२०८० फागुन २२, मङ्गलवार , ०५:३०:३१ बजे

Sajhamanch
'

हाम्रा पिताजीले छाडेर गए पनि उहाँका सुकीर्तिहरु जीवित छन्

बिहिवार, फागुन ८, २०७६

आज फागुन ८ गते, हाम्रा पिताजी पण्डित तोयानाथ रिमालको देहावसान भएको १२औं पुण्यतिथी । २०७६ माघ २६ गते पूर्णिमाको दिन उहाँको असामयिक निधन भयो । आफ्नो सहोदर कान्छो भाइको देहावसान भएको छैटौं दिन उहाँको पनि धामगमन भयो । आफूभन्दा २ वर्ष फरकको कान्छो भाइको देहावसान भएको पाँचौं दिन आफ्नै सहोदर मामाको छोरा बालसखा, सँगसँगै व्यासमा रहेर भागवत प्रवचन गर्ने साथी, मनभित्रको एउटा प्रियमित्र पण्डित सूर्यकुमार सुवेदीको पनि हृदयघातको कारण यो धराधामबाट विदा लिनुभयो । यी सबै झेलिरहनु भएका पिताजी पनि त्यसैको भोलिपल्ट प्रातकालमा आफ्नो ओछ्यानमा सुतिरहेका बेला धामगमन हुनुभयो । रिमाल परिवार र सुवेदी परिवारमा एकै हप्तामा भएको यस्तो अकल्पनीय एवम् हृदयविदारक घटना सुन्ने सबैजसोको मनमा च्वास्स पोल्छ । हामी सन्तानहरुको अवस्था कस्तो भइरहेको होला, तपाई सबैले अनुभूत गर्न सक्नुहुन्छ ।

माताजी दमयन्ताको स्वर्गवास भएको नौ वर्ष भैसकेको थियो । तथापी हामीलाई माताजीको जस्तै स्नेह, माया, प्रेममा कमी हुन नदिई हाम्रो मनलाई अझ दरिलो र बलियो बनाएर हिंड्न सिकाइदिनु भयो । नैतिकता, आदर्श, संस्कृति हाम्रो पहिचान हो, यो तिमीले कहिल्यै नबिर्सनु भनेर सम्झाउने गर्नुहुन्थ्यो । आफन्त, इस्टमित्र र कूलकुटुम्व भित्र वैरभाव होइन, मिलन हुनपर्छ भनी हामीलाई सधै सम्झाउने गर्नुहुन्थ्यो । पिताजी भन्नुहुन्थ्यो, गल्ती गर्नु हुन्न, गल्ती नगरे डराउनु पर्दैन भनेर आफू, घर परिवार, गाउँ टोल अनि सिङ्गो राष्ट्र नै अनुशासित बनेको हेर्न चाहनुहुन्थ्यो । आपm्ना जीवनका कालखण्डमा आफ्नो जीवनलाई एउटा सभ्य जीवनशैली अपनाउँदा अपनाउँदै यो संसारबाट विदा हुनुभयो । इलामको नामसालिङबाट लिएर हिंडेको आफ्नो कमाईको १६०० रुपैयाँले पिताजीले हामीलाई यतिसम्मको व्यवस्थापन गरेर जानु भएको छ । माताजीलाई गुमाएको असह्य पिडाको घाउ सुक्दानक्दै श्रद्धेय पिताजीले पनि हामीलाई छोडेर जानुभयो ।

पिताजी तपाईको वैकुण्ठमा बास होस् । तपाईले गरेका सत्कर्म र सत्विचार हामी परिवारले सधैं अनुशरण र अनुग्रहण गरिरहने छौँ । तपाइले सिकाएको बाटोलाई कदाचित बिर्सने छैनौं । तपाइले दिएका मार्गदर्शन हाम्रा लागि जन्म घुँटी बनेका छन् । तपाइले छोडेर गएका अधुरा सपनाहरु केही मात्रामा भए पनि हामी पूरा गर्नेछौँ । मन दुखेको छ, भक्कानिएको छ, एक्लिएको महसुस भएको छ । तथापि यो नियति रहेछ, तपाई पिताजी माताजीको तस्विरलाई सधैं आँखाका नानीमा राखेर तपाइहरुको विचारलाई शिरमा राखेर हिंड्ने संकल्प लिएको छौँ । जानुहोस् पिताजी वैकुण्ठमा जानुहोस् हामी तपाइले दिएको बाटो बिराउने छैनौ, समाजलाई छोडेर जानुभएको सबै कुराहरुको उत्तराधिकारी हामीको अगाडि सधैं अटल भएर उभिनेछौँ । जसरी तपाई हाम्रो अगाडि एउटा सिङ्गो तस्विरमा उभिनु भएको छ ।

व्यक्तित्व र किर्तीत्व

इलाम जिल्लाको नामसालिङ २ मा जयधर्म उपाध्याय रिमाल र चन्द्रकला देवीका साहिँला छोराका रुपमा हाम्रा पिता तोयानाथ रिमालको जन्म भएको थियो । वि. सं. १९९० साल चैत्र २० गते जन्मनु भएका उहाँ डेढ वर्ष उमेर नपुग्दै र कान्छो भाइ आमाकै गर्भमा ८ महिनाको हँुदा पिताजी जयधर्मको स्वर्गवास भएको सुनाउनु हुन्थ्यो । जयधर्म–चन्द्रकलाका ४ छोरा र २ छोरी थिए ।  बुबाको देहान्त हुँदा आमा चन्द्रकला २८ वर्षको मात्र हुनुहुन्थ्यो । त्यो उमेरमा विधवा हुनु र ६ जना छोराछोरीलाई पालनपोषण पठनपाठनको जिम्मेवारी आमाको काँधमा आउनु एउटा ठूलो चुनौती थियो । समयको गतिसँगै ठूलोबुवा, फुपूहरु, काका पनि बिस्तारै हुर्कंदै जानुभयो ।

हाम्रा पिताजी सात वर्षको हुनु भएपछि स्थानीय ढकाल परिवारको पहलमा दार्र्जीलिङबाट शिक्षक ल्याएर गोप्यरुपमा अंग्रेजी शिक्षाको पठनपाठन शुरु भयो । राणा शासनकालमा जनताका छोराछोरीले अंग्रेजी पढ्न होशियारै रहनु पथ्र्यो । त्यस्तो चुनौतीको बावजुद पनि हजुरआमाले पिताजीलाई त्यहीँ पढ्न पठाउनु भएछ । समय परिस्थितिले होला, ती शिक्षकले लामो समय पढाउन सकेनन्, एक दुई वर्ष पढाए र विदा भए । बुवाहरुको पढाई रोकियो । ढकाल परिवारले चाहिँ आफ्ना बुबाहरुकै पालादेखि दार्जीलिङतिर गएर पढ्ने भएको हँुदा छोराछोरीहरुलाई उतै पढाउनु भएछ । हाम्रो बुबाको जाने हैसियत नहुँदा पढाई रोकिएको सुनाउनु हुन्थ्यो ।

८ वर्षको उमेरमा ब्रतवन्ध गरेर गाउँकै पुरोहितहरुले गाउँमै स्कूल स्थापना गरेर पढाउन थाल्नुभएछ । २००१ साल, उहाँ ११ वर्षको उमेरमा पुग्दा त्यही पढ्न शुरु गर्नुुभएछ । पहिला चण्डी, रुद्री, वेद, ज्योतिष, अमरकोष, अंक गणित, अग्नि स्थापना, कर्मकाण्डसमेत सकेर त्यहाँबाट विदा हुनुभएछ । व्याकरण पढ्नुपर्ने भयो । त्यहीँ गाउँकै पण्डित पर्शुराम गुरागाईले व्याकरण पनि पढाउनु हुन्छ रे भन्ने सुनेपछि हाम्रा बुबा पनि त्यहाँ पढ्न जानुभएछ । व्याकरण थोरै मात्र याद गरेका गुरु रहेछन् । ३ महिना जतिमा उहाँले पढाउने पाठ सकिएछ । बुबाले त्यहाँबाट विदा लिनु पर्ने भएछ । तर त्यसबेलाको समितिले बुबालाई विदा दिनुको साटो गुरुलाई नै विदा दिएछन् र बुबाले त्यहीँ पढाउनु पर्ने भएछ । आफूले धेरै पढ्न बाँकी छ भन्ने सोचेर त्यहाँ केही समय पढाएपछि बुवाले विदा लिनुभएछ र इलामकै सुम्वेक भन्ने गाउँमा माङदिंगे भण्डारी गुरु जो व्याकरणका प्रख्यात विद्वान हुनुहुन्थ्यो, उहाँसँग लघु कौमुदी पढ्न शुरु गर्नुभएछ । एक डेढ वर्ष पढेपछि त्यहाँबाट फेरि विदा लिनुभएछ । पढ्ने ठाउँ खोज्दै शान्तिनगरको देवानछाप आइपुग्नुभएछ । केही सपय पढाएर घरमा आउनु भएको बेला परिवारमा विवाहको कुरा चलेछ ।

