फाल्न भन्दा पाल्न मज्जा राजनीतिको लुतो


ओहो ! १ आज त लुतो फाल्ने दिन पो रैछ । लुतो नै छैन के फाल्ने ?

आफ्नो ज्यानमा पो छैन होला, अन्त त कति छन् कति लुतो ।

अर्काको ज्यानको लुतोको के चासो । आफ्नै लुतो भए फाल्न हुन्थ्यो ।

राम्रोसँग हेर्नुपर्यो नि । ज्यानमा नभए पनि आफ्नै वरपर लुतो लागेका कति छन् कति !

वरपर त के के होलान्, होलान् । देखिए पो फाल्ने । लुतोजस्तै लाग्ने एउटा कोरोना हो । गयो क्यारे भनेको, कोरोना जानै मान्दो रहेनछ । सुई हानेर पनि जान नमान्ने कोरोनालाई फाल्न हुन्थ्यो, देखिँदैन । हैजा आयो भन्छन्, हैजा लगाउने किटाणु पनि आँखाले देखिँदैन । अब अहिले देखिने भनेको झिँगा र लामखुट्टे हो । तिनलाई पनि फालेर साध्य नलाग्ने रहेछ । के गर्नु ?

रोग, कीरा, झिँगा, लामखुट्टे मात्रै हो र । आफूलाई अल्झो लाग्ने सबै कुरा लुतो हुन् । मेरो लागि घरमा थन्क्याएर राखेको मोटरसाइकल लुतो भैसक्यो । चलाउँ भने पेट्रोल हालेर नसकिने भयो, यसै राखौँ खिया लागेर सकिने भयो ।

मोटरसाइकल, गाडी मात्रै कहाँ हो र, भान्सामा भात तरकारी पकाउने भाँडाकुँडा पनि लुतो भैसक्यो । मोटरसाइकलमा हाल्ने तेल भन्दा कराईमा हाल्ने तेल छोइ नसक्नु छ । बल्लतल्ल किनेको तेल तुरुक्क भाँडामा चुहाउँदा आफ्नो निधारबाट पसिना निस्कन्छ । तेल हाल्नै डर लाग्ने, भात तरकारी राख्नै नसकिने ती भाँडाकुँडा ठ्याक्कै लुतो जस्तो । न फाल्न सकिने, न पाल्न ।

फालेर पनि नसकिने, पालेर पनि नसकिने लुतो कति छन् कति । भनेर के साध्ये ।

एउटा त त्यही महँगीको लुतो भैहाल्यो । थाल हेरे पनि महँगी, भात हेरे पनि महँगी । उठे पनि महँगी, बसे पनि महँगी । हिँडे पनि महँगी, गुडे पनि महँगी, उडे पनि महँगी । खाए पनि महँगी, नखाए पनि महँगी । लगाए पनि महँगी, नलगाए पनि महँगी । चुप लागे पनि महँगी, कराए पनि महँगी । यता फर्के पनि महँगी, उता फर्के पनि महँगी ।

महँगी लुतो नै भएर त होला नि, नेताहरुलाई जतिखेर पनि चलाइराख्न मन लागेको । हातखुट्टामा लुतो आउँदा चलाउन र कन्याउन मात्रै मन लाग्छ । बजारमा महँगी हुँदा पनि नेताहरुलाई चलाउन मात्रै मन लाग्दो रहेछ । विपक्षमा हुँदा त विरोध गर्ने भैहाले । सत्तामा हुनेले पनि एउटाले महँगीको विरोध गर्छ, अर्कोले समर्थन गर्छ । महँगीको बारेमा विरोध र समर्थन गरेर यसलाई चलाउनमै नेताहरु आनन्द मान्छन् । एउटाले महँगी फाल्नुपर्छ भन्छ, अर्कोले पाल्नुपर्छ भन्छ । अनि फाल्नुपर्छ भन्ने सत्तामा पुगेपछि पाल्नुपर्छ भन्नेलाई महँगीको लुतो सार्छ । अनि पालैपालो कन्याइरहन्छन् । उनीहरु लुतो कन्याएर बस्ने, हामीलाई चिलाएर पोलेर बस्नै नसकिने ।

यस्ता लुतो त कतिकति । कसैलाई कहीँ गए पनि नछाड्ने । सडकमा पनि लुतो, सदनमा पनि लुतो, सरकारमा पनि लुतो । एक ठाउँमा देखिएपछि सबैतिर सर्ने र फैलने लुतो ।

हो नि अस्तिताकासम्म अर्थमन्त्रालयमा लुतो सल्क्यो भन्थे । मन्त्री लुतो कन्याउँदै निस्के । मन्त्री र मन्त्रालयको लुतो बिसेक नहुँदै राष्ट्र बैंकमा लुतो छिर्यो भन्छन् । एकथरी राष्ट्र बैंकमा लुतो छिर्यो भनेर मन्त्रीको लुतो कन्याउँदै आनन्द लिइरहेका छन् । अर्काथरी राष्ट्र बैंकमा लुतो छिरेको सबैले थाहा पाए भनेर आफ्नै जिउको लुतो कन्याउँदैछन् । न मन्त्रालयको लुतो कस्तो खालको हो भन्ने थाहा भयो, न राष्ट्र बैंकको ।

मन्त्रालय र राष्ट्र बैंकको मात्रै के कुरा । गठबन्धनभित्रै लुतो छ, पार्टीभित्रै लुतो छ । अलि पहिले ओलीका लागि प्रचण्ड र नेपाल लुतो थिए भने प्रचण्ड र नेपाल ओली नामक लुतो कन्याउँदा कन्याउँदै थला पर्न लागेका थिए । अहिले लुतोको लुते समीकरण फेरिएको छ । देउवाका लागि प्रचण्ड, नेपाल, खनाल बेलाबेला चिलाउने लुतो हुन् भने प्रचण्ड, नेपाल र खनालका लागि चाहिँ देउवा सधैभरि कन्याइ राख्नुपर्ने लुतो हुन् । कांग्रेसमा देउवाका लागि शेखर लुतो, शेखरका लागि देउवा लुतो । एमालेमा ओलीका लागि भीम रावल र घनश्याम भुसाल लुतो । उपेन्द्रको लागि बाबुराम लुतो, बाबुरामका लागि उपेन्द्र लुतो ।

कति लुतो कति लुतो । उनीहरु बेलाबेला लुतो फाल्छन् पनि तर कति लुतो फालेकै घरभित्र पस्छन्, कति अर्कोतिर सर्छन् ।

गाउँघरमा साउनमा लुतो फालेको भन्दै आँगनको डिलबाट अगुल्टो फालेजस्तै त हो राजनीतिको लुतो पनि । वल्लोघरे, पल्लोघरे, तल्लोघरे, माथ्लोघरे, वल्लो गाउँ, पल्लो गाउँ भन्दै लुतो फाल्दा त्यो लुतो एउटा घरबाट अर्को घरमा र एउटा गाउँबाट अर्को गाउँमा सरे झै बालुवाटारको लुतोले कहिले खुमलटारलाई खुजली पैदा गर्छ भने कहिले बालकोटलाई । गाउँमा लुतो फालेको भन्दै अर्को घरलाई सारेजस्तै यता पार्टीहरुमा पनि उसैगरी लुतो सार्ने हुन् । पार्टीभित्र एउटाले अर्कोलाई लुतोजस्तो देख्छ, अनि जबरजस्ती फाल्छ । उसले फालेको त्यही लुतो फेरि अर्कोले टिप्छ र कन्याउँदै आनन्द लिन्छ ।

त्यही भएर होला, ज्यानमा भन्दा अन्त बढी लुतो सल्केको ।

यस्ता लुतोको नि के कुरा गर्नु । जीउ नै सकसक भैसक्यो ।

त्यसो भए फालौँ न लुतो ।

के मात्रै फाल्ने, फाल्न थाल्ने हो भने अर्को साउनसम्म पनि फालेर सकिँदैन । बरु पाल्ने । फाल्न भन्दा पाल्नै सजिलो । चिलायो भन्न पनि पाइने, कन्याएर आनन्द लिन पनि मिल्ने ।

उज्यालो अनलाइनबाट

          July 17, 2022 10:00 am | मिडियाबाट साभार,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित