महावाणिज्यदूतलाई दर्जनौं समस्या सहितको ज्ञापनपत्र

July 26, 2022 10:58 am

मेचीनगर । कोलकताका महावाणिज्यदूत ईश्वरराज पौडेलले मेचीनगर–४ स्थित बाहुनडाँगीको दुईदिने अवलोकन भ्रमण गरेका छन् । पश्चिम बंगालको कोलकताका महावाणिज्यदूत पौडेलले शनिबार र आइतबार भारतसँग सीमा जोडिएको बाहुनडाँगीको अवलोकन गरेका हुन् ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले महावाणिज्यदूत पौडेललाई भारतबाट आउने जंगली हात्तीले दुःख दिइरहेको विषय, लागुऔषध कारोबारी नियन्त्रणका लागि दुईपक्षीय चासो, नेपालमा उत्पादन भएका कषिजन्य वस्तुको बजारीकरण आदि विषयमा भारत सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा भारतसँग सीमा जोडिएको बाहुनडाँगीमा लागुऔषधको ओसारपसार र कारोबार, चेलीबेटी बेचबिखन, खोला उत्खनन्, यस क्षेत्रबाट हुने असामाजिक अमानवीय र गैर कानूनी कारोबारलाई भारतीय प्रशासनले इमानदारपूर्वक निगरानी र कडा कारबाही गर्नसके नियन्त्रण तथा न्यूनीकरण गर्न सकिने उल्लेख छ ।

योसँगै ज्ञापनपत्रमा साविक बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको समस्याका कारण धनजन र हात्ती स्वयमलाई पुग्ने क्षतिको न्यूनीकरण गर्न भारतीय उच्च अधिकारीहरुसँग छलफल गरी समाधानको उपाय खोज्न पहल गरिदिन, कोरोनाका कारण स्थगित भएको सीमा बैठक सुचारु गर्न आग्रह गरिएको छ ।

त्यस्तै यो क्षेत्र चिया, सुपारी, तेजपत्ता, मरिच, गाईपालनमा स्थापित भए पनि यसको बजार मुख्यरुपमा भारत नै भएकोले उचित मूल्यमा ती वस्तुहरु बिक्री वितरणको पहल गरिदिन महावाणिज्यदूत पौडेलसँग स्थानीयबासीले माग गरे ।

बाहुनडाँगीको सीमानाका मेची खोलाको पारीपटि ताराबारीसम्म स्थानीयलाई सहज अवतजावत गर्न झोलुङ्गे पूल निर्माणका लागि पहल गर्न महावाणिज्यदूत पौडेलसँग माग गरिएको वडाध्यक्ष कार्कीले बताए ।

          July 26, 2022 10:58 am | मुख्य समाचार,लोकप्रिय,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित