
झापामा नयाँ प्रविधिबाट कालोपत्रे गर्ने कार्य शुरु

विर्तामोड । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) अन्तरगत झापाको चारपाने–राजगढ सडक खण्डमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ । गुणस्तरमा आधारित मर्मत सम्भार (पीवीएम) पद्धतिबाट कालोपत्रे गर्न शुरु गरिएको हो ।नेपालमा पहिलोपटक यो प्रविधि अपनाएर सडक निर्माण थालिएको संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले जानकारी दिए ।
नयाँ प्रविधिबाट सडकको कालोपत्रे गर्न शुरु गरिएसँगै सडक स्तरीय हुने विश्वास व्यक्त गरिएको छ । दक्षिणी झापाको बाह्रदशी गाउँपालिकास्थित राजगढबाट सडकको कालोपत्रे गर्ने काम शुरु गरिएसँगै संघीय सांसद लिङ्देन, बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीसहितको टोलीले सडकको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा निर्माण व्यवसायीले गुणस्तरीय काम गरेको पाइएको अध्यक्ष राजवंशीले बताए । अन्य प्रविधिको सडक भन्दा पीवीएम पद्धतिले सडक कालोपत्रे गर्दा सडक मजबुत हुने निर्माण व्यवसायी केदार गिरीले जानकारी गराए । एशियाली विकास बैंकको १९ करोड ५४ लाख ४७ हजार ३४२ रुपैयाँको लागतमा चारपाने–राजगढ सडकखण्ड निर्माण भइरहेको छ । सडक निर्माणका लागि कञ्चन निर्माण सेवाले काम गरिरहेको छ ।
सडकको १५ दशमलव ४८ किलोमिटर लम्बाइ रहेको छ भने सडकको चौडाइ साँढे पाँच मिटर रहेको छ ।सडक निर्माणको काम सकिन नपाउँदै बिग्रने समस्या नेपालका लागि नयाँ होइन । निर्माणको काम सकिँदा नसकिँदै खाल्टाखुल्टी पर्ने र भत्किने समस्याले सबैलाई आजित पारेको बेला देशमै पहिलोपटक नयाँ प्रविधि अपनाएर सडक निर्माण थालिएको झापा क्षेत्र नम्वर ३ बाट निर्वाचित सांसद लिङ्देनले बताए ।
ठेकेदारको लापरवाही, कमसल निर्माण सामग्री प्रयोग र पुरानो प्रविधि अँगाल्दा शहरी र ग्रामीण क्षेत्रमा निर्मित सडक काम सकिएको केही समयभित्रै बिग्रिने समस्या व्याप्त रहेको बेला पहिलोपटक पीवीएम पद्धतिबाट नेपालका १६ जिल्लाका ग्रामीण सडकलाई स्तरोन्नति गर्न लागिएको हो ।
November 29, 2020 10:49 am | मिडियाबाट साभार,मुख्य समाचार,स्थानीय तह
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

Mexico’s president says he’s tested positive for COVID-19

सलमानकी नयाँ प्रेमिका प्रज्ञा

शिवसताक्षीको झिलझिलेमा युङ्गी क्याफे सञ्चालनमा

बुधबारदेखि प्रदेश १ मा पनि कोरोनाविरूद्ध खोप लगाइने

काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

सुन तोलाको २ सय रूपैयाँले सस्तियो

मतदाता अद्यावधिकको काम शुरु
