२०८० फागुन १८, शुक्रवार , १२:३२:५३ बजे

Sajhamanch
'

बुहारी

शुक्रवार, माघ ५, २०८०

लेख किन लेखिन्छ ? टोल–गाउँ भाँड्न, देश भाँड्न, विखण्डन ल्याउन, विचलित बनाउन, मनमा अशान्ति सिर्जना गर्न, द्वेष—रिसराग फैलाउन, भएको चेतना नष्ट गरी मानिसलाई मानिस बन्न होइन कुलङ्गार बनाउन ! यसैका लागि लेख लेखिन्छ भने त्यस्ता लेख मतिभ्रान्त भएका, एकोहोरो दिमाग भएका व्यक्तिले लेख्छन् र त्यस्तै व्यक्तिले मात्र पढ्छन् ।

नेपालमा शिक्षाप्रद लेख लेख्ने लेखक नभएका होइनन् । पहिलो चरणबाटै व्यवसायिक शिक्षा किन पढाइँदैन ? क, ख ग ब् द्य ऋ म् नजानेका साना साना बालबालिका विद्यार्थीलाई उसले बोक्न नसक्ने पुस्तक किन भिडाइन्छ ? के यो कमिशनको खेल होइन र ? उसले पढ्ने सामान्य ती पुस्तकहरु, त्यो पनि व्यवसायिक शिक्षा हुने खालको दिनुपर्छ कि पर्दैन ? यो सद्बुद्धि नेतामा कहिले आउँछ ?

प्लस टु सकेर विद्यार्थी पढ्नको लागि किन विदेश जान्छन् ? विदेशभन्दा गुणस्तरीय शिक्षा नेपालमा दिन किन नसकिएको भन्ने कुरामा किन ध्यान नदिइएको ? गुणस्तरीय व्यवसायिक शिक्षा पढ्ने साथै त्यो शिक्षा हासिल गरेको विद्यार्थीले काम गरिखाने बस्ने र विद्यालयको शुल्क तिर्ने वातावरण बनाउनतर्फ किन ध्यान नदिएको ? त्यस्ता विषयलाई किन महत्व नदिइएको ? ऋणपान गरेर पढ्न बाहिर नै जानुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ अब पनि ध्यान नदिने ?

राजनीतिक दलका शीर्षस्थ नेतागण देश तपाईंहरूको हातमा छ । भ्रष्टाचारको अन्त्य गर्ने देखावटी ब्यानर लेख्ता पनि मेटाउन लगाउने, आफ्नो पार्टीका नेता कार्यकर्ताले भ्रष्टाचार गरे भने कारबाही होइन कसरी हुन्छ जोगाउन लाग्ने, देशी विदेशी शक्तिहरूसँग सधैँ झुक्ने । अनि कसरी बन्दछ देश ? भन्नुस् त, अनि कसरी नेपालमा समृद्धि आउँछ !

एक समयको कुरा हो, चीनमा नून सकिएछ । जबसम्म आफ्नै देशमा नून निकालिँदैन तबसम्म नून किनेर नखाने भनेर त्यहाँका जनताले ३ महिनासम्म नून खाएनन् रे ! हामी पनि प्रण गरौं— आफू, आफ्नो मान्छेभन्दा देश र जनताको पक्षमा काम गर्न अब पनि ढिला गर्ने छुट हामीलाई छैन । यस्तै भइरह्यो भने पश्चताप गर्नु शिवायः के नै पो हुन्छ र ?

यो लेखको शीर्षक “बुहारी” किन राखेको भनी प्रश्न पनि आउला ! तर सबैलाई थाहा छ प्रायः सबैको घरमा बुहारी हुन्छिन् । बुहारी कस्ती हुनुपर्छ ? आफू जन्मेको, हुर्केको, पढेको ठाउँ, आफ्नो बाल्यकालदेखिका साथीसंगीहरू, आमा, बाबु, दाजु–भाइ, दिदी–बहिनी, इष्टमित्र र छरछिमेकीहरू सबै छाडेर एक्लै नचिने नजानेको गाउँठाउँको एक पुरुषसँग लगनगाँठो कस्न पुग्छिन् । त्यो घरका मानिस कोही चिनेका, जानेका र बुझेका हुँदैनन् । त्यस्तो घरमा बुहारी बनेर भित्रिएपछि आफ्नो पतिदेखि देवर, जेठाजु, जेठानी दिदी, सासू ससुरा र घरमा भएका सबैलाई र काकाकाकी लगायत पतिका आफन्त जति छन्, सबैलाई माया, सम्मान र आदर गर्छन् । सुरु सुरुको यो परिभाषित शैली नै हो भन्दा फरक पर्दैन ।

