२०८० फागुन १८, शुक्रवार , ०९:१७:२९ बजे

Sajhamanch
'

‘बिद्रोहको प्रतीक सुकिला मान्छेको सामुहिक मृत्यु कविता संग्रह’

मङ्गलवार, पौष ३, २०८०

सिर्जजनशीलतामा विचित्रता रहन सक्छ भन्ने कुरा कवि राजेश ढुंगानाले पुष्टि गरेका छन् । सडक कविता क्रान्तिकाल २०३६ देखि विद्रोह बोकेर कविता रचना गरिरहेका ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पार गर्दासमेत निरन्तर विद्रोहका भाव ओकलिरहेका छन् ।

भद्रपुर ८ निवासी कवि ढुंगाना कविता लेख्नकै लागि जन्मिएका व्यक्ति हुन् जस्तो भान उनका कविताहरूले दिलाउँछन् । झापाको भद्रपुरमा २०१९ मा जन्मिएका कवि ढुंगाना सिर्जनशीलतामा कोमल हृदय भएका विकृति बिरूद्ध प्रहार गर्ने शसक्त सर्जक हुन् ।

प्रजातन्त्रका लागि कठोर आवाज विद्रोह स्वरूप ओकल्ने कवि ढुंगानाको मन भने निरन्तर सिर्जनशील छ भन्ने कुरा २०७० सालमा पहिलो पटक र २०८० बैशाख ६ गते दोश्रो पटक प्रकाशित भएको सुकिला मान्छेको सामुहिक मृत्यु कविता संग्रहले प्रमाणित गर्छ । सो संग्रहका कविताले कवि ढुंगानालार्ई मानवतावादी सर्जकका रूपमा उभ्याइदिएको छ ।

उनका कविताले राष्ट्रप्रति निस्वार्थ प्रेम, जीवन जगतमा मान्छेको भूमिका, स्वतन्त्रता, विकृति विसंगतिप्रति प्रहार, आजको राजनीति माथि अविश्वास तथा आशावादी जीवन दृष्टिलाई कलात्मक रूपमा वर्णन गर्न सफल छन् । कविका अधिकांश कविताले मान्छेकै बेलिबिस्तार गरेजस्तो लागे पनि देश र शासकीय स्वरूपको चिरफारको प्रयास पनि गरेका छन् । कविताले समय अनुसारको आवाज र राजनीतिको अन्धोपना बीचको द्वन्द्व पनि प्रष्ट्याउने इच्छा राखेको पाइन्छ ।

उनका लामा छोटा गरी ५५ वटा कविताले मूल रूपमा मान्छेलाई उभ्याएका भए पनि मान्छेसित जोडिएको राजनीति, प्रेम, शासन शैलीजस्ता पक्षलाई मूल भाव बनाएका कविताहरू कुनै न कुनै रूपमा राष्ट्रवादी भावना बन्न सफल देखिन्छन् ।

सो संग्रहमा कवि ढुंगानाले लामा छोटा समेत ५५ वटा कविता संकलन गरेका छन् । विभिन्न कालखण्डमा साहित्यिक तथा समचारपत्रका साहित्य अंकमा प्रकाशित भइसकेका अधिकांश ती कविताहरूले नेपाली मन र नेपालीपनका लागि गाँसिएका अक्षरहरू जोडेर देश, समाज र मानवताको अस्तित्वबोध मूल भावना बनाउने प्रयास गरेका छन् ।

संख्यात्मक आयमभन्दा गुणात्मक आयम बलवान देखिएको कविता संग्रहले सरल शब्दभित्र प्रभावकारी बिम्व र उत्कृष्ट काव्य शिल्प प्रयोग गरेको देखिन्छ । मान्छे उन्मुक्त स्वतन्त्रता प्रेमी भएको जिकिर गर्ने कवि ढुंगानाले मान्छे भित्र लुकेका अहम र विकृति बिरूद्ध भने खरो प्रहारसमेत गरेका छन् ।

मेरा लागि कविता सेक्स हो । सेक्सलाई घृणित अर्थमा बुझ्नेहरूलाई मेरो भन्नु केही छैन भन्ने विचार पोख्ने राजेशका कवितालाई शीर्षकगत रूपमा उभिएर केही नमूना स्वरूप हेरौं–

पहिलो शीर्षकमा रहेको मान्छे कविताले खच्कँदो मानवता र बढ्दो अहमको अवस्थालाई मूल निशाना बनाउन खोजेको छ । उनका केही शब्द यस्ता छन्– मान्छेको आफ्नै आकाशछ …. आफ्नै धरती छ ।

यी दुई श्लोकले नै वर्तमान मानवताको दुर्वतामाथिको वास्तविक चित्र कोर्न सफल छन् भने समग्र कविताले मानवतावादको प्रतिनिधित्व सहजै गरेको अनुमान गर्न सकिन्छ ।

कवि ढुंगानाले जीवन र जगतलाई सम्झने क्रममा आक्रोस र विद्रोहलाई कवितामा सुन्दर भावका साथ समेटेका छन् । देश र शासक बीचमा नमिलेको तालमेल नै यस कविताको मूल विद्रोह हो भने शासक असल मान्छे नबन्दा मानव जीवन र जगत अन्धकारतिर गइरहेको कविताको ठहर हो ।

मेरो वर्तमान शीर्षक कविताको केही शब्द सापटी लिदैं हेरौं— अहिले पनि मेरो वर्तमानको बस्तीमा रात परेको छ, हरेक पल वर्तमानको ऐनामा मेरो देश विरूप र वीभत्स रूपमा छर्लङ्गै देखिनेगरी मुर्दाघाटको लावारिस लासझैं डङ्रङ्गै लडेको छ ।

कवितामा चित्रण गरेको नेपाल देश खलनायकको पञ्जामा रहँदा नेपाली नागरिक कष्ट तथा कठिन परिस्थितिमा छन् । हरेक मानिसको जीवन भन्ने वित्तिकै उर्वर र रमाइलो प्रकृतिकको उपहार हुनुपर्नेमा उर्वर जिन्दगीमा कुशासनसित जुधेर बाच्नु पर्ने बाध्यता सचेत नागरिकका लागि सहन नसकिने आवाज छोडेका छन् ।

उनका कविताले सुशासनयुक्त नेपाल होस् भनेर कल्पना गर्न खोजेको पाइन्छ । विशेषगरी नेतृत्वमा भ्रष्ट आचरण लुकेकैका कारण नेपाल देश विकास हुन नसकेकोप्रति आक्रोस पोखेका कविले नेपाली भूमिको महिमा गान भने गरेका छन् ।

देश र जनता शीर्षकको कवितामा कवि ढुंगानाले नेपालको महिमा गान गर्दै स्वर्गसित जोडेर जन्म भूमिको माया व्यक्त गरेका छन् । उनले देशको विकास गर्न नेपालीले नेपालको माया र ममता नभुली अगाडि बढ्न गर्न आग्रह गरेका छन् । यसका लागि कविले राष्ट्रवादी भाव बनाएर नागरिक स्वतन्त्र हुने र देश निर्धक्क चल्ले वातावरणको अपेक्षा पोखेका छन् ।

सो कविताले मान्छेलाई असल हुन जागरण पैदा गराएको छ । स्वार्थ र लोभमा पर्ने मानिसहरुलाई व्यङ्ग्य गर्दै मानवताका लागि देश र जनाताको सोझो सम्बन्ध चाहेका कविले कवितामा असल मान्छेको परिकल्पनामा जनताका रूपमा गरेका छन् । देश सधैं यसरी नै टोलाएर बस्नु हुन्न, उसका आकाङ्क्षाहरू मृत्युशैयाबाट पुनः एकपटक बौरनै पर्छ ।

जनता अझै पनि निरन्तर जुलुसहरूमा साटिँदै आफैंलाई जोकर बनाएर केवल नाच्न र नाचिरहन सक्दैनन् । कविताका दुई टुक्राले भिन्न भिन्न अर्थ बोकेका भए पनि पराधीनतासित लडेर स्वाधीन देश र जनता भएको नेपालको परिकल्पना यसको मूल आशय प्रष्ट देखिन्छ ।

कवि ढुंगानाको दोश्रो प्रकाशनका रूपमा आएको सो कविता संग्रहले अब्वल रचना समेटेर संग्रहित कृति बन्न सफल छ । यस कृतिका ५५ वटा कविताले देश र जनता शासकका कारण प्रताडित भएको सत्यलाई कुनै न कुनै रूपमा प्रस्तुत गरेका छन् । जहाँ निराशा चिरेर आशावादी सोच भने विद्रोहका रूपमा कवितामा भाव बनिएको सत्य बिर्सनु हुँदैन । प्रेम, जीवनको उकालीओराली, शासकका गतिहीन शासकीय शैली, जनताका विद्रोही भावना, विगत र वर्तमानसित जोडिएका पहिचानका इतिहासजस्ता विषय पनि कविता संग्रहमा कुनै न कुनै रूपमा प्रस्तुत भएका छन् ।

कविको यस कृतिमा समेटिएको आधुनिक ताजमहल शीर्षकको कविताका केही हरफहरु यस्ता छन्–

एउटा त्यस्तो बस्ती जो संसारमा आजसम्म छैन नामले—कामले नितान्त नौलो मान्छेहरू त हुनेछन् तर, हल्ला हुनेछैन जीवन मात्र हुनेछ मृत्युलाई प्रवेश दिइने छैन फूलैफूल फुल्नेछ तर, फूलले ओइलाउन पाउने छैन ।

यस कवितांशले भनेजस्तो प्रेमील बस्ती संसारमा कहीँकतै भेटिँदैन । यसको आशय जीवन र जगत प्रतिको आशावादी मानव विश्वास हो । मान्छे भएर जन्मिएपछि निराशाको भारी बोकेर बाँच्नु हुदैन । सवैले सवैसित असल मित्रता गर्ने हो भने सन्सार विध्वंशको चक्रमा पर्दैन । यसका लागि देश चाहिन्छ । समाजको सामुहिक स्वरूप देश हो । यिनै समाजमा असल मानव बस्ती भए फूलै फूलले सजिएको राष्ट्र रहने आधार खडा हुन्छ भन्ने आशावादी स्वर माथिको कवितांशले पोखेको मूल भाव हो ।

निष्कर्षमा भन्नु पर्दा, राजेश ढुंगानाका कविता मानवता केन्द्रित छन् । हरेक कविताले मान्छेको अस्तित्वदेखि जागरण र पीडासम्म समेटेर तयार भएका छन् । उनका कवितामा कुनै न कुनै रूपमा मानवता समेटिएको छ । मान्छेका खराव आचरण बिरूद्ध आक्रोस पोखिएको छ भने समय अनुकुल नरहेको प्रवृत्तिमाथि बिद्रोहसमेत बोलिएको छ । अस्तित्ववोधका लागि मान्छेमाथि धावा बोल्दै कवि ढुंगानाले मानिस, मन, देश र स्वतन्त्रतालाई अधिकांश कविताको मूल भाव बनाउन सफल छन् । ढुंगानाको दोस्रो संस्करणका रूपमा प्रकाशित सो कृति नेपाली फुटकर कविताको इतिहासमा एउटा कोशेढुंगो बन्न सफल छ ।

सम्बन्धित खबर