आधा दर्जन सहकारी र सूर्योदय टेलिभिजनलाई साझा सहकारी मञ्चको कदरपत्र

January 11, 2022 8:23 pm

बिर्तामोड । पूर्वमहान्यायधिवक्ता अग्निप्रसाद खरेलले पत्रकारले समाचार लेख्दा सत्यतथ्य हो होइन, प्रामाणिक कथन वा कार्य हो होइन भन्ने कुरामा चनाखो हुनु पर्नेमा जोड दिएका छन् ।

झापाको बिर्तामोडबाट सञ्चालन गरिँदै आएको साझामञ्च डटकमको नवौं वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तब्य राख्दै पूर्वमहान्यायधिवक्ता खरेलले कुनै पनि पत्रकारले समाचार लेख्दा सम्बन्धित सबैको कुरा अटाउने गरी सन्तुलित रुपमा प्रस्तुत गर्न सुझाव दिएका हुन् । समाचारले हरेक ब्यक्तिको जीवनमा कुनै न कुनै प्रकारको असर पुग्ने भएकाले तथ्यपरक समाचार लेख्न उनको सुझाव छ ।

 

पछिल्लो समय धेरै युट्युवरले सामान्य घर झगडालाई समेत भिडियो खिचेर उनीहरुको सानो समस्यालाई अझ जटिल बनाएको दृष्टान्त बताउँदै त्यस्ता गतिविधि रोक्नु पर्नेमा उनको जोड थियो ।


टेलिभिजन कार्यक्रम साझा सहकारी मञ्च प्रसारणको १००औं शृङ्खला पूरा गरेको अवसरमा साझामञ्च मिडिया प्रालिद्वारा आयोजित अन्तरसम्वाद तथा सम्मान कार्यक्रमममा बोल्दै पूर्वमहान्यायधिवक्ता खरेलले कसैको जीवनमा हानी पुग्ने खालका समाचार नलेख्न आग्रह गरेका हुन् ।

सो कार्यक्रममा साझा सहकारी मञ्च प्रसारणको १००औं अंकसम्म वित्तीय सहयोग गर्ने विभिन्न सहकारी संस्था तथा प्रसारक सूर्योदय टेलिभिजनलाई कदरपत्र प्रदान गरिएको छ । कदरपत्र ग्रहण गर्न नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ सहभागी थिए ।

यस्तै, सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ, संजीवनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यामकुमार चुडाल र सिम्रीक बचत तथा ऋण सहकारी संस्थाका विभागीय प्रमुख मिनबहादुर अधिकारीले प्रमुख अतिथि खरेलको हातबाट कदरपत्र ग्रहण गरेका छन् । सूर्योदय टेलिभिजनलाई प्रदान गरिएको कदरपत्र टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले ग्रहण गरेका थिए ।

साहारा नेपाल साकोसको कदरपत्र ग्रहण गर्न कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई निम्तो गरिएकोमा समयाभावले कार्यक्रममा आउन नसकेकोले संस्थामा नै कदरपत्र पुर्याइने जनाइएको छ ।

साझामञ्च मिडिया प्रालिका अध्यक्ष एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित अतिथि, सम्मानित ब्यक्तित्वहरु एवम् सहभागीहरुलाई कम्पनीका उपाध्यक्ष खड्गप्रसाद दाहालले शाब्दिक स्वागत गरेका थिए ।

सो कार्यक्रममा कदरपत्र ग्रहणकर्ताहरुको तर्फबाट रामचन्द्र उप्रेती र मनोज उप्रेतीले आफ्ना धारणा राखेका थिए । सो कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दर्जनौं सहकारीकर्मी एवम् सञ्चारकर्मीको उपस्थितिमा आयोजित कार्यक्रमको सञ्चालन कम्पनीका कार्यकारी प्रमुख तथा साझामञ्च डटकमका प्रधान सम्पादक गोपाल काफ्लेले गरेका थिए ।

          January 11, 2022 8:23 pm | अर्थतन्त्र,मुख्य समाचार,राष्ट्रिय समाचार,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: