२०८० फागुन ८, मङ्गलवार , ०४:३६:५० बजे

Sajhamanch
'

हजुरआमाले कुर्सी नपाएपछि बेहुलाले गरे बिहे रद्द

सोमवार, माघ २९, २०८०

बिहे गर्नका लागि जन्ति लिएर आएका एकजना बेहुलाले एउटा कुर्सीको विवादमा बिहे नै रद्द गरेर हिँड्छन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ ।

दिल्लीबाट जन्ती लिएर बिहे गर्नका लागि उत्तर प्रदेश आएका ती युवकले आफ्नी हजुरआमालाई बस्नका लागि कुर्सी नदिएको विवादमा बेहुली पक्षसँग झगडा मात्रै गरेनन् ती बेहुलीसँग बिहे नगर्ने घोषणा नै गरे ।उत्तर प्रदेशको बुलन्दशहरमा सो घटना भएको हो । दिल्लीको सीमापुरीबाट बरात ९जन्ती० लिएर आएका बेहुला पक्षलाई बेहुली पक्षले रातको ८ बजेतिर भव्यतापूर्वक स्वागत गरेको थियो ।

बेहुलीका पिता मोद मुबीनका अनुसार गत शनिवार मौलवीले बेहुला र बेहुलीको बीचमा बिहे गराएको केही घण्टापछि नै बेहुलाले आफ्नो बिहे रद्द भएको घोषणा गरेका थिए ।उनका अनुसार बिहेको कार्य सकिएपछि रातको १० बजेतिर सबैजना रमाइरहेका थिए । त्यहाँ एक्कासी एकजना वृद्धासँग एक पाहुनाको झगडा सुरु भयो ।

ती वृद्धा वास्तवमा बेहुलाकी हजुरआमा रहेछिन् । विवादपछि ती वृद्धाले आफुलाई अपमान गरेको महसुस गरिन् र बेहुला अर्थात् आफ्नो नातीसँग गुनासो गरिन् । त्यसपछि त विवाद झनै चर्कियो ।झैझगडामा बेहुला र उनका दाजुपनि मिसिए र बेहुलीलाई नै ‘घर पुगेपछि पख्लिस्’ भनेर धम्काउन थाले । साथै उनले बिहे नै भंग भएको भन्न थाले ।

प्रत्यक्षदर्शीका अनुसार बेहला पक्षले धम्की दिने र बिहे नै भंग भएको भनेपछि बेहुली पक्ष झनै रिसायो । उनीहरुले बिहे समारोह तथा पार्टीमा भएको खर्च रकम तिर्नुपर्ने भन्दै बेहुला र उनका दाईलाई कोठामा थुने ।केही घण्टासम्मको विवादपछि बेहुला पक्षले खर्च भएको भनिएको रकम तिर्यो । त्यसपछि मात्र बेहुलालाई त्यहाँबाट छाडियो ।

उता पुलिसले भने यो घटनाका बारेमा हालसम्म कुनैपनि उजुरी प्राप्त नभएको जनाएको छ । उनीहरुले एक आपसमा विवाद मिलाएको हुनसक्ने भन्दै प्रहरीले उजुरी प्राप्त भएको खण्डमा त्यस विषयमा आवश्यक अनुसन्धान गर्ने जनाएको छ । एजेन्सी

सम्बन्धित खबर