मेची सहकारीले सुरु गर्यो साधारणसभा प्रक्रिया : गत वर्षको नाफा साढे ८ करोड

August 12, 2021 8:03 pm

पथरी । नयाँ आर्थिक वर्षको सुरुवातसँगै जिम्मेवार सहकारी संस्थाहरु विगतको वित्तीय विश्लेषण गर्न र चालू वर्षका लागि कार्ययोजना बनाउन एवम् कार्यान्वयन गर्न अग्रसर हुन्छन् । यसको सुरुवात झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आजबाट गरेको छ ।

विगत वर्षहरुबाटै संस्थाले साउन २८ गते पत्रकार सम्मेलनमार्फत् साधारणसभाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने र भदौ १२ गते साधारणसभा सम्पन्न गर्ने गरेको छ । यसैको शिलशिलामा आज पथरी सेवा कार्यालयको संयोजनमा वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

संस्थाको पथरी सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक रुद्रबहादुर तामाङको अध्यक्षतामा गरिएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा आव २०७७/०७८ को वित्तीय कारोबार विवरण माथि संक्षिप्तमा प्रकाश पारिएको छ । यस्तै आव २०७८/०७९ को लागि प्रस्तावित नीति तथा कार्यक्रमसहित वार्षिक योजनाहरु पनि सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले सञ्चालन गर्दै आएका सदस्य केन्द्रित कार्यक्रमहरुबारे जानकारी गराएका छन् । विगत वर्षभन्दा फरक कार्यक्रमका रुपमा सदस्यको चौरासी पूजा खर्चवापत ३० हजार रुपैयाँ प्रदान गर्ने वा सदस्यको घरमै गएर मनाउने कुरा उनले जनाए ।

अध्यक्ष भट्टराईले कृषक सदस्यहरुका लागि प्रविधि उपलब्ध गराउने, बचतमा आकर्षक ब्याज दिने, सदस्यलाई ५० लाखदेखि एक करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्ने, सदस्य बिरामी पर्दा उपचार खर्च वापत ५० हजार रुपैयाँ दिने, मृत्यु हुँदा काजकिरिया खर्चवापत २६ हजारसम्म दिने, प्रकृतिक प्रकोपमा परेका सदस्यहरुलाई क्षति हेरेर सक्दो राहत प्रदान गर्ने कार्यक्रमहरु निरन्तर रहेको सुनाए ।

गत असार मसान्तमा मेची सहकारीमा ९ हजार ४८० सेयर सदस्य पुर्याइएको र उनीहरुबाट ३१ करोड १४ लाख दुई हजार ६०० शेयर पुँजी संकलन भएको आज सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । संस्थामा एक अर्ब ९३ करोड ४ लाख १७ हजार ७८० रुपैयाँ निक्षेप रहेको छ भने दुई अर्ब ५० करोड २९ लाख ६४ हजार रुपैयाँ कर्जा लगानीमा रहेको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्षमा ६ करोड ५३ लाख ९२ हजार खुद मुनाफा गरेको संस्थाले समीक्षा वर्षमा ८ करोड ६१ लाख ४० हजार ८५२ रुपैयाँ पुर्याइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी गराए ।

प्रतिवेदनमा फलफूल तथा तरकारी बजार, एग्रो टुरिजमको विकास, युवाहरुमा स्वरोजगारमूलक कार्यक्रम, मेची सन्देश चौमासिक प्रकाशन गर्ने, संस्था २५ वर्ष पुगेको अवसरमा विविध कार्यक्रमहरु गरेर रजत वर्ष मनाउने लगायतको योजना रहेको उल्लेख छ ।

झापाको दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले कमल, बिर्तामोड, गौरादह, शिवसताक्षी, कनकाईमा सेवा केन्द्र बिस्तार गरेको छ । यस्तै, मोरङको उर्लाबारी, मिक्लाजुङ, पथरी र इलामको चुलाचुली गरी प्रदेश १ का तीनवटा जिल्लामा १० सेवा केन्द्रहरु रहेका छन् । निकट भविष्यमा इलामको इलाम बजार, मोरङको बेलबारी, लेटाङ लगायतको क्षेत्रमा नयाँ सेवा केन्द्र विस्तारको प्रक्रियामा रहेको पनि जनाइएको छ ।

२५औं वार्षिकोत्सव तथा २७औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार संयोजक दमक नगरपालिकाका प्रमुख रोमनाथ आलीले मेची बहुउद्देश्यीय सहकारीले सहकारीको मूल मर्म, मूल्य–मान्यता अनुरुप समाजमा सदस्य केन्द्रित रहेर कार्य गरेकोले नै आज यो स्थानसम्म आइपुगेको बताए ।

समुदायमा रहेका ससाना पूँजीहरुलाई संकलन गरी सदस्य र समुदायलाई प्राथमिकतामा राखेर सहकारीको नीति विधिमा आधारित रही सदस्य सेवामा सञ्चालित हुनु नै मेची सहकारीको सफलताको सूचक रहेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा संस्थाको अनुगमन समितिका संयोजक अम्बिकाप्रसाद खनाल, अग्रज पत्रकार तथा राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य माधब बिद्रोही, पथरी सेवा कार्यालय व्यवस्थापन समितिका संयोजक रुद्रबहादुर तामाङले आ–आफ्ना भनाई राखेका थिए । पत्रकार सम्मेलनको सञ्चालन संस्थाका सचिव राजेन्द्र दाहालले गरेका थिए ।

          August 12, 2021 8:03 pm | अर्थतन्त्र,मुख्य समाचार,लोकप्रिय,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: