संक्रमण पढ्दा वर्तमान होइन इतिहास पनि समेटिन्छ

February 11, 2021 11:30 am

गत माघ १० गते बिर्तामोडमा एउटा भव्य समारोहका बीच झापाका तीनजना साहित्य सर्जकका तीनवटा कृतिहरु एकसाथ विमोचन गरियो । प्रगतिशील लेखक संघ झापाले आयोजना गरेको उक्त कार्यक्रममा संघका जिल्ला अध्यक्ष राजेन्द्रकुमार संग्रौलाको संक्रमण, निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराईको बोझे इन्स्पेक्टर र प्राज्ञ यज्ञराज प्रसाईको अवचेतनभित्रको एउटा पात्र कृतिको विमोचन गरिएको थियो । उक्त कृतिहरुबारे कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका निवृत्त सहप्राध्यापक चूडामणि वाशिष्ठले संक्षिप्त समीक्षा प्रस्तुत गर्नुभएको थियो । उहाँले गर्नुभएको कृति समीक्षा अन्तरगत आजको पालो संक्रमण उपन्यासको परेको छ । (सं)

विषयवस्तु

सङ्क्रमण उपन्यासको मुख्य विषयवस्तु कोरोना सङ्क्रमण वा ब्याधी र त्यसबाट उत्पन्न सन्त्रास हो । वर्तमान कोरोनाको महामारीले सम्झाएका विगतका प्लेग, बर्डफ्लु, स्वाइनफ्लु, ठेउला, मलेरिया, विफर, निमोनिया, रगतमासी आदि महामारी पनि उपन्यासका कथावस्तु बनेका छन् । विगतका ती विफरजस्ता महामारीमा रोगीलाई घरबाट बाहिर जान नदिने, एक गाउँका मान्छे अर्को गाउँमा नजाने नआउने, झुत्ती गाड्ने, थारो बाँध्ने गर्थे त्यो पनि लकडाउन नै रहेछ भन्ने कुरा संक्रमण पुस्तकका सर्जकको ठम्याई छ ।

मूल विषय कोरोना भएपनि नदीले किनारा लपेटे झैं उपन्यासको कथावस्तुले लेखकको जीवनी, इतिहास, देशको राजनीति, शासकहरुको चरित्र, वैदेशिक रोजगारीले निम्त्याएका विकराल समस्याहरु, देशमा भ्रष्टाचारका भाइरसको संक्रमण, लेखकका जीवनमा भएका घटना दूर्घटना, बाल मनोविज्ञान, सन्त्रास मुक्त कोरोना मनोविज्ञान, वनको बाघले भन्दा मनको बाघले जीर्ण बनाएको अवस्था, हाम्रो मृत्यु संस्कार, धामी झाँक्री, बोक्सी, भाकल आदिजस्ता विश्वास र परम्परा, बहुविवाहले निम्त्याएका समस्या, महायुद्धहरुले निम्त्याएका नरसंहार आदि विषय सहायक विषयवस्तुका रुपमा आएका छन् ।

आज हाम्रो देशका युवाहरु संसारभर छरिएर रहेका छन् । छोराबुहारी बेलायत, छोरी ज्वाइँ अमेरिका, भाइ भतिज युरोपका विभिन्न देशहरुमा पढ्न खोजी खान पुगेका छन् । अझ धेरै संख्यामा त खाडी राष्ट्रमा रगत पसिना बगाउँदै छन् । भारतमा कामदारको रुपमा जानेहरुको त कुनै लेखो छैन । कोरोनाले संसार लपेटेको बेलामा बुढा आमावुबालाई सन्तानको चिन्ता छ भने विदेशिएका युवाहरुलाई आमावुबाको पीर औडाई छ । आफ्नो देशमा भरपर्दो उपचार छैन, कानून बलियो छैन, सुरक्षा छैन, व्यापारिक शिक्षाले चरम शोषण गरिरहेको छ, सरकार तमासे छ भन्ने कुराले पिसोल्टिएका छन् विदेशिएका छोराछोरीहरु पनि । संक्रमण उपन्यास भित्र यी र यस्ता अनेकन सन्दर्भहरु उल्लेख छन् ।

छ–आठ महिनालाई खाद्यन्नको जोहो गर्नु, घरबाट ननिस्किनु, के खान के नखान, के गर्नु नगर्नु भनेर हजुरबाले नातिलाई सिकाए अह्राए झैं नाति नातिनाले बुढा बा आमा हजुरआमाहरुलाई फोनबाटै सिकाइरहेका छन् । उपन्यासमा माओवादी द्वन्द्वकालीन घाउका पाप्रा उप्काउने काम पनि भएको छ । लेखकले इन्डियाको मथुरा, गोकुल, आग्रा, दिल्लीजस्ता स्थानमा गरिएका भ्रमणको संस्मरण गरिएको छ । र, त्यो भिडमा कोरोना संक्रमण हुँदा कस्तो बित्यास पर्ला भन्ने कहाली लाग्दो कल्पना पनि गरिएको छ ।

कोरोनाको आत्तेसमा हुनेखानेहरुले छ–आठ महिनाको निम्ति खाद्यान्न इन्धन आदि जम्मा गरे, तर दैनिक गुजारा गर्नेहरुको कुन हविगत होला भन्दै तिनका मानसिक विवशतामा डिग्रीलाउने काम पनि उपन्यासमा गरिएको छ ।

२०६३ सालमा बित्नु भएका पिताजीसँग २०५६ सालमै अन्तिम भेट भएको कारुणिक घटनालाई पनि उपन्यासमा समावेश गरिएको छ । डायरी लेखे झैं संस्मरणत्मक शैलीमा लेखिएको यस उपन्यासको मियो कोरोना भए पनि समसामयिक धेरै विषयवस्तुको फेरीमा उपन्यास घुमेको छ ।

पात्र विधान

यस उपन्यासको मुख्य पात्र उपन्यासकार स्वयम् रहेका छन् । कोरोनाको हल्ला चलेपछि उपन्यासकारमा अनिश्चित भयानक त्रासको हुण्डरी चलेको छ । उनमा खोकी लाग्ने, ज्वरो आउने, रिंगटा लाग्ने, पखाला चल्ने, जीउ दुख्ने आदिजस्ता लक्षण पनि देखापरेका छन् । तर उनले स्वाब परीक्षण गर्ने काम क्वारानटेन बस्नुपर्ने डरले गरेनन् । उनलाई कोरोना भएकै हो वा कोरोना मनको बाघले घाइते बनाएको हो ? उपन्यासमा स्पष्ट छैन । उनी आफ्नै घरको एउटा कोठामा एक महिना एकान्तवास बसेका छन् । विदेशिएका आफन्तहरुका चिन्तामा छन् । यही एकान्त गुप्तवासको समयमा यो उपन्यास तयार भएको छ । उपन्यासकार मरिन्छ कि भन्ने डरले धेरै सताइएका छन् ।

आँखै अगाडि भाइ बहिनी बितेको सम्झिन्छन् । ऋण धनको हिसाव डायरीमा टिप्छन् । बैंकको हिसाब टिप्छन् बालककालमा पोखरीमा डुवेर झण्डै मरेको, स्कूल जाँदा बाघले झण्डै बिताएको, साधु सन्त जोगीका कुरा सुनेर बाँसघारीमा भोकै रातभरि तपस्या गरेको रगतमासीले भेट्टाएर केटाकेटीमै कालको मुखैबाट फर्किएको आदिजस्ता कुरा स्मरण गर्न पुग्छन् । मोवाइलको भिडियो कल, फोन, टेलिभिजनका समाचारको अत्याधिक प्रयोग भएको छ । फोनकै कुराकानीले उपन्यासको कथावस्तु अगाडि बढेको, मिडियाहरुका समाचारले सन्त्रासलाई बढाएको छ ।

दोस्रो पात्रको रुपमा उपन्यासकारकी आमा हुनुहुन्छ । लेखकका वाल्यकालका कुरा उहिलेका रोग व्याधिका कुरा, घरको पुख्र्यौली विवरण आदि सबै आमाको मुखबाट बोलाइएको छ । लेखकले उनी भनेर सम्बोधन गरेका उपन्यासकारकी श्रीमतीले उपन्यासको कथावस्तुलाई अगाडि बढाउन सहयोग पुर्याउनु भएको छ । बाँकी केटाकेटी, दैनिक फोनगर्ने आफन्त, छिमेकी, कामदार आदि यथार्थ पात्र उपन्यासका रसिला चखिला पात्र छन् ।

यिनले दोस्रो विश्वयुद्धको वर्णन गर्दै प्रत्यक्ष प्रशारण नै गरेका छन् । अरुलाई दिँदा छ माने पाथीले आफ्ले लिँदा आठ माने पाथीले लिने उहिलेका पहाडका साहुहरु पनि वर्णनकै क्रममा देखापरेका छन् । हजुरबा हजुरआमाहरु पनि वर्णन कै रुपमा देखापर्नु भएको छ । उहाँहरुको निधन कसरी भयो भन्ने घटना आमाले फोनबाट सुनाउनु भएको छ ।

परिवेश

यो उपन्यास २०७६ चैत्र १० गते सुरु भएर २०७७ बैशाख ११ गते समाप्त भएको छ । यही ३१ दिन नै उपन्यासको कालखण्ड हो । उपन्यासले ओगटेको भूगोल– तेह्रथुम, झापा, असमको ढिकियाचुली रहेको छ । यसमा पनि मुख्य केन्द्रविन्दु चाहिँ झापाको बिर्तामोड, बिर्तामोडको पनि उपन्यासकारको घर नै रहेको छ । संसारलाई निल्न मुख बाइरहेको कोरोना व्याधीको त्रास भएको यसको खास परिस्थिति हो । कोरोनाले ल्याएको सन्त्रासयुक्त मनोविज्ञानको प्रस्तुति उपन्यासको उद्देश्य बनेको छ ।

संरचना

२०० पृष्ठको यो उपन्यास, पहिलो दिनदेखि ३१ दिनसम्म ३१ वटा खण्डमा विभक्त छ । छोटा–छोटा खण्ड भएकोले पढ्न सुगम सहज बनेको छ । पढ्दै जाँदा यो उपन्यास हो कि, डायरी लेखन हो कि ? आत्म संस्मरण पो हो ? जस्तो लाग्छ । उपन्यासकारका अन्य छ वटा उपन्यास भन्दा यो बेग्लै प्रकारको छ । लेखन शैली सीप पनि फरक छ । सहज सरल भाषाले गर्दा उपन्यास पठनीय छ । नौलो किसिमको प्रस्तुुति यस पुस्तकको विशेषता बनेको छ ।

          February 11, 2021 11:30 am | शिक्षा,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: