
पोखरा । वरिष्ठ मानव अधिकारकर्मी नेता टेकनाथ बरालको निधन भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर–७ नुवारथोक निवासी स्वतन्त्र वामपन्थी नेताका रुपमा पहिचान बनाएका वरिष्ठ मानव अधिकारकर्मी नेता बरालको मंगलबार दिउँसो १ बजे पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो।
बराल दम, मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। पछिल्लो एक हप्तादेखि अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको स्वर्गीय बरालका नातेदार तथा पत्रकार कृष्णमणी बरालले जानकारी दिए।
स्वर्गीय बराल वरिष्ठ मानव अधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेताका रुपमा परिचित छन्। कम्युनिष्ट विचारसँग प्रभावित उनी तत्कालीन पुष्पलालको पालामा नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेर संगठन निर्माणमा लागेका थिए। पछि नेपालका सबै कम्युनिष्टहरु एक हुनुपर्छ भन्दै वाम मोर्चाको वकालत गरेका बराल २०५१ सालदेखि भने पार्टी राजनीतिबाट अलग भई स्वतन्त्र वामपन्थी नेताका रुपमा चिनिए। सोही बेलादेखि उनी मानव अधिकारको क्षेत्रमा जीवनपर्यन्त लडिरहे। उनलाई ईन्सेकले मानव अधिकार वर्ष पुरुष घोषणासहित सम्मान गरेको थियो।
बरालले जन आन्दोलन २०४६ र २०६२/६३ मा कास्कीमा नेतृत्वदायी भूमिका खेलेका थिए। पछिल्लो कुनैपनि पार्टी निकट नभई निरन्तर मानव अधिकारका क्षेत्रमा आवाज उठाएकै कारण उनलाई पोखरा मात्र नभई समग्र देशले नै वरिष्ठ मानव अधिकारकर्मीको उपमा दिएका थिए। सेताम्मे कपाल फुलेर उमेरले नेटो काट्दा पनि अधिकारका लागि निरन्तर लड्ने बराललाई पोखरेलीले ‘टेकनाथ बा’ भनेर बोलाउने गर्थे।
स्वर्गीय बरालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उहाँको निवास पोखरा–७ मा राखिएको थियो। स्वर्गीय बरालको मंगलबार नै पोखरा–९ रामघाटस्थित तुलसीघाटमा अन्त्येष्टि गरिएको छ। विद्याविमल बराल स्वर्गीय बरालकी श्रीमती, एक छोरा र तीन छोरी छन्।