आफू पनि १८ वर्ष पुगेपछि अव विवाह गर्नुपर्छ भन्ने सल्लाह अनुसार इलाम बिक्री भन्ने गाउँका खतिवडा परिवारका पुण्यप्रसाद उपाध्याय खतिवडा तथा पवित्रा खतिवडाकी जेठी सुपुत्री १२ वर्षकी दमयन्तासँग २००९ साल फाल्गुनमा विवाह बन्धनमा बाँधिनुभएछ । तत्पश्चात त्यहीँ ठाउँको माङचोक गाउँमा स्कूल खोलेर पढाउन सुरु गर्नुभएछ । २०१४ सालमा मैतालु ल्याएपछि १ वर्ष घरको काम र पढाउने काम गर्दागर्दै आफूलाई फराकिलो ठाउँ चाहिने अवस्था बुझेपछि स्कूलबाट राजीनामा दिएर सदिया आसाम जाने निश्चय भएछ । आफूसँग लिएर जाने खर्च धेरै थिएन । तिनै पढाउँदाका पैसा जम्मा १६०० भएको रहेछ । त्यही नगदको आँट भरोसामा आफ्नी श्रीमतीलाई लिएर सदिया प्रस्थान गर्नुभएछ ।

गन्तव्य टाढा, साथमा खर्च पनि कम्ती नै, आफ्नै पनि कलिलो उमेर, परदेशको हिँडाई । यी सबै कुराले पिरोल्दा पिरोल्दै पनि आफ्नो अन्तिम गन्तव्यको खोजीमा पिता माताका पाइला परदेशतिर लागेछन् । यहाँबाट हिडेर नक्सलबारी, त्यहाँबाट बसमा चढेर सदिया ४ दिनमा पुग्नु भएछ । सदियाको चलन देखेर मन भरङ्ग भएछ । आतेश लागेछ । जंगलामुलुक, कहिल्यै दुःख नगरेका मान्छे, त्यसै पर्शुराम गएर स्नान गरी तुरुन्तै तल्लो आसाम फाटासिमल आउनु भएछ । यसै स्थानलाई स्थायी कर्मस्थल बनाउने संकल्प लिएर बाँकी बचेको पैसाले आपm्नी श्रीमती भित्र्याउने सानो कटेरो, थोरै जमिन, भाँडाकुँडा, लत्ताकपडा लगायतको नयाँ घरबारको सिर्जना गर्नुभएछ । नवदम्पती, कलिलो उमेर, अर्थिक अभाव, नयाँ ठाउँ परिवेश, नयाँ जीवनको खोजी, यी पिताजीका लागि चानचुने कुरा थिएनन् ।

ठूलो आँट, आत्मविश्वास, धिरता अनि मिलनसारिता उहाँका जीवनका असल पाटोका रुपमा हामीले बुझेका छौँ । उहाँका यिनै गुणहरुले आजसम्म समाज र जनमानसमा एउटा राम्रो छाप बनाएको छ । लाग्छ, त्यसैको परिणम फाटासिमल पनि उहाँको केही वर्षको कर्मथलो बन्न सक्यो । स्वभाविक हो, त्यो समय नयाँ मैतालु, माइतबाट आमाबुबाको काख छोडेर गएकी चेली, आफ्नै घरको पति गाँस, बास र कपासको टुंगो नभएको अनि परदेशको बसाई, श्रद्धेय माताजीको मन कति दुःखेको थियो होला । तर पनि अटल साहसी र लगनशील महिला, श्रीमानप्रतिको जवाफदेहिता र श्रीमानको आत्मविश्वासलाई रत्तिभर पनि विचलित नगराइकन त्यो जीवनको यात्रालाई होस्टेमा हैंसे गर्दै जानुभएछ । आठ वर्षको आसाम बसाइमा हामी ४ छोरी र २ छोरा गरी ६ सन्तानको जन्म भएको थियो ।

