्यस्तै जन्म दिन मनाउने क्रममा मैनालीले वडा नं. १ ट्याक्रका दुई ज्येष्ठ माताहरुलाई सम्मान गरेकी छिन् । स्थानीय लीला सुवेदी र सीता भट्टराईलाई गाम्छा ओडाएर नगदसहित सम्मान गरेकी थिइन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले मानिस सामाजिक प्राणी भएकाले समाजका लागि हरेक तरिकाले योगदान पुर्याउन अब कर्तव्य जस्तै बन्न थालेको बताए । वडा सदस्य तथा कार्यापालिका सदस्य मैनालीले समाजका लागि र यस विद्यालयका बालबालिकाहरुलाई गरिएको सत्तकर्मको खुलेर प्रशंसा गरेका थिए । उनले एक जनाको जन्मदिनले धेरै बालबालिकाहरुको अध्ययनमा सहयोग पुगेको बताए । नगरप्रमुख थोप्राले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाको तर्फबाट २ लाख बजेट विनियोज गर्ने प्रतिबद्धता जाहेर गरे । उनले विद्यालय अवस्थाका बारेमा अनुगमन समेत गरेका थिए ।

त्यस्तै कोपिला मैनालीले विद्यालय विद्याको मन्दिर र यसमा देशका कर्णधार बालबालिकाहरुको भविष्य निर्धारण गर्ने भएकाले आर्थिक अभावको चपेडामा परेका बालबालिकाहरुलाई सानो सहयोग गरेको बताइन् । उनले आफु जनप्रतिनिधि भएका कारण पनि आफुलाई समाजका हरेक कुराहरुको जिम्मेवारी बोध भएको बताइन् । उनले भनिन्, विकासका कामहरुलगायत सबै प्रकारका रचनात्मक कामहरुमा सबैको सहयोग र साथको अपेक्षा गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

कार्यक्रममा विद्यालयका प्र.अ. महेश खड्का र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारसिंह साँवाले विद्यालयको भौतिक तथा आर्थिक अवस्थाका बारेमा नगरप्रमुखलाई जानकारी गराएका थिए ।

यसैबीच कोपिला मैनालीलाई दिपेन्द्र आधारभूत विद्यालयले केकको व्यवस्थापन गरिदिएको थियो । विद्यालयतर्फबाट केक काटेर मैनालीको जन्म दिन मनाएको विद्यालयका प्र.अ. खड्काले जानकारी दिए ।

कार्यक्रममा कार्यपालिका सदस्य मंगलीदेवी विश्वकर्मा, वडा सदस्य मातृकादेवी कोइराला, शिक्षक अभिभावसंघका अध्यक्ष, वि.व्य.स. सदस्यलगायतको उपस्थिति रहेको थियो।

सोमवार, पौष ९, २०८० | विविधा, समाज

सम्बन्धित खबर