संजिवनीको साधारणसभा सम्पन्नः शेयरधनीलाई ७ प्रतिशत लाभांश र ३ प्रतिशत संरक्षित पूँजी वितरण गरिने

October 17, 2020 4:00 pm

बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा आयोजित साधारणसभाको प्रमुख आतिथ्य झापा जिल्ला सहकारी संघ लिमिटेडका सचिव युवराज ढकालले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले टावर सहकारीको तुलनामा संजिवनीको प्रगतिलाई कम आँक्न नमिल्ने बताए । जिल्लामा दर्ता भएका ९०० भन्दा बढी सहकारीहरु र क्रियाशील ७०० हाराहारी सहकारीमध्ये संजिवनीले सदस्यलाई प्रवाह गरेको वित्तीय सेवा प्रभावकारी रहेको भन्दै प्रमुख अतिथि ढकालले सराहना गरे । सहकारीको माध्यमबाट समाज रुपान्तरण र सदस्यको प्रगति उन्नतिमा संजिवनीको योगदान देखिने गरी भइरहेको उनको कथन छ ।

जिल्ला संघका सचिव ढकालले सहकारी ऐन २०७४ मा ५ प्रकृतिका सहकारी बनाउने र एक सदस्य एक प्रकृतिको सहकारी कार्यान्वयन गर्ने बताए पनि आज तीन वर्ष पूरा हुँदा पनि सफल नहुनुमा को दोषी छ भनी प्रश्न गरेका छन् । अझै पनि २८ वटा प्रकृतिका सहकारी क्रियाशील रहनुले आजबाट एक सदस्य एक सहकारी कार्यान्वयनमा ल्याउन विभागलाई पनि समस्या रहेको उनको आशय थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष चुडालले संस्थाको प्रतिवेदन माथि सदस्यहरुले उठाएका जिज्ञासाहरुको सम्बोधन गरेका थिए । गत असोज ५ गतेदेखि २० गतेसम्म एक हजार १९३ जना शेयर सदस्यले वार्षिक प्रतिवेदन बुझेर लगेका थिए । तीमध्ये केही सदस्यहरुले लिखित सुझाव दिएको अध्यक्ष चुडालले जानकारी गराए ।

संस्थाले आफ्ना सदस्यहरुलाई ७ प्रतिशत शेयर लाभांश र ३ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । सहकारी विभाग, मन्त्रालय र अभियानको छाता संस्थाले तय गरेको अधिकतम ब्याजदर १४ दशमलव ७५ प्रतिशतलाई कात्तिक १५ देखि नै पूर्ण कार्यान्वयनमा ल्याउने बताउँदै अध्यक्ष चुडालले कोरोना कहरका कारण चालू वर्ष ऋणमा लाग्ने हर्जाना नलिइने घोषणा गरेका छन् ।

यसैगरी गत आर्थिक वर्षका लागि निर्धारण गरिएका कतिपय कार्यक्रमहरु कोरोना महामारीका कारण सम्पन्न गर्न नसकिएको तथा अझै पनि अवस्था प्रतिकूल नै रहेकाले समयले साथ दिएसम्म कार्यान्वयन गर्दै लैजाने अध्यक्ष चुडालले प्रतिवद्धता जनाएका छन् ।

संजिवनीका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गरेको साधारणसभा समारोहमा आमन्त्रित अतिथि, शेयर सदस्यहरु एवम् सहभागीहरुलाई संस्थाका उपाध्यक्ष दिनेशकुमार सुवेदीले शब्दद्वारा स्वागत गरेका थिए ।

          October 17, 2020 4:00 pm | अर्थतन्त्र,मुख्य समाचार,सहकारी
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...