तपाईंको भान्सामा कस्तो तरकारी पाक्दैछ ?


मानिसहरुमा अहिले स्वास्थ चेतना बढ्दै जान गालेको छ । कोदाको पीठो, मकैको चामल, फापरको पीठो, चना वा जौको सातुजस्ता बस्तुको बिक्री पनि बढ्न थालेको छ । २० वर्ष पहिले हामीले खाने खानामा भातको मात्रा धेरै हुन्थ्यो । तरकारी, दाल, अचार र अन्य बस्तु थोरै । तर अहिले थालमा भात घटेको छ तरकारी, दाल, अचारसहितका परिकारको मात्रा बढेको छ । एकताका हामी कोरियाको एउटा रेष्टुरेन्टमा खान बसेका थियौं । त्यहाँ बिभिन्न परिकारको मिक्स राखिएको थियो । त्यो खाँदै गयौं । पछि कटौरामा तरकारीभन्दा कम्तिमात्रामा भात ल्याएर दिएका थिए । हामी भात मन पराउनेहरुका लागि त्यो अचारजस्तै थियो । हामी बोलीचालीमा नै खाना खानेभन्दा भात खाने नै धेरै भन्छौं ।

खानामा भातको आकार घट्दैछ र अन्य खाद्य परिकारको आकार बढ्दैछ । यो हाम्रो खानामा आएको सुधारको लक्षण हो । खानामा कार्वोहाइड्रेड, प्रोटिन, भिटामिन र मिनरलको सन्तुलन मिलाएर खाने चलन बढ्दैछ । चामल, पीठो, आलु, तरुलजस्ता खाद्यबस्तु कार्वोहाइड्रेडका मुख्य स्रोत हुन् । माछा मासु, अण्डा, चिल्लो (तेल घिउ), दूध र दुधजन्य पदार्थ, गेडागुडी प्रोटिनका अन्य स्रोत हुन् । फलफूल, सागपात, तरकारी आदि मिनरल, भिटामिन एवं फाइवरका स्रोत हुन् । शरीरका लागि यी सबै खाद्यबस्तुको आवश्यकता पर्छ । कुनै न कुनै स्रोतबाट हामी यी सबै प्राप्त गरिरहेका हुन्छौं ।

              रामचन्द्र उप्रेती

खानामा शरिरलाई चाहिने आवश्यक तत्वको सन्तुलन मिलेन, पुगेन वा धेरै भयो भने हामी अस्वस्थ हुन्छौं । यो सचेतना मानिसमा बढ्दै गएको छ । जुन राम्रो कुरा हो । सरकार र जिम्मेवार निकायले स्वस्थकर खाने पिउने कुरा मात्रै प्रयोग गर्न सूचना गरिरहेका हुन्छन् । स्वास्थ्यलाई हानी गर्ने खाद्य सामग्रीको बिक्री वितरण गर्न रोक लगाउने गरिन्छ । नियमको उल्लङ्घन गर्नेलाई कानून बमोजिम सजाय गरिन्छ । तर, हाम्रोजस्तो कमजोर कानून र कानूनको कार्यान्वयन झन् कमजोर भएको मुलुकमा खाद्य बस्तु निकै नै दुषित पाइन्छ भन्दा अत्युक्ति हुँदैन । कानून किन कमजोर छ र त्यसको कार्यान्वयन झन् किन कमजोर छ भन्ने बारेमा यहाँ थोरै चर्चा गर्नु उचित ठान्दछु ।

हाम्रो समाजमा अन्न, तरकारी, फलफूल, मासु, दूधजस्ता बस्तुको व्यापक व्यवसायिक खरिद बिक्रीको इतिहास धेरै पुरानो छैन । पहिले समाजका थोरै मानिसले मात्रै किनेर खाने गर्दथे । धेरै मानिसले आफूलाई चाहिने सामानको उत्पादन आफैं गर्ने, छिमेकीसँग उत्पादन साटासाट गरेर उपभोग गर्ने चलन थियो र छ । वि. सं. २०५० को दशकपछि नेपाली समाजमा तीब्र परिवर्तन शुरु भयो । धेरै मानिस गाउँबाट शहर बसाईं सर्न थाले । त्यत्तिकै धेरै मानिस रोजगारी, व्यापार र शिक्षाका लागि विदेश आउजाउ गर्न थाले । उत्पादन र उपभोग प्रणालीमा व्यापक परिवर्तन देखापर्न थाल्यो ।

घरबाहिर सितिमिति खाजा खाना नखाने मानिस व्यवसाय र रोजगारीका कारण घरबाहिर आउजाउ गर्नु स्वाभाविक बन्यो । बजारको विकाससँगै बाहिर खाजा खाना खान सहज हुनथाल्यो । वैदेशिक रोजगारीमा युवाको पलायन भएकाले विगतको परम्परागत खेतीपातीमा परिवर्तन हुन थाल्यो । निर्वाहमुखी कृषि उत्पादनमा व्यापक कमी हुन थाल्यो । निर्वाहमुखी उत्पादन हुँदासम्म शुद्धताको हकमा त्यसमा समस्या थिएन र छैन । उत्पादन थोरै भएपछि त्यो आफैंले उत्पादन गरेको र विषादिको प्रयोग शून्य बराबर हुने भएकाले खान पूर्णतः योग्य थियो । तर, जब बजारले हामीलाई खानेकुरा दिन थाल्यो तब बजारमा राम्रो र सस्तो दुबैको खोजी हुनथाल्यो । राम्रो र सस्तो पार्न उत्पादन प्रणालीमा परिवर्तन गरियो । जस्तो थोरै समयमा, थोरै ठाउँमा धेरै र सस्तो उत्पादन गर्न रासायनिक मल र रासायनिक विषादिको व्यापक प्रयोग हुन थाल्यो ।

प्रकृतिलाई नै चुनौति दिँदै बेमौषमी तरकारी र फलफूल उत्पादन थालियो । नयाँनयाँ रोग किराहरुको विकास भयो । त्यसबाट बालीनाली, तरकारी, फलफूललाई जोगाउन विषादिको मात्रा बढाउँदै लगियो । यसरी प्रयोग भएको विषादि खाने खाद्य पदार्थसँगै मानिसको शरीरमा प्रवेश भयो र व्यापकरुपमा नयाँनयाँ रोगहरु देखापर्न थाले । मानिस रोगी हुन थाले । उपचारका लागि राज्य, परिवार र व्यक्तिले ठूलो धनराशी खर्चनु पर्ने अवस्था भयो । यो सबै हाम्रै पुस्तामा भयो । यो सबै कुरा विगत २५–३० वर्षको अवधिमा भयो ।

जुनरुपमा उत्पादन प्रणालीमा परिवर्तन भयो र बजारको विकास भयो त्यसरुपमा यसलाई नियन्त्रण गर्नसक्ने नियम, कानून र कार्यान्वयनको अवस्था देखिएन । त्यसको मारमा आजका किनिखाने उपभोक्ता परेका छन् । उत्पादकहरु बजारमुखी भए । बजारले मागेको जस्तो सस्तो, राम्रो, चिल्लो, सलक्क परेको तरकारी तथा फलफूल विषादिको प्रयोग बिना सम्भव नै छैनजस्तो लाग्न थालेको छ । रासायनिक मल र विषादिको प्रयोग सम्पूर्णरुपमा निषेधित होइन र छैन । त्यसैले त्यसको खुल्ला बिक्री वितरण भइरहको छ ।

समस्या कहाँ छ भने यस्ता घातक विषादिको प्रयोग कसरी, कति, कुन, कहिले गर्ने र प्रयोग गरेको कति समयपछि मात्रै बजारमा लान वा खान मिल्ने भन्ने बारेमा लगभग धेरैलाई जानकारी नै छैन । जसलाई जानकारी छ, उसले पनि यसको प्रयोग सही तरिकाले गरेको अवस्था छैन । घरको भान्सामा पाक्ने तरकारी र बजारमा पाइने फलफूल विषादि प्रयोग नगरेको पाइन नै छाडेको छ । यसको कारण हो व्यवसायिक उत्पादनका सामान मात्रै बजारमा पाउनु । व्यवसायिक उत्पादनका लागि उत्पादन धेरै गर्नु र प्रतिस्पर्धी मूल्यमा बजारमा बिक्री गर्नु हो । जसले यो प्रतिस्पर्धामा आफूलाई टिकाउन सक्छ उमात्रै बजारमा र व्यवसायमा टिक्ने अवस्था छ । त्यसैले उपभोक्ताको स्वास्थको ख्याल गर्नेहरु बजारको प्रतिस्पर्धी मूल्यमा टिक्नै सक्दैनन् ।

बजारमा सचेत उपभोक्ता नभएका होइनन् तर उनीहरुले विषादिमुक्त तरकारी र फलफूल पाउने अवस्था छैन । यसैपनि बजारमा भारतीय तरकारी र फलफूलको साम्राज्य छ । ती झन् धेरै विषादियुक्त छन् भन्ने गरिन्छ । नेपालमा उत्पादन भएका तरकारी र फलफूलमा पनि विषादि छ । किनकि विषादि प्रयोग नगरेको तरकारी फलफूल उत्पादन लागत निकै बढी पर्छ । पहिलो, उत्पादन नै कम हुन्छ, दोस्रो हेर्दा सलक्क परेको र राम्रो पनि हुँदैन । त्यस्तोमा उपभोक्ताको आकर्षण कम हुन्छ झन् महङ्गोसमेत पर्ने भएपछि उपभोक्ता टाडिने नै भए ।

सँगसगै अर्को समस्या भनेको विश्वासको हो । यदि कसैले मैले यो प्राङ्गारिक मलमात्रै लगाएर उत्पादन गरेको हुँ, रसायनिक विषादि प्रयोग गरेको छैन भन्यो भने विश्वास गर्ने आधार के ? भरपर्दो र विश्वासिलो तरिकाले विषादि भए नभएको, खान योग्य हो होइन भनेर कसले छुट्याई दिने ? किनकि आज समाजमा, व्यवसायमा विश्वासको सङ्कट छ । एकले अर्कोलाई झुक्याएर धनी हुन चाहानेको जमात बहुमतमा छ । यस्तोमा विज्ञानले प्रमाणित गर्नुपर्छ, सरकारले साथ दिनुपर्छ । तर न विज्ञानको सहायताका लागि व्यवस्थित ल्यावको व्यवस्था छ न सरकारले यसमा चासो राखेको छ । त्यसैले बजारमा जे पाइन्छ त्यो उपभोग गर्नु सचेत उपभोक्ताको पनि बाध्यता हो । हाम्रा भान्सामा पनि त्यस्तै तरकारी पाकेको छ ।

विकल्पको खोजीः अलिकति मूल्य बढी तिर्न तयार सचेत उपभोक्ताले चाहेकोजस्तो तरकारी र फलफूलको विश्वसनीय ब्राण्ड बजारमा हुने हो भने यो विकल्प हुन सक्छ । यसका लागि जैविक विषादि र जैविक मलमात्रै प्रयोग गरेर उत्पादन गर्ने किसानलाई सूचिकृत गरिनु पर्छ । उनीहरुलाई कसरी यस्तो विषादि रहित उत्पादन गर्न सकिन्छ भनेर तालिम दिनुपर्छ । उत्पादन प्रणालीको नियमित अनुगमन गर्ने, उत्पादित बस्तुको वैज्ञानिक ल्याव टेष्ट गर्ने । यसरी उत्पादित तरकारी तथा फलफूलको प्याकेजिङ गरेर अरुसँग मिसाउन नसकिने बनाउनु पर्छ । यस्ता बस्तुको लागत मूल्यमा केही नाफा दिएर किसानसँग मात्रै खरिद गर्ने र यसरी खरिद गरिएको बस्तुमात्रै बिक्री गर्ने । यस्तो प्रक्रिया सुरु गर्ने हो भने सचेत उपभोक्ताले खोजेको जस्तो र विषादि रहित उत्पादन गर्न चाहने किसानले पनि उत्पादन कर्म गरेर व्यवसायी बन्न सक्नेछन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले किसानका उत्पादन विशेष गरी तरकारी र फलफूल बिक्री गर्नेगरी एनएमसी एग्रो मार्ट सञ्चालनमा ल्याउने निर्णय एक वर्ष पहिले नै गरेको छ । कसरी गर्ने भन्नेमा हामी प्रष्ट हुन सकेका छैनौं, त्यसैले शुरु भइसकेको छैन । हाम्रो चाहना नेपाली किसानले उत्पादन गरेका बस्तुमात्रै बिक्री गर्न पाइयोस् भन्ने हो । त्यसलाई छुट्याउने कसरी ? ती उत्पादन उपभोग गर्न पूर्ण सुरक्षित छन् भन्ने कसरी थाहा पाउने ? कसले प्रमाणित गरिदिने ? कसरी उपभोक्ताको भान्सासम्म पुर्याउने ? केही बढी मूल्य तिर्ने सचेत उपभोक्ता हुनेछन् ? बजारमा यस्ता अनेकन समस्या छन् । इमान्दारपूर्वक निरन्तर काम गर्दा त्यसलाई क्रमशः प्रष्ट पार्दै जान सकिन्छ भन्ने विश्वास छ ।

बजारमाभन्दा उत्पादनमा धेरै समस्या छन् । एनएमसीले आफ्नो कृषि फार्ममा २०७६ सालदेखि नै विषादि रहित तरकारी र खरबुजा उत्पादन गरी बजारमा खुद्रा बिक्रेता र उपभोक्तामा पुर्याउने गरेको छ । एनएमसीका उत्पादन पाएसम्म अरु नकिन्ने भन्ने उपभोक्ताको सङ्ख्या दिनानु दिन बढ्दै गएको छ । एनएमसी फार्मबाट उत्पादन भएका कुनै पनि समानको बिक्रीमा कुनै समस्या छैन । यस्ता बस्तु एनएमसीले बजार मूल्यमा नै बिक्री गर्ने गरेको छ । यसबाट फार्मलाई नाफा भएको छैन तर पनि बजारमा विश्वास जित्न र अनुभव लिन काम लागेको छ ।

एनएमसीले जति नै बल गरे पनि बजारको माग धान्न सक्ने गरी उत्पादन गर्न सक्दैन । त्यसैले हामी विषादि रहित, शुद्ध र उपभोग गर्न योग्य तरकारी तथा फलफूल उत्पादनमा अरु धेरै किसान सदस्यलाई जोडने अभियानमा छौं । यसरी जोडिएका किसानलाई जैविक मल र जैविक विषादि मात्रै प्रयोग गरेर उत्पादन गर्न तालिम लिने, त्यस्ता किसानको फार्ममा नियमित अनुगमन र अवलोकन गरिनेछ । यस्ता उत्पादन किसानको लागतभन्दा केही बढी मूल्य दिएर खरिद गर्ने र ब्राण्डिङ गरेर बजारमा उपभोक्तासम्म सोझै पुर्याउने प्रयास गरिने छ । यसको शुरुवात तरकारीका बिरुवा उत्पादन र भर्मी कम्पोष्ट–जैविक मल, बनाउने तालिम १० जना किसानलाई दिएर शुरु गरिसकेका छौं । यस प्रकारको तालिम अरु किसानलाई पनि दिने र तरकारी तथा फलफूल उत्पादन गर्न लगाउने अभियान चलाइने छ ।

किसानले उत्पादन गर्ने तर बजार नपाउने अवस्था आउन नदिन किसानको जति थोरै उत्पादन भए पनि खरिद गर्ने नीति लिएका छौं । मलाई लाग्छ यो काम सजिलो छैन, निकै कठिन छ, तर असम्भव छैन । चाँडै नाफा गर्न नसकिएला, केही समय निरन्तर घाटा होला । तर, धेरै किसान र उपभोक्ता जोड्न सक्नेछौं । अभियानले गाउँमा रोजगारी सिर्जना गर्नेछ । किसानलाई प्रविधि सिकाउने छ । बजारका उपभोक्तालाई अलिकति बढी मूल्यमा विषादि बिनाको हरियो तरकारी उपलब्धताको विकल्प दिनेछ । एनएमसीले उत्पादकदेखि संकलन गर्ने, सितभण्डारको व्यवस्था गरी भण्डारण गर्ने, आवश्यकता अनुसारको सफाई, प्याकेजिङ र लेभलिङ गरेर बजारमा ल्याउने काम छिट्टै गर्नेछ । यसरी हामी जोडिन सक्यौं भने अब हाम्रा भान्सामा चाँडै विषादि रहित तरकारी पाक्नेछ ।

          January 17, 2022 8:47 pm | अर्थतन्त्र,मुख्य समाचार,विचार/ब्लग,सहकारी,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: