२०८० फागुन ८, मङ्गलवार , ०४:४४:०३ बजे

Sajhamanch
'

पाथीभरामा केबुलकारसँगै ताप्लेजुङको समृद्धि

शनिवार, माघ ६, २०८०

काठमाडौँ ।पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङ काठमाडौंबाट करिब ७०० किलोमिटर पूर्वउत्तरमा पर्छ। ताप्लेजुङको नाम सुन्नेबित्तिकै यससँगै जोडिएर पाथीभरा देवी र कञ्चनजङ्घा हिमालको नाम आउँछ। करिब तीन हजार सात सय ९४ मिटर अग्लो स्थानमा पाथीभरा शक्तिपीठको मन्दिर छ। कञ्चनजङ्घा आठ हजार पाँच सय ५६ मिटर अग्लो हिमाल विश्वकै तेस्रो अग्लो हिमशिखर हो। उच्च पर्यटकीय सम्भावना भएको यो जिल्ला अलैंची उत्पादनका लागि नेपालमा कहलिएको जिल्ला हो।

सामरिक हिसाबले पनि चीन र भारत दुवै छिमेकीसँग जोडिएको ताप्लेजुङ अहिलेसम्म पनि पिछडिएको ठाउँका रूपमा रहेको छ। हुन त यो हिमाली जिल्लाका बासिन्दालाई यातायात सहजताका लागि मेची राजमार्ग २०४५ सालमा नै निर्माण सुरु भएको हो। तथापि यसलाई बाह्रै महिना यातायात सञ्चालन हुन थालेको धेरै भएको छैन।

यस जिल्लालाई काठमाडौं र विराटनगरसँग सिधा हवाई सम्पर्कका लागि २०३३ सालमा सुकेटार विमानस्थल निर्माण गरिएको थियो। तर मौसमी प्रतिकूलताले यस विमानस्थलमा जहाज उडान र अवतरण भने निकै मुस्किलले हुने गर्छ

ताप्लेजुङलाई राष्ट्रिय राजमार्गसँग जोड्न पूर्वपश्चिम राजमार्गको बिर्तामोड–काँकडभिट्टा खण्डअन्तर्गत चारालीबाट २८६ किलोमिटर लामो मेची राजमार्गले चियाबारीको जिल्ला इलाम हुँदै पाँचथर भएर ताप्लेजुङलाई जोडेको छ। दुई लेनको यो सडक ताप्लेजुङको पर्यटकीय सम्भावना खुल्नेबित्तिकै विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ। सरकारले पछिल्ला केही वर्षदेखि नदी किनारमा करिडोर निर्माण गरेर यातायातलाई थप सहज बनाइरहेको छ।

त्यति मात्र होइन, धेरैवटा गन्तव्यको दुरी पनि यस्ता करिडोरले छोट्याएका छन्। त्यस्तै ताप्लेजुङलाई तराई वा मूल राजमार्गसँग जोड्न अहिले तमोर करिडोर पनि सञ्चालनमा आएको छ। सुनसरीको चतराबाट कोसी र तमोर नदीको किनारै किनार ताप्लेजुङ पुग्ने एक सय ९१ किलोमिटर लामो यो सडक ताप्लेजुङको पर्यटकीय सम्भावनाको आयतन बढाउने अर्को परियोजना हो।

ताप्लेजुङ पुगेपछि मैले थाहा पाएँ, तमोर करिडोरले त नेपालको उत्तरी सिमाना ओलाङचुङ्गोला हुँदै छिमेकी देश चीनको तिब्बतको रिउ प्रान्तलाई जोड्ने रहेछ। चीन सरकारले पनि टिपताला नाकासम्म सडक निर्माण गरेर आउजाउलाई सहज बनाइसकेको रहेछ।

केही साल अघिसम्म पनि तमोरको गडतिरमा मोटर गुड्ने सडक निर्माण हुने कुरा ताप्लेजुङबासीका लागि मिठो कल्पना मात्र हुन्थ्यो भनेर यहाँका मानिस बताउँछन्। तर सम्भव छ, हामीले चाहे विकासमा होस्टेमा हैंसे गरेमा विकास र समृद्धि हाम्रै पालामा देख्न र भोग्न पाइन्छ। यसका लागि सरकारको मुख मात्र ताक्नुपर्दैन। स्थानीय बासिन्दाको जागरुकता र निजी क्षेत्रको लगानीबाट यो सम्भव छ।

ताप्लेजुङमा यी सबै पूर्वाधारकै आधारमा अर्को एउटा ‘गेम चेन्जर प्रोजेक्ट’ सुरु भएको छ पाथीभरा केबुलकार। पर्यटकीय र धार्मिक गन्तव्यका रूपमा रहेको पाथीभरा पुग्न सबैलाई सहज छैन। उचाइका कारणले ज्येष्ठ नागरिक, बालबालिका वा श्वासप्रश्वाससँग सम्बन्धित रोग भएका व्यक्तिहरू यो ठाउँमा चाहना भएर पनि पुग्न असमर्थ हुन बाध्य छन्।

उचाइका कारण लेक लाग्ने, भिरालो र उकालो बाटो भएका कारण हिँड्न नसकिने, बोकेर लैजानुपर्ने यस ठाउँको बाध्यता हो। यी दुःखले गर्दा कैयौं मानिस चाहेर पनि पाथीभरा पुग्न सकेका छैनन्। खासगरी ज्येष्ठ नागरिकको धोको त एकपटक बुढ्यौलीमा पाथीभरा पुग्न पाए हुन्थ्यो भन्ने हुँदो रहेछ पूर्वी नेपालमा। यसै सन्दर्भमा केही वर्ष अगाडि म आमालाई लिएर पाथीभरा जाँदा एउटा संयोग प¥यो। बुढी आमालाई लिएर म फेदीको उकालो काट्दै थिएँ। एकजना युवा पनि आफ्ना वृद्ध हजुरबालाई पाथीभराको दर्शन गराएर फर्कंदै हुनुहुँदोरहेछ।

मैले उहाँलाई सोधें, ‘बुबा, तपाईं यहाँ पहिला आउनुभएको थियो कि थिएनरु’ उहाँले भन्नुभयो, ‘बाबु, म पहिला आएको थिइनँ। म पहिलो पटक आएको हुँ। मलाई धेरै पहिलादेखि आउने इच्छा थियो। बल्ल आउने मौका मिल्यो।’ मैले भनें, ‘बुबा, यहाँ त केबुलकारको कुरा चलेको छ नि?उहाँले भन्नुभयो, ‘बाबु, केबुलकार भयो भने त म प्रत्येक वर्ष आउने थिएँ। यहाँ केबुलकार बन्ला र?

ताप्लेजुङको समृद्धिका लागि ती ८० वर्षका हजुरबाको भनाइ एउटा प्रतिनिधि भनाइ हो। जीवनमा कष्टपूर्ण ढंगले जोखिम मोलेर एकपटक पाथीभरा पुग्नुभएका उहाँ फेदीको उकालोमा केबुलकार चलेमा वर्षैपिच्छे आउने थिएँ भन्नुहुन्छ। यस्तो चाहना कति मानिसको होला? अघि मैले भने जस्ता शारीरिक अशक्तता भएका व्यक्तिका अतिरिक्त कैयौं मानिसको पाथीभरा जाँदा केबुलकारमा चढेर जाने सपना छ।

पाथीभरा केबुलकार निर्माण स्थलको अवलोकन गरेर फर्कने क्रममा २०७५ फागुन १५ मा मेरा मित्रहरू तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायतको हेलिकोप्टर दुर्घटनामा निधन भयो। त्यसअघि खासै चर्चा नपाएको यहाँको केबुलकारले त्यसपछि बहस, विवाद, आशा–निराशाबिच चर्चा पायो।

संयोगले यो केबुलकार बनाउने जिम्मा मेरो काँधमा आएको छ। पाथीभरामा केबुलकार बनाउने कथा यहाँका मानिसहरूले २५ वर्षदेखि सुन्दै आएका हुन्। तर अझै केबुलकार बनेको छैन। के अझै हामीले यही कथा सुनेर सुनाएर बस्ने कि केबुलकार निर्माणतिर लाग्नेरु ताप्लेजुङलाई केबुलकार निर्माण गर्दा फाइदा होला कि निर्माण नगर्दा फाइदा होला?

हाम्रो क्षेत्रको विकास, पर्यटन र यिनीहरूले खोल्ने अरू सम्भावनाका ढोकातिर पनि ध्यान दिऔं। हामीले सुन्दा वा देख्दा तल्लो फेदीबाट पाथीभरा पुग्ने करिब तीन किलोमिटर केबुलकार मात्र होला तर यसले सिर्जना गर्ने रोजगारी, विकास, पर्यटन, आर्थिक उपार्जनलगायतका सम्भावनामा हाम्रो ध्यान गएको छरु एकपटक त्यतातिर पनि सोचौं। यस लेखमा मैले केबुलकार परियोजनालाई गेम चेन्जर परियोजना भनेको छु। त्यो किन हो भनेर यहाँ संक्षिप्त चर्चा गरौं।

म देशका विभिन्न ठाउँमा घुम्दा पहाडी क्षेत्रहरू खाली हुँदै गएको, मानिसले छोड्दै गएको देख्छु। यसको कारण के होला भनेर स्थानीय साथीहरूसँग पनि सोधखोज गर्छु। विभिन्न सञ्चारमाध्यममा समाचार पनि देख्छु। मानिसहरू रोजगारीको अभावमा तराई वा सहरतिर बसाइँ सरिरहेका छन्। आफूले बनाएको नयाँ गन्तव्यले पनि दैनिक आवश्यकता पूरा हुन नसकेपछि थप कमाउने वा उच्च अध्ययन गर्ने नाममा युवाहरू विदेशतर्फ गइरहेका छन्।

बसाइँ सर्नु आफैंमा एउटा विकास र प्रगतिको द्योतक हो भनिन्छ। यसलाई नकारात्मक रूपमा लिनुहँुदैन तर आफूले छोडेको ठाउँमा अरू कोही पनि नयाँ सम्भावना देखेर बसोबास गर्न आउन सक्ने वातावरण देशका सबै भागमा बन्नुपर्छ। केबुलकार निर्माण भएपछि ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटाजस्ता पूर्वी पहाडी जिल्लामा त्यो आकर्षण स्वतः बन्छ भन्ने मलाई लाग्छ। यसको कारण के हो भने केबुलकार निर्माण भएपछि पाथीभरामा आउनेजाने मानिसको घुइँचो हो। मैले तथ्यांक हेरें।

ताप्लेजुङको जनसंख्या एक लाख २० हजार रहेछ। जनसंख्या वृद्धिदर चाहिँ ऋणात्मक रहेछ। पाँचथर र धनकुटाको पनि स्थिति उस्तै रहेछ। मैले अर्को तथ्यांक हेरें। अहिले पाथीभरामा वार्षिक २ लाख २० हजार भक्तजन पुग्दा रहेछन्। जिल्लाभरिको जनसंख्याभन्दा झन्डै दोब्बर मानिस यस जिल्लामा पाथीभरा जाने प्रयोजनमा आउने रहेछन्।

त्यसमा केही प्रतिशत यसै जिल्लाका होलान्। केबुलकार निर्माण भएपछि पहिलो वर्ष नै कम्तीमा १० लाख भक्तजनलाई पाथीभरा पु¥याउने हाम्रो लक्ष्य छ। तीमध्ये अधिकांश स्थलमार्गबाट नै पाथीभरा आइपुग्नेछन्। यति धेरै मानिस ताप्लेजुङ आउने भएपछि अहिले विद्यमान हाम्रो संरचनाले पुग्ला तरु अहिले भइरहेका होटलले यति धेरै मान्छेलाई बास बस्ने ठाउँ दिन सक्ला तरु अहिले भइरहेका मोटरगाडीले यत्रा मानिस ओसार्न सक्लान् तरु अहिले भइरहेको बसपार्कले पुग्ला तरु

अहिले भइरहेको खानेपानीको ट्यांकीले यति धेरै मानिसको प्यास मेटाउला तरु अहिले भइरहेका चियापसलले यति धेरै मानिसलाई चिया खुवाउन सक्लान् तरु मन्दिरमा अहिले बेचिरहेका फूलपातीले यति धेरै मानिसलाई पुग्ला तरु अनि झापाको चारालीबाट ताप्लेजुङ आउने दुई लेनको सडकले मात्र अब धान्ला तरु अथवा धनकुटाको मूलघाटबाट आउने तमोर करिडोर मात्र यतिका मानिस आउजाउ पर्याप्त होला तरु यहाँको स्थानीय कृषि उत्पादनको बजारको स्थिति कहाँ पुग्लारु ताप्लेजुङको स्थानीय उत्पादनको ब्रान्डिङ ‘मार्केट भेल्यु’ कहाँ पुग्लारु

यी सबै सम्भावना केबुलकारले एक वर्षभित्र ताप्लेजुङ जिल्लामा सिर्जना गर्छ। त्यसैले १० लाख नयाँ मानिसलाई लक्षित गरेर होटलहरू निर्माण गर्न सुरु गरौं। संघीय प्रदेश र स्थानीय सरकारले फराकिलो बसपार्कको प्रबन्ध गर्नतिर लागौं। अहिलेका नयाँ गाडीहरू यस रुटमा भियाउने पहल थालौं। यतिका धेरै मानिसलाई पुग्ने गरी पानी खुवाउन नयाँ खानीपानी योजनाको सम्भावना खोजौं।

यी सबै कुराले ताप्लेजुङलगायत मेची करिडोर र तमोर करिडोरमा पर्ने छिमेकी जिल्लाको आर्थिक चहलपहल नसोचेको हिसाबले अगाडि बढ्ने कुरामा दुईमत छैन। किनकि यहाँ सञ्चालन हुने होटल, यातायात, स्वयम् केबुलकारमा खपत हुने विभिन्न प्रकारका जनशक्ति, फूलपाती बेच्नेहरूले यतै रोजगारी पाउनेछन्। यहाँ काम गर्ने जनशक्ति अधिकांश स्थानीय नै हुनेछन्।

मानिसको बढ्दो चहलपहलले यहाँका कृषि उत्पादनले राम्रो बजार पाउन थालेपछि यहाँका वर्षौंदेखि बाँझिएका जमिन हराभरा हुनेछन्। मलाई त के लाग्छ भने यस परियोजनाबाट सिर्जना हुने आर्थिक चहलपहल र नयाँ सम्भावनाले यहाँबाट बसाइँ सरेर अन्यत्र गएकाहरू फेरि यसै ठाउँमा समृद्धिको सम्भावना देखेर ‘रिभर्स माइग्रेसन’तर्फ उन्मुख हुनेछन्।

त्यसैले जिल्लाको परिचय नै बदल्ने यस परियोजना सञ्चालनमा स्थानीयबासीको उत्साहपूर्ण सहभागिता रहनुपर्छ। यो परियोजना निर्माण सुरु भएको १३ महिनाभित्र सम्पन्न हुनेछ। त्यसैले मैले माथि उल्लेख गरेका सम्भावनाको उपभोग गर्ने समय आइसकेको छ। यसका लागि ताप्लेजुङबासी एकताबद्ध भएर जुट्नुपर्छ।

जिल्लामा भित्रिन लागेको गेम चेन्जर परियोजनामा सानातिना विवाद झिकेर व्यवधान नगरौं। यसलाई सम्पन्न गर्नतिर लागौं। जसबाट स्थानीय तहले पाउने रोयल्टी, परियोजनाको सामुदायिक उतरदायित्वबाट आउने रकमले स्थानीय ठाउँको विकास निर्माणमा योगदान पुग्छ। त्यसैले यसतर्फ पनि सबैले विचार गरौं। जिल्लाका प्राकृतिक, धार्मिक, पर्यटकीय र अन्य ऐतिहासिक सम्भावनाहरू हुँदाहुँदै पनि बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेकाले यस जिल्ला र यहाँका स्थानीयको मुहारमा उज्यालो ल्याउन यस्ता ठुला परियोजनाहरू जतिसक्यो धेरै भियाउनुपर्छ। यसका लागि सबैले पहल गरौं।

सम्बन्धित खबर