सबैले यो घरमा त लक्ष्मीकै आगमन भयो भनेर उनको प्रशंसा हुन्छ । सबैले आदर र माया गर्छन् । बुहारीको बोली मिठो, कहिल्यै नहाँसी नबोल्ने, कहिल्यै नरिसाउने, कसैलाई पनि नबिझाउने हुन्छन । माइतमा भन्दा घरमा हाइहाइ हुन्छिन् । सकेका काम गर्ने र सबैलाई सघाउने, जानेको काम गर्ने र नजानेको काम सिक्ने, जानेको सिकाउने, कसैले दुई वचन भन्यो भने पनि नरिसाउने, वचन लगाउने मानिस आफैं लज्जित भएर जान्छ, बुहारीको गरीमा अझ बढेर जान्छ ।

समयक्रममा कहीँकतै कसैका बुहारीहरूले नभए नगरेका कुराहरूमा आफन्तसँग, पतिसँग शंका गर्ने अनि त्यसैबाट मनमुटाव गर्न सुरु गर्छन् । नभए नगरेका कुराहरू उब्जाएर झगडा गर्ने, आफन्तहरू सबैलाई विझाउने गर्छन् । त्यो नाटक ती बुहारीका छोराछोरीले पनि सुनेका देखेका हुन्छन् । त्यस घटनाले ती कलिला बालबालिकाको दिमागमा कस्तो छाप पर्छ र परिरहेको छ भन्नेतर्फ ध्यान नै दिएका हुँदैनन् ।

सिता पनि नारी हुन्, भृकुटी पनि नारी हुन्, रक्तकाली, दन्तकाली, महाकाली, सिद्धकाली, नवदुर्गा भगवती आदि हामी सबैले नाम जपिरहने सबै शक्तिशाली नारी हुन् । नारी भनेको कसैको बुहारी नै हो । बुहारी भनेको कर्मठ महिला हो । उनी आमा बन्छिन्, सासु बन्छिन् र क्रमैसँग ज्येष्ठ नागरिक हुन्छिन् । यो प्रकृतिको नियम हो । नारी भनेको ज्ञानको खानी हो ।

कसैकसै बुहारीको आफ्नो व्यवहार, व्यापार व्यवसाय, नोकरी आदि कारणले बाबुआमा तथा सासू ससुरा बसेको ठाउँभन्दा भिन्नै बस्नुपर्ने हुन्छ । त्यसरी मान्छे टाढा बसे पनि मन नै टाढा बनाउनु कतिको जायज हो ! ‘ससुरा आउँदै हुनुहुन्छ’ भनेर खबर हुँदा आउँदा त हुन्छ तर म दुई–चार दिन कतै टाढा जाँदैछु’ भन्ने जवाफ फर्काउने बानी पनि बुहारीमा थपिन्छ । सासू ससुराले फोन गर्दा फोन रिसिभ नगर्ने विचरा, बुहारीलाई केमा पो चित्त दुखेछ ! आफ्नो घर परिवार भित्र मनमुटाव गरेर बस्नु हुँदैन । मन चित्त माझामाझ गर्नुपर्छ ।

पारिवारिक समन्वयको खोजी गर्दै आफन्तहरू बुहारीसँग पुग्छन् । कुरा शुरु हुन्छ । तर एकोहोरो आफ्नै मात्र कुरा सुनाउने, परिवारका सबैलाई विना कारण दोषमात्र लगाउने, निराकरणको कुनै पहल तर्फ ध्यान नदिने र आफन्त जति सबैलाई दोषमात्र थोपरेर आफू निर्दोष छु भन्ने देखाउने पनि हुन्छ । यो व्यवहारका बुहारी यदि कसैका घरमा छन् भने तिनले सासू ससुराको देहान्त हुँदामात्र काज किरिया गर्न आउने अधिकार राख्न सक्तिनन् । यस्तो काम कदापि नगर्नुहोला । बाँच्ता सदैव विभिन्न अपशब्द बोल्ने, भेटघाट नगर्ने, आवतजावतमा प्रतिवन्ध लगाउने, मेलमिलाप गरौं, गराउँभन्दा तर्किने हो भने मरेपछि किन किरियामात्र गर्न आउने ? यो दुनियाँमा यस्ता पनि बुहारी हुनसक्छन् । त्यस्ता बुहारी कहीँकतै छन् भने आफ्नो दिमाग, मन, मस्तिष्क, बोली वचन सुधार्न आवश्यक छ । बुहारी सुध्रिए परिवार सुध्रिन्छ, कूल सुध्रिन्छ । आफ्ना सन्तानले सही मार्ग पहिल्याउन सक्छन् भन्ने कुरा त्यस्ता बुहारीहरुले सोच्नुपर्ने हुन्छ ।

बालकमा नै कोही पनि सासू हुँदैनन् । पहिला बुहारी अनि त्यसपछि सासू हुने परम्परा छ । हामीले हाम्रो परिवारमा विवाह गरी भिœयाएकी बेहुली बुहारी हुन्छन् । हाम्रो घरबाट पराइका घरमा विवाह गरी पठाइएकी बेहुली पनि बुहारी नै हुन्छन् । अरुको घरमा हाम्रा घरका छोरी चेलीहरु बुहारी बनेर गगएका हुन्छन् भने हाम्रो घरमा अरु कूलका छोरीहरु बुहारी बनेर आउँछन् । यसअर्थमा विवाहित छोरी चेलीहरु सबै कोही न कोहीका बुहारी नै हुन् । यिनले परिवार सम्हाल्न पनि सक्छिन् र भाँड्न पनि । यसैले यिनको महत्व परिवारमा ठूलो हुन्छ ।

माथिको प्रसङ्गलाई फेरि राजनीतिक दृष्टिकोणबाट पनि हेरौंः हामीले भोट दिएर पठाएका, जनप्रतिनिधि बनाएर पठाएका देश र जनताको भलो गर्न पठाएका महानुभावहरू आफ्नो स्वार्थमा तल्लीन भएर मुखले जनता र राष्ट्रको भलो भन्ने र व्यवहारले नदेखाउने जनप्रतिनिधिहरू प्रायः यो देशमा भएकोले होला, सामाजिक सञ्जालमा नेताको हाइहाइ हुनुपर्नेमा दुहाइ भइरहेको छ । अब तपाईंहरु सच्चिनुहुन्छ भन्ने जनताले विश्वास गर्न छोडिसके । माथि बुहारीको प्रसङ्ग निकालेँ ।

तपाईंहरूलाई पनि माथि गएर मोजमस्ती गर भनेर पठाएको होइन । पुष्पलालले भारत वनारसमा बस्दा उहाँका साथीले दिएको सातुमा चिनी र पानी मिसाएर कैयौँ रात काटेका थिए । भारतीयसँग रुपैयाँ सापटी माग्दा फिर्ता नलिने शर्तमा मात्र दिने भनेपछि उनले सापटी लिन मानेनन् । आफू बिरामी पर्दा राम्रो वार्डमा जान नमानी साधारण बेडमा बसेर उपचार गराउँथे ।

कार्लमाक्र्ससँग घर खर्च गर्न र कोठा भाडामा लिने पैसा हुँदैनथ्यो । आलु र पाउरोटी खाएर कयौं दिन काटेको दृष्टान्त छ । क्युवाका मुक्तियोद्धा चे ग्वेभाराले सम्पत्तिको नाममा केही जोडेनन् । उनी खागी ड्रेस मात्र लगाउँथे र कठिन परिश्रम गर्दथे । महात्मा गान्धीको सम्पत्तिको नाममा केवल पाँच बस्तु थिए । चस्मा, चप्पल, गीता, बाक्सा र एउटा बुढो घडी । यस्ता उदाहरण थुप्रै छन् । तपाईंहरूलाई पनि बुहारीको संज्ञा दिन सकिन्छ । विवाह गरी भित्राएर बुहारी, विवाह गरी अर्काको घरमा बुहारी बन्न पठाएको छोरीचेली, उनीहरुको कर्तब्य घर परिवार चलाउने हो भने तपाईंहरूको कर्तव्य देश र समाज चलाउने हो ।

तपाईंहरू पहिलो बुहारी बन्न चाहनुहुन्छ कि दोस्रो ? हालसम्म प्रायः दोस्रो बुहारीको काम गरिरहनु भएको छ । होशियार ! हाम्रो यति लाख कार्यकर्ता छन्, हामी बलिया छौं भनेर मख्ख नपर्नु होला । ३४ वर्ष ज्योति बसुले शासन गरेको पश्चिम बंगालमा हाल उनको पार्टीको हालत के छ ? कार्यकर्ता उनै, जनता उनै । मख्ख पर्ने दिन गए । यो लेखमा बुहारी र नेता इङ्गित गरी लेख्दा कुनै व्यक्ति, कुनै नेता, कुनै बुहारीलाई इङ्गित गरी लेखेको होइन । तर कुनै नेता वा बुहारीको आचरण र व्यवहारमा मेल खायो भने आफ्नो बानी व्यवहार र आचरण सपार्नुहोला । नत्र पश्चताप भन्दा के नै पो हुन्छ र ?                                  (२०८०/०९/२९)

सम्बन्धित खबर