संखुवासभाको बरुण कलेज सूर्योदय क्विज सिजन–६ को विजेता

June 11, 2022 9:37 am

बिर्तामोड । संखुवासभाको खाँदबारीमा रहेको वरुण मल्टिपल कलेज प्रदेश स्तरीय सूर्योदय क्विज सिजन–६ को विजेता बनेको छ । जनता मल्टिपल कलेज इटहरीलाई पछि पार्दै वरुण मल्टिपल कलेज खाँदबारी क्विज च्याम्पियन बनेको हो ।

सिजनको फाइनल राउन्ड निकै रोचक भएको थियो । फाइनलमा वरुण र जनता मल्टिपल कलेजबिच ट्राइबे्रकर पछि वरुण मल्टिपल कलेजले उपाधि हात पारेको हो ।

सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा सम्पन्न फाइनल कार्यक्रमको प्रमुख आतिथ्यता बिर्तामोड नगरपालिकाका नगरप्रमुख पबित्रा महतारा प्रसाईँको रहेको थियो ।

प्रतियोगितामा जनता मल्टिपल कलेज इटहरी दोश्रो, दमकको मोडल क्याम्पस तेश्रो भएका छन् । कनकाई मल्टिपल कलेज सुरुङ्गा र इटहरीको कोशी सेन्टजेम्स पनि फाइनल राउण्डमा प्रतिष्पर्धी थिए ।

फाइनल राउन्ड सूर्योदय टेलिभिजनबाट जेठ २७ गते शुक्रबार राति ८ः३० बजे प्रसारण भएको थियो । लिग राउण्ड, सेमिफाइनल राउण्ड हँुदै प्रदेश १ भरका १०० भन्दा बढी विद्यालय तथा कलेजमध्ये ५ उत्कृष्टले फाइनलसम्मको यात्रा तय गरेका थिए ।

पहिलो, दोस्रो र तेश्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, प्रबन्ध निर्देशक बिष्णु मैनाली उप्रेती, मेनेजर आशिष उप्रेतीले संयुक्त रुपमा पुरुस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा सूर्योदय टेलिभिजनका प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेती र प्रस्तोता प्रेमसागर घिमिरे रहेका थिए । यो प्रतियोगितामा भाग लिने कोही पनि विद्यार्थीलाई घाटा नहुने टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले बताए ।

फाइनल कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पबित्रा महतारा प्रसाईंले स्थानीय क्षेत्रका विभिन्न खालका विषयवस्तुलाई उठान गर्दै आएको टेलिभिजनलाई धन्यवाद दिँदै विद्यार्थीहरुका यस्ता प्रतिस्पर्धाले विद्यार्थीको अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

फाइनल कार्यक्रममा द भोइस अफ किड्समा उपविजेता बनेकी अनुजा कडरिया र गायक रमेशजंग कडरियाको प्रस्तुतिले बेग्लै रौनक थपेको थियो ।

सूर्योदय टेलिभिजनका कर्पाेरेट डिरेक्टर यम बिमलीले सञ्चालन गरेको कार्यक्रममा सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, हिमाल सागर रिसोर्ट तथा पार्टी प्यालेसका सञ्चालक देवीप्रसाद संग्रौला, इन्टरनेट सेवा प्रदायक संस्था ब्रोडलिङ्कका बजार व्यवस्थापक सन्तोष कार्की, डोएन टिभीका प्रबन्ध निर्देशक कृष्णप्रसाद खरेललगायतको सहभागिता थियो ।

          June 11, 2022 9:37 am | प्रदेश तह,राष्ट्रिय समाचार,शिक्षा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: