भद्रपुरस्थित कोरोना विशेष अस्पताल फोहोरले पुरियो

May 19, 2021 4:35 pm

भद्रपुर । भद्रपुरस्थित मेची अस्पतालको मातहतमा रहेको कोरोना उपचार केन्द्र व्यवस्थापकीय कमजोरीले दुर्गन्धित भएर बस्न नसकिने भएको छ । उपचारका लागि अस्पताल पुगेका विरामीले भिडियोमार्फत फोहोरको डंढुरले भरिएको अस्पतालको दृश्य सार्वजनिक गरेका हुन् ।

कोभिड–१९ संक्रमणले सिकिस्त भएका बिरामी मात्र उपचारका लागि पुग्ने गरेको कोरोना विशेष अस्पताल व्यवस्थापकीय लापरवाहीले दुर्गन्धित हुँदा बस्न नसकिने अवस्थामा पुगेको विरामीहरूको गुनासो छ ।

अस्पतलमा रहेका बिरामीहरूका अनुसार कोभिड–१९ उपचार अस्पतालमा यत्रतत्र फोहोरको थुप्रो लागे पनि सरसफाई गर्ने व्यवस्था छैन । विरामीहरूका लागि खाने, बस्ने व्यवस्थापन पनि कमजोर छ । फोहोर सफा गर्न आवश्यक कुचो, झाडु, साबुन समेतको प्रबन्ध नभएको उनीहरुको गुनासो छ ।

शौचालय पनि दुर्गन्धले भरिएको छ । रोगको कारणभन्दा अस्पताल भित्रको फोहोरले छिटो मर्नु पर्ने हो कि भन्ने त्राससमेत उत्पन्न हुन थालेको त्यहाँ उपचाररत विरामीहरूले सामाजिक सञ्जालमा दुखेसो गरेका छन् ।

यस सम्बन्धी यथार्थ बुझ्न अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. पिताम्बर ठाकुर र व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलसँग फोन सम्पर्कको प्रयास सम्भव हुन सकेन ।

          May 19, 2021 4:35 pm | मुख्य समाचार,राष्ट्रिय समाचार,लोकप्रिय,समाज,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: