२०८० फागुन १८, शुक्रवार , ०८:३६:५२ बजे

Sajhamanch
'

कवि राजेन्द्र काश्यप र काव्यकोपिला कविता संग्रह

आइतवार, वैशाख ३१, २०८०

पेशा र सिर्जजनशीलता बीचमा कहिलेकाहीँ आकाश जमिनको अन्तर हुनसक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् । दशकयता नेपाल विद्युत प्राधिकरणमा प्राविधिक कार्यलाई पेशा बनाएर जीवनयापन गरिरहेका अधिकारी भद्रपुर ८ निवासी हुन् । धनकुटाको साविकको कुरूले तेनुपाको सुन्दर पहाडी भूमिमा २०२९ वैशाख १० मा जन्मिएका हुन् राजेन्द्र । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका उनी सिर्जनशीलतामा कोमल हृदय भएका सर्जक हुन् ।

विद्युत प्राविधिक जस्तो कठोर जागिरे जिम्मेवारी सम्हालिराखेका अधिकारीको मन निकै कोमल र सिर्जनशील छ भन्ने कुरा २०७९ को मध्यतिर प्रकाशनमा आएको काव्यकोपिला नामक कविता संग्रहले प्रमाणित गर्छ । अधिकारीलाई मानवतावादी सर्जकका रूपमा नेपाली फुटकर कविताको क्षेत्रमा उभ्याइ दिएको काव्यकोपिला कृति विभिन्न छन्द र रसको स्पष्ट स्वाद बोकेर आएको छ । राजेन्द्रका कविताले राष्ट्रप्रति निस्वार्थ प्रेम, उर्वर जिन्दगी, नेपाली भूगोलको महिमा, जीवन जगतमा मान्छेको भूमिकालाई कलात्मक रूपमा वर्णन गर्न सफल छन् ।

द्रोण अधिकारी गुयेली

सो संग्रहमा कवि अधिकारीले विभिन्न छन्दमा ५६ वटा कविता संकलन गरेका छन् । नेपाली मन र नेपालीपनका लागि गाँसिएका अक्षरहरूले देश, समाज र मानवताको अस्तित्वबोध मूल भावना बनाउने प्रयास गरेका छन् । पहिलो शीर्षकमा रहेको रोजगारी देऊ छिटो कविताले बिग्रँदो नेपाली राजनीतिक अवस्थालाई मूल निशाना बनाउन खोजेको छ । प्रकृतिले अनमोल स्वरूप दिएको नेपालली भूगोल छोडेर विदेश भासिनु पर्ने बाध्यता किन आयो भन्दै कविले आक्रोससमेत पोखेका छन् ।

उनका केही शब्द हेरौंः
खानी गर्भ यहाँ अनेक थरिका छन् यो बुझ्दैनौं किन ?
अर्कै देश विकास गर्न पसिना पोख्छौं युवा हो किन ?

यी दुई श्लोकले नै वर्तमान नेपालको राजनीतिक दुर्वलतामाथिको वास्तविक चित्र कोर्न सफल छन् भने समग्र कविताले राष्ट्रवादको प्रतिनिधित्व सहजै गरेको अनुमान गर्न सकिन्छ ।

कवि अधिकारीले जीवन र जगतलाई सम्झने क्रममा जन्मदाता बाबुआमादेखि कर्मदाता सासूससुरा हुँदै जीवन संगीनीसम्मलाई कवितामा समेटेका छन् । उनले जन्मँदा पालुवाका रूपमा जन्मने मानिस बैँश बढ्दै जाँदा एकाएक बुढौलीमा ढल्कँदा मात्र जीवनको महत्व बुझ्ने अवस्थासमेत कवितामा चित्रण गरेका छन् । जीवन भन्ने वित्तिकै उर्वर र रमाइलो प्रकृतिक सैन्दर्यको उपहार सम्झने कविले यो उर्वर जिन्दगीमा अलमल गर्नु नहुने विश्वास राखेका छन् ।

कवि अधिकारीमा कतै न कतै अध्यात्मको प्रभावसमेत रहेका कारण जीव र जगतको वास्तविकता झल्काउन उनका कविता सफल छन् । उनका कविताले सुशासनयुक्त नेपाल होस् भनेर कल्पना गर्न खोजेको पाइन्छ । विशेषगरी नेतृत्वमा भ्रष्ट आचरण लुकेकै कारण नेपाल देश विकास हुन नसकेकोप्रति आक्रोस पोखेका कविले नेपाली भूमिको सुन्दरताको महिमा रमाइलो तरिकाले पोखेका छन् । १७ औं नम्वरको

कविताको एक अंश हेरौं—
छोटो सोच गरेर हुन्न अब लौ मागेर के हुन्छ र ?
पूर्वाधार खडा गरौं अघि बढौं नेपाल होस सुन्दर ।

यो राष्ट्रिय भाव बोकेर आएको कविताको श्लोक हो । यस कविताले नेपालको महिमा गान गर्दै स्वर्गसित जोडेर जन्मभूमिको माया व्यक्त गरेको छ । देशको विकास गर्न संसारको जुनसुकै कुनामा पुगेर माग्ने होइन नेपालीले नेपालको मायाँ र ममता नभुली पूर्वाधार खडा गर्न आग्रह गरेका कविले राष्ट्रवादी भाव पोखेका छन् । यस श्लोकले मान्छेलाई असल हुन जागरण पैदा गराएको छ । स्वार्थ र लोभमा पर्ने मानिसहरुलाई व्यङ्ग्य गर्दै मानवताका लागि असल काम गर्न अध्यात्मको भावनात्मक विचारलाई मिसाएर जागरुकता जोडिको छ । जे गर्नु छ राम्रो गरौं अहिले नै गरौं भोलिलाई नपर्खौं भन्ने सन्देश बोकेको कवितामा असल मान्छेको परिकल्पनामा आएको महसुस पाठकले गर्नेछन् ।

अधिकारीको पहिलो प्रयासका रूपमा आएको यस कविता संग्रहले शास्त्रीयतावादी छन्दको नियममा रहेर मानवतावादी भावनालाई प्रकृतिसित जोडेर छन्दको माध्यम सवल रूपमा उपयोग गरेको छ । अब्वल रचना समेटेर संग्रहित काव्य कोपिला नेपाली भूमिको महिमा गानका लागि असल कृति बन्न सफल छ । यस कृतिका ५६ वटा कविताले देश र जनता शासकका कारण प्रताडित भएको सत्यलाई कुनै न कुनै रूपमा प्रस्तुत गरेका छन् । जहाँ निराशा चिरेर आशावादी सोच भने विद्रोहका रूपमा कवितामा भाव बनिएको सत्य विर्सनु हुँदैन ।

कवि अधिकारीको ५०औं नम्वरमा शार्दूलविक्रीणित छन्दमा रहेको निश्पक्ष छन् निर्णय शीर्षकको कविता भित्रको एक अंश यस्तो छः
दोषी भाग्य भनेर उम्किन कहाँ खाज्छौ अझै मानव,
राम्रा कर्म गरे सधैं सहजता सौभाग्य छन् संभव ।

यस कवितांशले भनेजस्तो आज पनि राज्यसित विद्रोह गर्न नसक्नेहरू परदेश पलायन भएर आफ्नै भाग्यलाई दोष लगाइरहेका छन् । तर, कविले कविताको माध्यमबाट सचेत मानिसहरू विद्रोहका विभिन्न रूपहरू मध्ये राम्रा कर्म अर्थात पौरख गरेर आफ्नै देशको उन्नतिमा लाग्नुपर्ने तर्कलाई भाव बनाएका छन् । वास्तवमा नेपालको उन्नतिमा राजनीतिक नेतृत्व बाधक रहँदा युवा पुस्ता विदेश पलायनको लहर चलेकोमा भने कविले यस कविता संग्रहमा निकै चिन्ता र आक्रोश पनि पोखेका छन् ।

सम्बन्धित खबर