कोरोनाको कहर, निषेधाज्ञा र नेता


पछिल्लो समय कोरोना कहरले गर्दा विकसितदेखि विकासोन्मुख प्रायः सबै देशको जनजीवन प्रभावित छ । विकसित देशमै नकारात्मक प्रभाव भइरहेको बेला नेपाल त छुट्ने कुरै भएन । वि. सं. २०७२ सालको भुकम्पबाट क्षति पुगेका भौतिक संरचनाहरु पुनःनिर्माण गर्ने, विकासको गतिलाई सार्थक पार्ने शिलशिलाकै बीचमा कोभिड–१९ को तीब्र संक्रमणले झन् जोखिम बढाइदिएको छ । कोरोनाको कारण आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिकजस्ता विविध क्षेत्रमा संकट सिर्जना गरिदिएको छ ।

हिजोआज कोरोना संक्रमणका कारण नेपाली जनताहरु दिन प्रतिदिन मृत्युको शिकार बनिरहेका छन् । मृत्युको कारण कोरोना नै हो । कोरोना पोजेटिभ भए पछि शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले धेरैलाई समस्या भएको छ । तर अस्पतालमा पनि अक्सिजन नपाएर वा त अस्पतालबाट उपचार नै नपाएर मृत्युको कारण बनिरहेका छन् । आफ्नो ठाउँमा अस्पतालको अभावको कारणले गर्दा मानिसहरु ज्यान गुमाउन विवश छन् । दिनदिनै मृत्युका खबरहरु सुनिरहनु परेको छ, हेरिरहनु परेको छ ।

यस्तो बेलामा आफूले भोट दिएर जिताएका जनप्रतिनिधिको भूमिका पनि जाँच्ने अवसर मिलेको छ । जनताको मत पाएर संसद भवन छिरेका नेताहरुलाई आफ्नै जिल्लामा कोरोनाले कतिको ज्यान लिइसक्यो, जनजीवनमा कस्तो असर गरेको छ, थाहा पनि छैन कि ? अथवा थाहा भएर पनि थाहा नपाएजस्तो गरेका हुन् ? अनि घरआँगमै भेटिने पालिकाका जनप्रतिनिधिहरु कोभिडले अक्रान्त आफ्ना मतदाताको घाउमा मल्हम लगाउन जुटे कि छैनन् ? प्रत्यक्ष भेट्न सम्भव नहुने कोरोना महामारीमा फोन गरेर, दूरी कायम गरेर वा सामाजिक सञ्जालबाट नै किन नहोस्, संक्रमितहरुलाई अपनत्व दर्शाए या थाहा नपाएजस्तो गरे ! आजको अहम् प्रश्न हो यो ।

पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म फैलिएको नेपालले धेरै नेता जन्मायो तर संकटको बेला रोगसँग छट्पटाइरहेका बिरामीहरुलाई सहयोग गर्ने नेता कमै मात्र जन्माएको पाइयो । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल कोरोना संक्रमितको परिवारमा डाक्टरसहित पुगेर अवस्था बुझ्छन्, जाँच गराउँछन् र केही पोषिलो खानेकुराको व्यवस्थापन गर्छन् । तर छिमेकी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरु कोही कसैको दुःखमा फोन मार्फत् सान्त्वना पनि दिँदैनन् । यो परिदृश्यलाई एकैछिन नियाल्ने हो भने अनेकतामा एकता भन्ने कुरा साँच्चै कतै छ कि जस्तो भएको छ ।

प्रसङ्ग मेरो जिल्ला इलामतर्फ मोडौं । आठ अ को जिल्लाले चिनिने इलाममा अहिले कोरोनाले मृत्यु हुने संख्याको बढिरहेको छ । इलामले मुलुकको प्रधानमन्त्री जन्मायो । यहाँको संघीय प्रतिनिधिले पटकपटक सभामुखको कुर्सी पायो । इलामले थुपै नेताहरु जन्मायो, जो पटकपटक सांसद र मन्त्रीहरु बने । तर आज कोरोनाको कहरमा मृत्युको मुखमा पुग्नबाट बचाउने प्राणवायु ‘अक्सिजन’ उपलब्ध गराउन सक्ने ‘जनताको मान्छे’ इलामले पाएन । यद्यपी मृत्यु हुनेहरुलाई घाटसम्म पुर्याउनको लागि गाडीको व्यवस्था गर्ने स्थानीय सरकार चाहिँ पक्कै पाएको रहेछ । ‘सुखी नेपाली समृद्ध नेपाल’को आधारस्तम्भ जनप्रतिनिधिहरुको यो रवैयालाई कसरी विश्लेषण गर्न सकिन्छ ? विज्ञहरु नै ब्याख्या गरुन् ।

सत्ता र कुर्सीको लागि मात्रै होइन, एकपटक नेपाली जनतालाई पनि पछाडि फर्केर हेरौं । जनता बाँचे कुर्सी पनि बाँच्छ नेताज्यू । चुनावको बेलामात्रै गाउँमा गगन चुम्ने भाषण लगाउने तर आफ्नै गृह जिल्लामा एउटा राम्रो अस्पतालसमेत बनाउन नसक्ने तपाईहरु प्रति जनताले सधैं कसरी विश्वास गर्ने ? स्वास्थ्य उपचारको लागि एक जिल्लाबाट अर्को जिल्ला धाउनु पर्ने बाध्यता छ । यस्तो स्थितिमा देशभर लगाइएको निषेधाज्ञाले उपचार गर्न अस्पतालसमेत जान नपाएर अझै कत्तिले ज्यान गुमाउनु पर्ने हो ? अस्पताल, आइसोलेशन, अक्सिजन, भेन्टिलेटर, आइसियुनको उपलब्धताले मात्रै कोरोना पराजित गर्नुपर्ने बाध्यतालाई आत्मसाथ गर्ने कोही जनप्रतिनिधि हुनुहुन्छ भने अबका दिनमा पक्कै तपाईंले साथ पाउनु हुनेछ । नत्र कोरोनाको जोखिम घटाउन गरिएको निषेधाज्ञाजस्तै आउँदा चुनावमा तपाई आउने बाटोभरि मतदाताले निषेधाज्ञा नगर्लान् भन्न सकिन्न ।

          May 19, 2021 4:20 pm | विचार/ब्लग

प्रतिकृयाहरू :

समाचारहरु: