दसैँ अगाडि चलचित्र प्रदर्शनमा नआउने

September 14, 2021 2:17 pm

काठमाडौं । सरकारले सिनेमा हल खोल्ने निर्णय गरे पनि निर्माताहरू चलचित्र प्रदर्शन गर्न तयार देखिएका छैनन् । दर्शक सिनेमा हेर्न हल जान्छन् कि जाँदैनन् भन्ने अन्योल रहेका कारण निर्माता चलचित्र प्रदर्शन गरेर जोखिम उठाउन तयार छैनन् ।

यो अवस्था लामै समय जाने देखिन्छ । दसैँसम्म चलचित्र हलमा आउने सम्भावना न्यून रहेको चलचित्र संघका महासचिव अशोक शर्मा बताउँछन् । “अहिलेसम्मको अवस्था हेर्दा दसैँ अगाडि चलचित्र आउने अवस्था देखिएको छैन,” अशोक भन्छन्, “तर, चलचित्र प्रदर्शनका लागि हामीले निर्माता संघ र निर्माताहरूसँग कुरा गरिरहेका छौँ ।”

निर्माताहरू दर्शक हलसम्म आउने अवस्थाको सुनिश्चितता चाहन्छन् । तर, यो सुनिश्चितता कसैले पनि दिन सकिरहेको छैन ।

निर्माताहरूसँग प्रदर्शनका लागि छलफल भइरहेको अशोक बताउँछन् । दसैँलाई लक्षित गरेर चलचित्र प्रदर्शन गर्न निर्माताहरू सकारात्मक देखिएका छन् । तर, त्यसका लागि केही सर्त भने उनीहरूले अघि सारेका छन् ।

देशभरका सिनेमा हल खोल्नुपर्ने उनीहरूको माग छ । काठमाडौं उपत्यकाका सिनेमा हल खोल्ने अनुमति जिल्ला प्रशासन कार्यालयले दिए पनि देशभरका सबै सहरका हल भने खुलेका छैनन् । हल खोल्ने अधिकार जिल्ला प्रशासन र स्थानीय निकायलाई दिइएको छ । त्यसैले देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग एक चरण यस विषयमा छलफल भइसकेको उनले जानकारी दिए ।

“छलफलमा प्रमुख जिल्ला अधिकारीहरू सकारात्मक हुनुहुन्छ । कति जिल्लामा त हल खोल्ने निर्णय भइसकेको छ । कतिले निषेधाज्ञासम्बन्धी निर्णय गर्दा अब हल सञ्चालन गर्ने दिने अनुमति दिनुहोला,” उनी भन्छन्, “हाम्रो व्यापारको प्रकृतिबारे हामीले उहाँहरूलाई बुझाएका छौँ ।”

सामान्यतया सिनेमा रिलिज गर्दा देशभर एकैदिन गर्ने चलन छ । प्रत्येक जिल्लामा फरक–फरक समयमा रिलिज गर्दा व्यापारमा नकारात्मक असर गर्ने सम्भावना उच्च हुने चलचित्रकर्मीहरू बताउँछन् । त्यसैले देशभरका सिनेमा हल नखुलेसम्म चलचित्र प्रदर्शन गर्न नसकिने उनको भनाइ छ ।

          September 14, 2021 2:17 pm | गीत/संगीत/मनोरञ्जन,मिडियाबाट साभार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: