नकुल काजीले ल्याए ‘पञ्चायत’

October 29, 2021 7:52 pm

भद्रपुर । अग्रज पत्रकार नकुल काजीले नेपाली राजनीतिको महत्वपूर्ण खण्ड पञ्चायतकालको यथार्थ चित्रण गरेर संस्मरणात्मक ऐतिहासिक कृति ‘पञ्चायत’ प्रकाशन गरेका छन् ।

राजाको प्रत्यक्ष शासन मानिएको निर्दलीय पञ्चायत भित्र जनताका सेवकको प्रचार गर्दै पञ्चहरू राजा र जनताको बीचमा कोरेको दूरी प्रष्ट पार्दै काजीले ऐतिहासिक कृति पाठक सामु ल्याएका हुन् ।

११८ पृष्ठको १८ खण्डमा संरचित यस पुस्तकको भूमिका चूडामणि वशिष्ठ र गोपाल गिरीले लेखेका छन् । ३० वर्षे पञ्चायतकालीन झापा कस्तो थियो ? पञ्चहरू कस्ता थिए ? नेता कर्मचारीहरूले जनतालाई कसरी दुःख दिन्थे ? सामन्तीहरूको कीर्ते काइते, कानुनी जालझेल, शोषण–दमन कुन हदसम्मको थियो ? खमार काण्ड, पाटा काण्ड, झोडा काण्ड, सुखानी हत्या काण्ड के प्रयोजनका लागि कसरी घटित भएका थिए र त्यसको परिणाम के निस्क्यो ? यस्ता ऐतिहासिक सन्दर्भको इतिहास जान्न बुझ्न पुस्तक फलदायी बनेको छ ।

२०३५ साल पछिका पुस्ताले पञ्चायतकाल सुने पनि स्मरण गर्न सक्ने गरी अनुभव गर्न पाएका थिएनन् । त्यो पुस्ताले यस पुस्तकमा पञ्चायत अनुभव गर्न पाउने वातावरण काजीले तय गरिदिएका छन् । पञ्चायती झापाको आँखीझ्यालबाट त्यसबेलाको सिंगै देशको शासन व्यवस्थालाई नियाल्न सकिने यो पुस्तक रोचक भएको पाठकले अनुभव गर्ने छन् ।

          October 29, 2021 7:52 pm | साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: