२०८० फागुन ८, मङ्गलवार , ०७:५४:३५ बजे

Sajhamanch
'

बिर्तामोडमा आदिवासी महोत्सवको तयारी तीब्र

शनिवार, माघ ६, २०८०

बिर्तामोड । यही माघ ९ गतेदेखि झापाको बिर्तामोडमा शुरु हुन लागेको दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको तयारी तीब्र पारिएको छ । सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सवको तयारी थालिएको हो । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा माघ ९ देखि ३० गतेसम्म दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा सयभन्दा बढी स्टल निर्माण भइरहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टल रहने महासंघले जनाएको छ । त्यस्तै खेल तमासा, बाल उद्यान, अटोमोबाइल्स, आइटी लगायतका व्यावसायिक स्टलहरु रहने महासंघका वीरेन मेचेले जानकारी दिएका छन् । उनले आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहने जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने जनाइएको छ । द एलिमेन्ट बेन्ड, सविन राईको बेन्ड, पूर्ण राईको बेन्ड, सपना सुमनको बेन्डसँगै कलाकारहरु शान्तिश्री परियार, ज्योति मगर, मेलिना राई, एलिना चौहान, राजनराज शिवाकोटीलगायत आउने निश्चित भइसकेको मेला सञ्चालक नारायण अधिकारीले बताए ।

महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको जनाइएको छ ।