२०८० फागुन २०, आइतवार , ०४:४९:५० बजे

Sajhamanch
'

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

बुधवार, माघ ३, २०८०

म्याङलुङ । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित उक्त पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा भएको थिएन । सो क्षेत्रमा मंगलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो ।

तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन् । गुराँसका जंगल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउँछन् । यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजंगा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन् ।

हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल ‘बुकिङ’ गरिरहेको तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटेल व्यवसायी श्री कार्कीले बताए । उनले अहिले होटेल व्यवस्थापनमा भ्याइनभ्याइ भएको जानकारी दिए । उनका अनुसार हिउँ पर्ने याममा झापा, मोरङ, सुनसरी र भारतका बिहार, सिक्किम, पश्चिम बंगाल र दिल्लीबाट पर्यटक आउने गर्छन् । गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको जनाइएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान, आरआर गार्डेन, पाथिभरा मन्दिर, मंगलबारेबाट माथि पाथिभरा मन्दिरसम्मको फुट ट्रयाक अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन् । विशेषगरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेको वसन्तपुरका होटेल व्यवसायी प्रकाश श्रेष्ठले बताए ।

वसन्तपुरबाट ६ किलोमिटर आरआर गार्डेनको माथिल्लो द्वारसम्म पक्की र त्यहाँबाट ग्राभेल सडक रहेको छ । तीनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, रक गार्डेन, पाथिभरा मन्दिर, मंगलबारे, पाँचपोखरीलगायत पर्यटकीय क्षेत्र हुन् । लामो समयपछि पानी पर्दा किसानलाई समेत राहत मिलेको लालीगुराँस नगरपालिका –१ का किसान भरतसिंह गुरुङले बताए ।

सम्बन्धित खबर