हाम्रो प्रचन्नलाई अब ‘रेणुको बाउ’ भन्न थालेछन् !


दिमाख चक्राएर आम्च । मनभित्र खुलदुलीको भेल उर्लिन्च । राजनीतिमा लागियो, सफल पनि भइयो । यत्रो बडेमाको गणतन्त्र पनि हाम्ले नै ल्यायौं । हाम्रो पार्टी हेर्दै रहर लाग्दो, सप्रेको, हलक्क बढेको मुलाजस्तो भा’थ्यो ।तर, दुःखको कुरो सुमसुम्याउँदा सुमसुम्याउँदै जिङग्रिएर आयो । हेर्दाहेर्दै हाम्रो त्यत्रो बढेमाको माओवादी पार्टी त खिनौटे, दुब्लो, कुपोषणले ग्रसित हुँदै खुम्चिएर इत्रु स्यानो पो’ भयो । चुनाउका मुखमा आफ्नो पार्टीको हाड र छाला मात्र रहेको देख्दा नराम्रोसँग चित्त फाटेर आम्च ।

होइन जन्ता पनि के भाका हुनन् ! हाम्रो नेताको त विश्वासै गर्दैनन् । एमालेका ओलीको भासन सुन्न सप्पै वैरिन्छन् । हाम्रो नेता बोलेको सुनाम्न मान्छे सिला खोज्नुपर्छ । हामीलाई समयले पछार्यो । जन्ताले पत्याउन छाडेपछि कस्को के लाग्छ ! उनारुलाई चुनाउ लागिसक्यो । नारा र जुलुस गरेर हिडेका छन् । हामी भने चिलले भुत्ल्याएको कुखुराको चल्लो जस्तो भएर झोक्राएर बसेका छौ ।

हाम्रो गौरवशाली पार्टीका सदावहार अध्यक्ष, विश्व सर्वहारा वर्गका एकमात्र क्रान्तिकारी नेता, जातीयतालाई फुकाउने, वर्गलाई सुकाउने र उच्च छलाङ मार्दै ‘आइस् व्रेक’ गर्न सक्ने प्रचन्नपथका प्रवर्धक काम्रेड प्रचन्नलाई अहिले हेप्न थालेका छन् । फेरि पार्टी स्यानो हुनुमा हाम्रो प्रचन्नको अभिव्यक्ति पनि एउटा कडी हो । कहिले के बोलेको छ, कहिले के बोलेको छ । बोलीको ठेगान भा’पो जनताले विश्वास गर्छन् ।

एमसिसी कै विषयले पार्टीलाई नरामरी घाटा पुगायो । आखेरी पास गर्नै रछ, आफैंले ‘एमसिसी राष्ट्रका लागि घातक हो’ भनेर किन खोक्नु ! झन् त्यो पारदर्शी लगौटीले चौपट पार्यो । कसैले पत्याएको भए त मरी जाउँ । त्यही एमसिसीमा ढाँटेको कारणले यतातिर चुनाउ जितेर राम्रै ठाउँमा पुगेकाहर्ले पनि हाम्रो पार्टी छोडेर एमालेतिर टाँसिन पुगे । हामीलाई छाड्दै जादै गर्दैछन् । नजाउन् पनि किन ! हामी नै झिटीमिटी बोकेर कांग्रेसको रुखमा ‘लाई’ लागेजस्तो टासिन पुगेका छौ । खै एकखाले कांग्रेसहरू हाम्रै विरोध गर्दैछन् ।

यस्तो जटिल परिस्थितिमा हाम्रो महान गौरवशाली पार्टी, माओवादी केन्द्रका एकमात्र अध्यक्ष काम्रेड प्रचन्न भने राष्ट्र, जनता, पार्टी र कार्जेकर्ताको नेताबाट बेस्कन विरक्तिएर ‘रेणुको बाउ’मा सिमित हुन पुगेका छन् । लत्तो छोडेपछि कसको के लाग्छ ! त्यस्तो तामझाम थियो । केहीका लागि ‘महान नेता’ र केहीका लागि ‘आतंक’को रुपमा जगजगी गर्नु भकै हो । त्यस्ता हाम्रा महान र प्रचन्नको नामले विख्यात बनेका व्यक्ति अहिले आएर ‘रेणुको बाउ’ मात्र भए भन्दैछन् ।

स्थानीय चुनाउ आइसक्यो । एक महिना मात्र बाँकी छ । चितवने कांग्रेस ‘रेणु र रेणुका बाउलाई जिताउने ठेक्का हामीले लेको छैन्’ भन्दै जड्याहा बाहुन जस्तो परक्क बटारिएका छन् । अझ अघि बढेर यसपालि बाउ छोरीलाई नै डाडा कटाउँछौ भनेर कोकोहोलो गरेका छन् । किनारा लगाए भने रेनुको बाउको पनि राजनीति यात्र समाप्त हुन्छ ।

नमस्कार है विध्वंसे काका ! चुनाउ आइसक्यो तिमी भने घरमै झोक्राएर बसी राछौ । उहाँ रेणुको बाउ चितवनतिर दौडीदत्त बनेका छन् । एमालेका नेता र कार्जेकर्ता चुनाउ प्रचारमा खटेका खटेइछन् । नेपाली कांग्रेस पनि लागेकै छ । माओवादीका मान्छे भने चुनाउ प्रचारमा हिडेको देखिदैन ।

हेर भिरघरे भतिज ! कांग्रेस र एमालेको सय चोट, हाम्रो माओवादीको एकै चोट । जनताले हामीलाई नै रोज्ने हुन् । तिमर्को कांग्रेस र सण्डेको एमालेलाई अब पत्याउँदैनन् । हाम्रो माओवादी भनेसी उल्कै मन पराउँछन् । केही दिन अघि रेणुको बाउले चितवनका मान्छे गुटुङटुङ प्रवेश गराए, अन्ततिरका नि माओवादीमै आम्ने भनेर खुरुन्धार गरि’राछन् रे ।
ए ‘झुम्री चिया बानान हौउ’ !

आम्ने भन्दैछन् कि माआवादी पार्टी छोडेर एमालेतिर जाने भन्दैछन् काका ! माओवादीबाट जितेका हाम्रै छिमेकी गाउँपालिका जन्जिरेको गाविस अध्यक्ष, उपाध्यक्ष र चारजना वडा अध्यक्ष पनि अस्ति बिहीबारकै दिन एमाले प्रवेश गरे अरे । उता तल बाँके र वर्दियाका पनि टाप ठोकेछन् ।

हेर सण्डे ! तँ एमालेको भक्त होस् । सप्पै एमालेमा प्रवेश गरेको देख्छस् । यो भिरघरे कांग्रेसको नेता हुँ भन्छ । यदि गठबन्धन भएन भने कांग्रेस सकिन्छ भन्ने कुरो बुझ्दैन । फेरि भएन प्रधानमन्त्री देउवा पनि उस्तै बोल्ने । ‘एमाले पहिलाको भन्दा झन् शक्तिशाली भयो’ भनेर नेपाली कांग्रेसको सभापतिजस्तो मान्छेले भन्नै नहुने । रेणुका बाउले चुनाउ पछि माओवादी पहिलो, माधवको पार्टी दोस्रो र कांग्रेस तेस्रो हुने भनेर घोषणा गरी सकेपछि त्यही लाइनमा नबोलेर अर्को लाइनमा किन बोल्नु ?

लु चिया खाँदै गफ गर । अब चुनाउ लाग्यो । अनि भिरघरे, पानदलेबाट यो गाउँपालिका अध्यक्ष को उठ्ने निर्णय भयो ? हुन त जो उठे पनि हाम्रो एमालेले जितिहाल्छ ।

यो झुम्री पनि कन्सिरी तात्ने कुरो गर्छे । गठबन्धनबाट म उठ्छु । चुनाउ पनि सजिलै जित्छु । गठबन्धन भित्र नेता खोज्दा यो गाउँपालिका भरिमा म मात्र र’छु ।

तिमी उठेर के गर्छौ बुढा ! भोट कसैले दिँदैन । एमालेपछि अलि भोट भको भनेको कांग्रेसको हो । त्यो पनि छासमिसेलाई नदिने भनेर गाउँलेहर्ले निर्णय गरे अरे । यो गाउँका बाँकी रहेका माओवादी एमालेतिर छिरीहाले । अब बाँकी तिमी हौ । कि कसो भिरघरे ?

काकीको कुरो ठिकठिकै हो । तर, हाम्रो कांग्रेसलाई कमजोर छ भनेर नठाने हुन्छ । यहाँ मात्र होइन देशैभरि कांग्रेस पहिलो एमाले दोस्रो हुन्छ । छ वटा महानगरपालिका मध्ये काठमाडौं, ललितपुर, विराटनगर र वीरगंज हाम्रो कांग्रेसले जित्छ । सबैलाई थाहा भकै कुरा हो, पोखरा र भरतपुर एमालेले जित्छ ।

के कुरा गर्छ यो भिरघरे ? भरतपुरमा हाम्रो माओवादीकी रेणुले जित्छिन । यदि कांग्रेसले सहयोग गरेन भने एक्लै उठेर पनि जित्ने योजना बनिसकेको छ । चितवने कांग्रेसीको निर्णयले हुँदैन । नत्र रेणुको बाउले सरकार ढाल्दिन्छन् । हाम्रो रेणुको बाउले सम्पूर्ण शक्ति भरतपुरको मेयरमा खन्याएका छन् । त्यो मेयर पनि नपाउने हो भने कांग्रेसलाई बोकेर हिड्नुको के फाइदा !

काका अब कांग्रेसलाई तिमारू चाहिँदैन । स्थानीय निकायको चुनाउ सकिनासाथ हाम्रो देउवा दाइले प्रतिनिधिसभाको चुनाउ घोषणा गर्छन् । रेणुको बाउ हेरेको हेरै । लौ काका म त भोट माग्न हिंडे ।  जै नेपाल !

          April 10, 2022 7:55 pm | मिडियाबाट साभार,विचार/ब्लग,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: