कर्णाली साकोसद्वारा विष्टको परिवारलाई ४ लाख ८० हजार बीमा र राहत प्रदान

September 10, 2021 8:30 pm

कनकाई । डेढ महिना अघि दुर्घटनामा ज्यान गुमाएका सुरुङ्गाका विष्ट दम्पतीका परिवारलाई कर्णाली बचत तथा ऋण सहकारी संस्थाले बीमा र राहतवापत ४ लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ ।

कनकाई नगरपालिका, सुरुङ्गामा होटल सञ्चालन गर्दै आएका कर्णाली साकोसका शेयर सदस्य पूर्णबहादुर विष्ट र उनकी पत्नी भीमा विष्टको दमकको चिया बगानमा ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली साकोसले सदस्य बीमावापतको चार लाख रुपैयाँ र उपचार खर्च सहयोग वापत ८० हजार गरी चार लाख ८० हजार रुपैयाँ आज एक संक्षिप्त कार्यक्रमका बीच विष्ट परिवारलाई हस्तान्तरण गरेको हो ।

सुरुंगास्थित एक होटलको सभाहलमा आयोजना गरिएको संक्षिप्त कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईंले उक्त रकम बराबरको चेक दिवंगत दम्पतीका छोरा निशान विष्टलाई हस्तान्तरण गरेकी हुन् ।

कर्णाली साकोसले विष्ट दम्पतीको निधन भएको ४५औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत परिवारलाई राहत रकम प्रदान गरिएको संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले बताए ।

संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले औचित्यमाथि प्रकाश पारेको र शिक्षा उपसमितिका सदस्य देवी थापाले सञ्चालन गरेको सो कार्यक्रममा उपस्थित अतिथिहरुलाई सुरुङ्गा सेवाकेन्द्र उपसमिति सदस्य शान्ताकुमारी अधिकारीले स्वागत गरेकी थिइन् ।

सोही कार्यक्रममा जेष्ठ नागरिक पुण्यप्रसाद बाराकोटी, सामाजिक व्यक्तित्व रविन्द्र लम्साल, ख्याम ओली, विष्णु विमली, जेष्ठ नागरिक समाजका पुण्यप्रसाद बाराकोटी लगायतले दिवंगत विष्ट दम्पतीको मेहनत, कामप्रतिको लगाव एवम् शालीनताको चर्चा गर्दै छोराहरुको उज्वल भविष्यका लागि स्थानीय तह, संस्था र समाजले मिलेर सहयोग गर्नुपर्ने बताए ।

सोही अवसरमा मिर्गौला पीडित शेयर सदस्य कमलबहादुर कार्कीलाई १० हजार रुपैयाँ उपचार खर्च र कोभिड १९ का कारण ज्यान गुमाएका शेयर सदस्य प्रकाशकुमार राई र उनकी श्रीमती सपना लिम्बूको परिवारलाई पनि नगद राहत उपलब्ध गराइएको छ ।

ल्घुवित्त कारोबार गर्ने अग्रणी सहकारीहरु मध्येको एक कर्णाली साकोसले सदैव सदस्य केन्द्रित कार्यक्रमहरु ल्याउने गरेको बताउँदै संस्थाका सचिव भूपाल बस्नेतले सदस्य तथा तिनको परिवारको स्वास्थ्य र शिक्षाका लागि यसै वर्षदेखि थप सुविधाका कार्यक्रमहरु सञ्चालनमा ल्याइएको जानकारी दिए ।

          September 10, 2021 8:30 pm | मुख्य समाचार,राष्ट्रिय समाचार,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: