२०८० फागुन २०, आइतवार , ०३:४२:४८ बजे

Sajhamanch
'

बलुचिस्तानमा बम विस्फोट, पाँच सैनिकसहित आठजनाको मृत्यु

आइतवार, पौष २९, २०८०

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकुसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ ।

घटना बलुचिस्तानको केच जिल्लामा शनिबार भएको हो । बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही समूहसँग लडिरहेको छ ।

आतंककारीले सुरक्षा बलको गाडीलाई लक्षित गरी विस्फोट गराएका थिए । त्यसपछि दुई पक्षबीच भीषण सशस्त्र झडप भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“झडपका क्रममा सैनिकले वीरतापूर्वक लडेको र पाँच सैनिक अधिकारीले सहादत प्राप्त गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

झडपमा तीन लडाकु पनि मारिएको बताइएको छ ।

२४ करोडभन्दा बढी जनसंख्या र सुरक्षा, आर्थिक र राजनीतिक संकटसँग जुधिरहेको पाकिस्तानमा फेब्रुअरी ८ मा आमनिर्वाचनको मिति तय गरिएको छ ।

शनिबारको आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । जातीय बलोच पृथकतावादीले वर्षौँदेखि इस्लामवादी र साम्प्रदायिक हिंसाले पनि प्रभावित यो क्षेत्रमा विद्रोह गरिरहेका छन् ।

बेइजिङबाट सहयोग प्राप्त अर्बौँ डलरको पूर्वाधार अभियान चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)का निम्ति बलुचिस्तान पनि एक प्रमुख क्षेत्र हो ।

बलोच पृथकतावादीले यसअघि पनि सीपीईसी परियोजनाहरूमा आक्रमणको दाबी गर्दै आएका थिए । हिंसाको सामना गर्न यो क्षेत्रमा हजारौँ पाकिस्तानी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सम्बन्धित खबर