२०८० फागुन १८, शुक्रवार , १०:०८:५३ बजे

Sajhamanch
'

समयको महत्व बुझौं र बुझाऔँ

सोमवार, चैत २७, २०७९

हामी आम नेपालीहरुको बानी नै हो कि कुनै पनि काम समय मै सम्पन्न नगर्ने । समय हुँदैै कुनै पनि काम सम्पादन गर्दैनौ अनि पछि पछुताउँछौं । हामी समयको महत्व नै नबुझी हाम्रा दैनिक कामहरु गर्न अगाडि बढिरहेका हुन्छौ । नबुझेर या थाहा नभएर भने होइन । कुनै काम गर्दा समयलाई मध्यनजर गर्दै गर्नुपर्छ । तर हामी त्यसको वास्तै नगरी अगाडि लम्कन्छौ । किनकि हामीलाई जुनसुकै काममा पनि हतार हुन्छ । त्यसको परिणामस्वरुप सोही काम दोहोर्याएर गर्नुपर्ने हुन्छ ।

नेपालीमा एउटा कथा नै छ नि, छेपारो दिनभर घाम तापेर सुत्छ अनि जब साँझ पर्छ, त्यसपछि हतार हतार आफ्नो बस्ने व्यवस्था मिलाउँदै सोच्न थाल्छ, भोलि चाहिँ समय हुुुँदै बस्ने घर बनाउँछु । तर भोलिपल्ट फेरि उस्तै नियति, त्यसैले सयमसँग चल्न सकेन भने दुःख पाइन्छ । हामी हाम्रै कारणले गर्दा हरेक क्षेत्रमा पछि परिरहेका छौ । कुन समयमा के गर्ने, कति गर्ने, कसरी गर्ने जस्ता कुराहरुमा जानकार नभएर र आफूले आफैंलाई म को हुँ, के गर्दैछु भन्ने कुराको हेक्का नभएर अनि समयको गतिलाई पछ्याउन नसक्दा धोका पाउँने गर्छौं । आफू गर्न नसक्ने अनिअरुले गरेको डाहा गर्ने हाम्रो बानी बसिसकेको छ ।

                        सुष्मा लुईंटेल

विदेशमा त यो हुन्छ, त्यो हुन्छ, यसरी छिटोछिटो काम गर्छन, कति विकसित छ विदेश । तर नेपाल हेर्यो काम नै केही छैन, समयमा केही काम हुँदैन, एउटै कामको लागि तीन चार पटक धाउँन पर्छ । कहिले विदेशको जस्तो विकास हुनु ! यस्ता कुराहरु हामीले नियमितजस्तै सुन्दै आइरहेका छौँ । तर हामी सुन्छौं मात्र कार्यान्वयन भने गर्दैनौं ।

परिर्वतन गर्नलाई आफैंबाट सुरु गर्नपर्छ, गर्छु भन्छौं तर गर्दैनौ, आज नभए भोलि त छ नि भोलि गरौँला, हामीलाई भरे र भोलिवादले छोडेकै छैन । विदेशमा एक सेकेण्डको पनि कति महत्व हुन्छ । हरेक कुरा समयसँगै हुन्छ । त्यहाँका मानिसहरु आफ्नो कामसँग मतलब राख्छन् । कसैलाई अरुको बारेमा कुरा गर्ने समय नै हुन्न । तर हामी नेपाली कहिले भेट हुन्छ र अरुको कुरा गर्रौ, कसले के गर्दैछ, के लगायो, को कहाँ गयो, आदि इत्यादि प्रश्न आउँछन् । हरेक प्रश्नको जवाफ दिँदै हाम्रो समय खेर जान्छ ।

हो, यही कारणहरु हुन्, जसले गर्दा नेपालीहरुको उन्नति प्रगति हुन सकेको छैन । र, सिङ्गो देशले विकासको फड्को मार्न सकेको छैन । विकसित हुनलाई यहाँका मानिसको सोचमा परिर्वतन आउन आवश्यक छ । भोलि होइन, केही गर्छु त आजैबाट सुरुवात गर्छु । एक सेकेण्ड समय पनि खेर जान दिन्न । कसले के भन्छ, के सोच्छ होइन । म आफूसँग सरोकार राख्दछु । आफ्नो मनोबल उच्च राख्दै, सकारात्मक सोचका साथ अगाडि बढ्छु ।

यही विचारसँगै हामी आफ्नो गन्तव्यमा लाग्ने हो भने हामीले कल्पना गरे जस्तो विकसित देश अनि यहाँका सुखी जनता देख्न कुनै आइतबार नै पर्खनु पर्दैन । यसका लागि पहिले आफू रचनात्मक बनौं र अरुलाई पनि यही मार्गमा डोर्याउन सकियो भनेमात्र देश बन्छ । समय के हो भन्ने बारे स्वयम् सचेत भइयो भने अरुलाई पनि जागरण गर्न सकिन्छ, नत्र फेरि पनि उही लोकोक्ति छेपाराको कथा हामीमा पनि दोहोरिइरहन्छ । अस्तु ।

सम्बन्धित खबर