२०८० फागुन ११, शुक्रवार , १०:३८:३९ बजे

Sajhamanch
'

दिल्ली हिंसा: ज्यान गुमाउने १३ पुगे, डेढ सय बढी घाइते

बुधवार, फागुन १४, २०७६

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि भएको प्रदर्शन भड्किँदा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

झडपमा परी डेढ सयभन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ठूलो मात्रामा निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

संशोधित नागरिकता ऐनविरुद्ध स–साना झडपका बीच आइतबार प्रदर्शन शुरु भएको थियो । यसले सोमबार कतिपय स्थानमा साम्प्रदायिक (हिन्दु–मुस्लिम) रूप लियो । यस क्रममा जीउधनको क्षति भएको छ ।

मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बनेको थियो । प्रदर्शनकारी बिहानैदेखि सडकमा आएका थिए । दुवै पक्षबीच ढुंगा हानाहान भयो । घर, पसल तथा सवारीसाधनमा आगजनी गरिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस र गोली समेत हानेको छ ।

घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध गरिएएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल लगिएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ ।

परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न केन्द्र सरकारका गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजाललाई भेटेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो ।

लगत्तै जफरावाद, खजुरी खास, भजनपुरा, मौजपुरलगायत हिंसा प्रभावित क्षेत्रमा मंगलबार साँझ अर्धसैनिक बलका टुकडीहरूले मार्च गरेका थिए । त्यसपछि भने परिस्थिति सामान्य बन्दै गएको बताइएको छ । उत्तरपूर्वीका दिल्लीका सबैजसो भागमा संविधानको धारा १४४ लगाइएको छ, जसअनुसार चार जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन पाइँदैन ।

बुधवार, फागुन १४, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर