शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले कोशी प्रदेश प्रतिनिधि छनोट सर्वसम्मत चयन गरेको छ । युवाहरुको तर्फबाट सिकिन पाश्वन र पुष्प सापकोटालाई सर्वसम्मत चयन गरेको हो । युवा तर्फ २ जनाका लागि ६ जनाको उम्मेद्वारी परेको थियो ।
प्रदेश अधिवेशनका लागि अग्नी बहादुर कार्की, डिगम पराजुली, प्रदिप गोले तामाङ्ग, सुरज रिङगालुङ, सिकिन पाश्वन र पुष्प सापकोटा उम्मेद्वारी परे पनि आज भएको छलफलबाट पाश्वन र सापकोटालाई चयन भएको बताइएको छ ।अन्य उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएसँगै सापकोटा र पाश्वनलाई सहज भएको थियो ।
त्यस्तै खुल्ला तर्फका १० जनामा १९ जनाको उम्मेद्वारी परेको नेकपा एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ । त्यसैगरी महिला तर्फ ६ दुई जनाको लागि ९ जनाको उम्मेद्वारी परेको छ।
नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशन अन्तरगत प्रतिनिधि छनौटको प्रक्रिया मंगलबारदेखि सुरु भएको छ । प्रतिनिधि छनौट प्रक्रिया असोज ५ गतेभित्र सम्पन्न हुने एमालेले जनाएको छ ।
कोशी प्रदेशमा एमालेका १ लाख बढी कार्यकर्ता रहेका छन् । उनीहरूबाट करिब ११ सय प्रतिनिधि छनौट हुनेछन् । प्रतिनिधिहरूले प्रदेशको कार्यसमिति चयन गर्नेछन् । एमालेको कोशी प्रदेश अधिवेशन आगामी असोज १२ र १३ गतेका लागि तोकिएको छ । निर्वाचित अध्यक्षलाई एमालेले पोलिटब्युरो सदस्य सरहको हैसियत दिने व्यवस्था छ । यसकारण पनि प्रदेश अध्यक्ष बन्न नेताहरू तीव्र कसरत गरिरहेका छन् ।