युट्युवरलाई सञ्चार कानून र आचारसंहिता लाग्दैन कि !

September 26, 2021 7:32 am

पछिल्लो समय नेपालमा व्यक्तिका निजी जीवनमा आधारित विषयहरु सामाजिक सञ्जाल विशेषगरी युट्युवमा प्रवाह गर्ने कार्यले तीब्रता पाएको छ । युट्युवमा प्रेम जीवन, विछोड, आत्महत्या अनि यौनसँग जोडिएका सामग्रीहरु बग्रेल्ती पोष्ट गरेको पाइन्छ । ‘पत्रकार’को परिचय दिँदै समाजका विभिन्न पक्षसँग पुगेर तिनका निजी जीवनका अनेकन पाटोहरु खोतलेर युट्युवमा भिडियो अपलोड गर्दा सयौंको घर परिवारमा बिखण्डन आइरहेकोमा हामी सायदै अनविज्ञ छैनौं । ‘युट्युवर’हरुले आफ्नो साइटमा टिआरपी बढाउन र डलर कमाउन गरिरहेका यस्ता हर्कतले व्यवसायिक पत्रकारको गरिमामा आँच पुगिरहेको छ । उल्लिखित घटनाहरुले समाजलाई पारिरहेको प्रभाव विश्लेषणसँगै यो आलेखमा पत्रकार, युट्युवर, सञ्चार कानून र पत्रकार आचार संहिताका बारेमा केही चर्चा गर्ने जमर्को गरेको छु ।

             गोपाल काफ्ले

युट्युवर र पापाराजी

के युट्युवरहरु पापाराजी हुन् ? प्रसंग यहाँबाट सुरु गरौं । अखबार र म्यागेजिनहरुका लागि ‘हटकेक’ फोटोहरु बेच्न पल्किएका पापाराजीहरु अहिले पनि विश्वभर सक्रिय छन् । पापाराजीहरुले विशेषगरी सेलिब्रेटीका गोप्य सम्बन्धहरु, अंगहरुको तस्वीर र भिडियो खिचेर सञ्चार माध्यमलाई बेच्छन् । तर उनीहरुलाई फोटो पत्रकारका रुपमा परिचय गराइएको पाइन्न । पापाराजीहरु कुशल फोटोग्राफर भने पक्कै हुन् । उनीहरु सेलिब्रेटीका गोप्य सम्बन्ध उजागर गर्ने हिम्मतिला फोटोग्राफर हुन् भन्न सकिन्छ ।

इतिहासलाई फर्केर हेरौं । वेलायतकी पूर्व युवराज्ञी डायनाको कार दूर्घटनामा मृत्यु हुनाको कारण पापाराजीहरुले पछ्याउनाकै कारण भएको हो । भ्यानिटी फ्येर म्यागेजिनको निष्कर्ष उल्लेख गर्दै हिमालखबरमा छापिएको छ : व्यक्तिगत जीवनमाथि मिडियाले देखाएको अतिरिक्त चासोले राजकुमारी डायनाले ज्यान गुमाउनु पर्यो । डायनाको मृत्युको कारण के हो ? औपचारिक फैसला गर्भमा नै छ । तर सजिलै बुझ्न सकिने कुरा के हो भने मिडिया पछ्याइरहेको थियो र उनी भागिरहेकी थिइन् । त्यही लुकामारीले उनको ज्यान लिएको हो ।

३१ अगस्त सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा परेर तत्कालीन प्रिन्सेस अफ वेल्स डायनाको मृत्यु भएको थियो । उक्त दुर्घटनमा उनका प्रेमी इजिप्टियन बिलिनियोर मोहमद अलफायदका छोरा डाडी फायद र कार चालक हेनरी पाउलको पनि मृत्यु भयो । तर, डायनाका सुरक्षा गार्ड ट्रेभोर रेस जोनस भने बाँचे । ट्रेभोरको बयानका आधारमा– फायद र डायना मध्यरातको समयमा सेइनी नदीको किनारमा भेटिएको दृश्य खिच्न पापाराजी फोटोग्राफरहरूले पछ्याएपछि त्यहाँबाट भागेर उनीहरु बसेको रिज होटेलतर्फ जान लाग्दा कार दुर्घटना भएको थियो ।

पापाराजीहरु डायनाको पछि लागेर निजी जीवनमा अतिरिक्त चासो नराखेका हुन्थे भने आज उनी सायदै जीवित हुन्थिन् तर भाग्दा भाग्दै दुर्घटनामा पर्नुपर्यो । आज नेपाली समाजमा पनि युट्युवरहरु यसरी नै व्यक्तिको निजी मामिलामा खनजोत गरिरहेका छन् । कसकी श्रीमती को पुरुषसँग बसेर होटलमा चिया खाएको भन्नेदेखि आत्महत्या गरेकी युवतीको गर्भमा ‘उसको’ बच्चा खेलिरहेको छ भन्नेसम्मका विषय युट्युवमा अपलोड गरिएका छन् । युट्युवरहरु ‘अनलाइन मिडिया’को कार्ड आफैं बनाउँछन्, भिर्छन् अनि ‘बुम’ बोकर समाजलाई आतंकित बनाउँछन् । कहिले झाडीमा बालक भेटिएको फण्डा गर्छन् त कहिले रहस्यमय घटनाको आफैं न्यायाधीश बनेर फैसला सुनाइरहेका हुन्छन् ।

अब प्रश्न उठ्छ, के युट्युवरले मुलुकको ऐन, कानून, नीति, नियम मान्नु पर्दैन । उनीहरु पनि पत्रकार नै हुन् ? हुन् भन्ने पक्ष सबल छ भने– तिनले पत्रकार आचारसंहिताको पालना गर्नुपर्छ पछि पर्दैन ? पत्रकारिताको सिद्धान्तका रुपमा स्वीकार गरिँदै आएको एबीसीको पालना गर्नु पर्छ कि पर्दैन ? होइनन् भने यिनलाई किन यसरी खुल्लारुपमा व्यक्तिगत जीवनमाथि आँच पुर्याउने गतिविधिहरु ग्रिरहँदा सरोकार राख्ने नियामक निकाय मुकदर्शक बनेर बसेका !? यसको नियमन गर्ने कुनै निकाय छ कि छैन ? केवल साइबर अपराधको कानूनमात्र यसमा आकर्षित हुन्छ कि सार्वजनिक अपराधको मुद्धा पनि चलाउन मिल्छ ?

के युट्युवरहरु पनि पापाराजी जस्तै हुन् । डायनाको निजी जीवनमा पापाराजीले अतिरिक्त चासो दिएका कारण कार दुर्घटनामा ज्यान गुमाउनु परेको थियो । आज नेपालका सयौं परिवारहरु युट्युवरका कारण नकारात्मक सन्देश फैलाएर अप्ठ्यारोमा छन् । यिनलाई कसले न्याय दिन्छ ? आचारसंहिता पालना भए नभएको हेर्ने निकाय प्रेस काउन्सील नेपालको धारणा के हुनुपर्छ ? धेरै पिडीत आज यसको प्रतिक्षामा छन् ।

सञ्चार अध्येता भानुभक्त आचार्यले ‘पापाराजी’हरु पत्रकार होइन, अपराधी हुन् भनी ठोकुवा गरेका छन् । पत्रकारिताका सात महापाप शीर्षकमा उनले अनुमतिबिना चर्चित व्यक्तिका निजी जीवनका तस्बिर खिचेर मिडियालाई बिक्री गरी जीविकोपार्जन गर्ने ‘पापाराजी’हरु पत्रकार होइन, अपराधी हुन् भनी उल्लेख गरेका छन् ।

आज परिचित सञ्चारमाध्यमको नामका पछाडि फुर्को जोडेर खोलिएका कतिपय अनलाइन पोर्टल र युट्युव स्लगमा ‘स्टिङ अपरेशन’को नाममा आतंक नै सिर्जना हुने गरी सामग्रीहरु पोष्ट गरिएको पनि पाइन्छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछानेको सिको गरेर केहीले स्टिङ अपरेशनको नाममा आचारसंहिताको धज्जी उडाइरहेका छन् । वास्तमा तिनलाई ‘स्टिङ अपरेशन’को अर्थ र तरिका के हो भनी प्रश्न राखियो भने अक्क न बक्क परेका थुप्रै उदाहरण हामीसँग छन् । सिकेर, जानेर, बुझेर विधिपूर्वक गरिएका काम सफल भएका छन् तर आफैं न्यायाधीशको जस्तै निश्कर्ष निकालेर समाजका विभिन्न क्षेत्रका जिम्मेवार मानिसको चरित्रहत्या गरिँदै आएकाले अब यसको निराकरण हुन आवश्यक छ ।

फेरि पनि सञ्चार अध्येता भानुभक्त आचार्यका शब्द सापटी लिन उपयुक्त हुन्छ । उनी लेख्छन्– अमेरिका, भारत, न्युजिल्यान्ड जस्ता देशमा स्टिङ अपरेसनलाई मान्यता दिइएको छ भने स्विडेन जस्ता कतिपय देशमा छद्मभेषी रिपोर्टिङलाई अपराध मानिन्छ ।

पत्रकार आचारसंहिता

नेपाली पत्रकारहरुलाई पेसाप्रति नैतिकवान बनाउन २०२३ सालदेखि आचारसंहिता बनाउन थालिएको इतिहास छ । नेपाल पत्रकार संघको वीरगंज महाधिवेशनले बनाएको पत्रकार आचारसंहितालाई पहिलो मानिन्छ । अहिले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) कार्यान्वयनमा छ । जसमा अनलाइन सञ्चारमाध्यमलाई समावेश गरिए तापनि युट्युवलाई छुवाइएको छैन अनि पत्रकारको परिभाषामा युट्युवरलाई समेटिएको छैन ।

आचारसंहिताको दफा २ परिभाषा खण्डको उपदफा ११ मा ‘सञ्चारमाध्यम’ भन्नाले नेपालमा सञ्चालित छापामाध्यम, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम र समाचार एजेन्सीलाई सम्झनुपर्छ भनिएको छ ।

यस्तै दफा २ परिभाषा खण्डको उपदफा ६ मा ‘पत्रकार’ भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्ति बाहेक सञ्चार सम्बन्धी व्यावसाय वा सेवालाई प्रमुख व्यावसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनु पर्छ भनिएको छ । सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई सम्झनु पर्दछ ।

यस परिभाषाले युट्युवसहित सामाजिक सञ्जालहरुलाई सञ्चारमाध्यम मानेको छैन । अनि समाचार कै रुपमा सामग्रीहरु उत्पादन गरी युट्युवमा अपलोड गर्नेहरु पत्रकार होइनन् भन्ने कुरा प्रष्ट भएको छ । तर कतिपय युट्युवमा आधिकारिक सञ्चारमाध्यमका सामग्रीहरु राखिएका हुन्छन्, आधिकारिक रुपमा सञ्चालन गरिएका हुन्छन् । यिनलाई र यिनको कामलाई सम्बोधन गर्न आवश्यक छ ।

पत्रकार आचारसंहिता २०७३ को दफा ५ मा पत्रकार तथा सञ्चार माध्यमहरुले गर्न नहुने कार्यहरुबारे उल्लेख छ । तर आज कहीँकतै दर्ता नै नभएका अनलाइन न्यूजपोर्टलहरु भ्रामक समाचारको खेती गरेर जीविका चलाइरहेका छन् । धेरैले टिआरपीका लागि फण्डा गरिरहेको अवस्था छ । यस्ता पोर्टलमा न त सम्पादकको नाम हुन्छ नत कार्यालयको ठेगाना नै । प्रेस काउन्सील नेपाल, सूचना तथा प्रशारण विभाग, इन्टरनेट सेवा प्रदायक कम्पनी तथा नियामक निकायहरु तिनलाई किन प्रतिबन्ध लगाउन सकिरहेका छैनन् ? यो पनि गम्भीर विषय बनेको छ ।

सञ्चार कानून र पत्रकार आचारसंहिता पूर्ण पालना गर्ने अनलाइन न्यूजपोर्टलहरु विज्ञापन नपाएर दुःखजिलो गरी आफ्नो उत्तरदायित्व निर्वाहा गरिरहँदा यस्ता अनाधिकृत पोर्टलहरुमा विज्ञापनको बाढी लागिरहेको पाइन्छ । यी सबै कुराहरुले ‘काम गर्ने कालु, मकै खाने भालु’को उक्ति चरितार्थ बन्दै गएको छ ।

निश्कर्षः

युट्युवरले पत्रकार परिचय पत्र भिर्ने हैसियत राख्छ भने उसले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्दछ । व्यक्तिको निजी जीवनमा प्रवेश गर्नुको साटो उक्त विषय वा घटनाले समाजलाई के कस्तो असर वा प्रभाव पारेको छ सो को मूल्याङ्कन पछिमात्र समाचार प्रकाशन प्रशारण गरिनु पर्दछ । आचारसंहिता कार्यान्वयन गर्ने, अनुगममन गर्ने एवम् पालना गर्ने निकायहरु प्रेस काउन्सील नेपाल, नेपाल पत्रकार महासंघ, प्रादेशिक सञ्चार प्रतिष्ठान लगायत पत्रकारका पेशागत संगठनहरुले आचारसंहिताबारे पत्रकारहरुलाई मिहिन ढंगले अध्ययन गराउनु पर्दछ । पत्रकार र सञ्चारमाध्यमको परिभाषाभित्र नसमेटिएका तर समान प्रकृतिका काम गर्दै आएका पेशेवरहरुलाई छुट्टै विधिको प्रयोग गरी तालिम लगायतको व्यवस्था गरिनु पर्दछ । सञ्चार कानून, साइवर कानूनले सबै नेपालीलाई पक्कै बाँधेको छ तर आचारसंहिताले नबाँधेका समान काम गर्ने पेशाकर्मीलाई पनि यसको शिक्षा दिन ढिला गर्न हुँदैन ।

(प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का सञ्चालक समिति सदस्य, साझामञ्च डटकमका सम्पादक काफ्लेको यो लेख प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिता असोज २०७८ को पृष्ठ ६९ मा ‘युट्युबर उर्फ पापाराजी’ शीर्षकमा प्रकाशित छ ।)

          September 26, 2021 7:32 am | मुख्य समाचार,राष्ट्रिय समाचार,विचार/ब्लग

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित