२०८० फागुन १८, शुक्रवार , ०५:३८:३६ बजे

Sajhamanch
'

९० दिनको तयारीमा पनि चुनाव गर्न सक्छौं : प्रमुख निर्वाचन आयुक्त

आइतवार, माघ १६, २०७८

काठमाडौं,  जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय सकारात्मक भएको निर्वाचन आयोगले जनाएको छ।

आज बसेको पाँच दलीय गठबन्धनको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि त्यसलाई आयोगले सकारात्मक रुपमा लिएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गठबन्धनको निर्णय सकारात्मक भएको बताए। जेठभित्र चुनाव गर्ने सहमति भएको भन्ने कुरा सुनिएको छ। तर, यस विषयमा सरकारको निर्णय आइसकेको छैन,’ उनले भने, यो आयोगका लागि सकारात्मक कुरा हो।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका लागि यसअघि आयोगले आफ्नो धारणा प्रस्ट राखिसकेको बताए। यद्यपि, निर्वाचनका लागि आयोग ९० दिनको तयारीमा पनि चुनाव गराउन तयार रहेको बताए।

‘हामीले त १०० दिनमा नै निर्वाचन गर्न सक्छौं भनेर सरकारलाई भनिसकेका छौं। सय दिनमा नै भ्याउँछौं। तर, राष्ट्रका लागि पर्छ भने ९० दिनको तयारीमा पनि चुनाव गराउन सक्छौं भन्ने हो,’ उनले भने, ‘अब हामी सरकारलाई सबै विषयवस्तु हेरेर मिति सिफारिस गर्छौं।’

उनले आयोगले यसअघि नै मिति सिफारिस गरिसकेकाले पछिल्लो कुनै निर्णय भने नगरेको बताए। ‘आयोगको यसभन्दा अगाडिको सुझाव र प्रस्ताव यथावात् छ।

अब निर्वाचन नै समयमा नहुने हो कि भन्ने किसिमका जुन बहस छलफल भएका थिए त्यसको अन्त्य भएको छ,’ उनले भने, अब स्थानीय तहको निर्वाचन समयमै हुने एउटा निष्कर्षमा पुगेको स्थिति छ।

५ गते जनप्रतिनिधिहरुको अवधि समाप्त हुने भएको हुनाले त्यसकै सेरोफेरोमा निर्वाचन गर्ने कुरालाई आयोगले सकारात्मक रुपमा लिन्छ।’