शिवसताक्षी । शिवसताक्षी ११ स्थित देविथान मन्दिर परिसरमा प्रसाई ट्रष्ट कल्याणकारी कोष नगर इकाई समिति शिवसताक्षीले तीज विशेष कार्यक्रम गरेको छ ।
हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरेर प्रसाई ट्रष्ट कल्याणकारी कोषले महिला दिदी बहिनीहरुलाई दर खुवाएको हो ।
कार्यक्रममा प्रसाई ट्रष्ट कल्याणकारी कोष नगर इकाई समितिको कार्य समेत उद्घाटन भएको छ । कार्यालय शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले चेली र माइतीको विशेष दिनका रुपमा तीजलाई सदियौ वर्षदेखि मान्दै आएको बताए । उनले बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउने बताए । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दुस्खका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ भएकाले पनि तीज पौराणिक कालदेखि नै कुनै कुनै रुपमा मनाइदै आएको हो । उनले भने, तीज पर्वलाई महिला दिदीबहिनीहरुले परिस्कृत रुपमा सामुहिक तरिकाले तीज मनाउने चलन बढ्न थालेको छ ।
त्यस्तै नगर उपप्रमुख नरमाया कार्कीले तीजलाई साधारण तरिकाले मनाउन आग्रह गरिन् । तीजलाई भड्किलो तरिकाले नमनाई यसलाई पर्वको रुपमा मनाउनु पर्ने उनको भनाई थियो । तीजको उपलक्ष्यमा सम्पूर्ण महिला दिदीहरुलाई तीजको शुभकामना व्यक्ति गरेकी थिइन् ।
प्रसाई ट्रष्ट कल्याणकारी कोष नगर इकाई समिति शिवसताक्षीले तीज विशेष कार्यक्रम आयोजना गरेपनि यो आम दिदीबहिनीहरुका लागि कार्यक्रम आयोजना गरिएको शिवसताक्षी नगरपालका वडा नं. ४ का अध्यक्ष तथा प्रसाई ट्रष्ट कल्याणकारी कोष नगर इकाई समिति अध्यक्ष विष्णु प्रसाईले जानकारी दिए ।
अबका दिनमा नगर इकाई समितिले प्रसाई परिवारलाई मात्र केन्द्रित नगरी आम समुदायका लागि काम गरिने अध्यक्ष प्रसाईले जानकारी दिए । उनले वडा नं. ११ मा एउटा समुदायिक भवन बनाउने योजना रहेको समेत बताए । कार्यक्रममा आमा दिदी बहिनीहरुले तीजको गीतमा नृत्य गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा खगेन्द्र प्रसाद प्रसाई (पूर्व मन्त्री) , टिका प्रसाद घिमिरे तथा प्रसाई ट्रष्ट कल्याणकारी कोषका केन्द्रिय उपाध्यक्ष, नारायण प्रसाद प्रसाई जिल्ला अध्यक्ष, इन्द्र प्रसाद प्रसाई जिल्ला उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।