आज हामी जे जहाँ र जस्तो अवस्थामा छौँ, सबै खुशी, सुखी र आनन्द मै छौँ । यसको सम्पूर्ण श्रेय पितामातालाई नै दिन चाहन्छौँ । युवावस्थामा निश्चित लक्ष्यका साथ परदेशिएको मन मश्तिष्कले प्रौढावस्था टेक्दा नटेक्दै आफूभित्र रहेको स्वदेश प्रेम तथा लक्ष्य प्राप्तिमा हाँसिल गरेको सफलतालाई प्रधानता दिँदै २०३० सालदेखि नै झापामा बसोबासको व्यवस्था मिलाउन लाग्नुभयो । आवश्यक तयारी पूरा गरेपछि २०३२ सालमा आफ्नो सिङ्गो परिवार साथमा लिई झापाको शनिश्चरेस्थित गोलधाप गाउँमा आइपुग्नु भयो । जीवनका धेरै बसन्तहरु त्यही ठाउँको शैक्षिक, आर्थिक, धार्मिक, सामाजिक एवम् राजनीतिक उन्नयनका निम्ति समर्पित गर्नुभयो । भागवद्भक्ति आश्रम एवम् देवर्षी संस्कृत विद्यालयको स्थापना एवम् विकास, लक्ष्मी माध्यमिक विद्यालयको विकास, अर्जुनधार जलेश्वर धामको विकास, सनातन धर्मसेवा समितिको भवन निर्माणजस्ता महत्वपूर्ण कार्यहरुलाई समाजले उहाँका योगदानका रुपमा कदर गरिरहँदा हामी गौरवान्वित महशुस गर्दछौँ ।

जीवनको अर्थ राम्ररी बुझ्न सक्ने तथा समय, काल, परिस्थिति अनुसार जीवनलाई चलाउन सक्ने क्षमता हासिल गर्नुभएका स्व. पिताजीले आफ्नो जीवनको यस अवधिमा घर परिवारको सभ्य व्यवस्थापन, आवश्यक सामाजिक सेवाका साथसाथै आवश्यक ज्ञान एवम् अनुभव आर्जनको निरन्तरताका लागि प्रशस्त तीर्थाटन गरिसक्नुभएको थियो । श्रीमद्भागवत महापुराणका व्याख्याताका रुपमा धेरै यज्ञ अनुष्ठानहरु सम्पन्न गरी–गराई सुसंस्कृत जीवनशैली बारे सन्देश प्रवाह गर्नुभएको थियो ।

जीवनको उत्तराद्र्धमा दुःखका दिनहरु पार गर्दै सुखको दिनको थालनी मात्र के भएको थियो फेरि एउटा बज्रपात उहाँमाथि आयो । सबै दुःखमा साथ दिएर यहाँसम्म ल्याउने जीवन संगिनीले अचानक आफूलाई एक्लो बनाएर यो संसार छोडेर गएको असह्य पीडाले अन्तिम समयसम्म पनि पिताजीलाई च्वास्स च्वास्स घोचिरहेको अनुभूत गरेका थियौँ । पिताजीको चौरासी उत्सव सम्पन्न गरिरहँदा श्रदेय माताजीलाई समेत साथमा राख्न पाएको भए हामी अत्यन्त भाग्यशाली हुनेथियौँ । तर प्रभुको कृपा माताजी त्यस क्षणको निम्ति हामी बीच रहनुभएको थिएन ।

यस्ता सामाजिक एवम् सांस्कृतिक कीर्तिहरु राखेर परिवारको सम्पूर्ण व्यवस्थापन गरी देहावसान हुनुभएका हाम्रा पूज्य पिताजीको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । पिताजीभन्दा ६ वर्ष कम उमेरकी माताजीको नौवर्ष अघि नै देहावसान भएपछि हामीलाई मातृ वात्सल्यको अभाव हुन नदिने पिताजी पनि अब हामीबीच हुनुहुन्न । अन्ततः अब हामी टुहुरा भएका छौं । तर माता पिताले जोडिदिएको सम्बन्ध र आत्मीय ममताले समाजका हरेक व्यक्ति अब हाम्रा पितामाता बन्नु भएको छ । हामीलाई जन्माउने हुर्काउने, कर्म गरिदिने पितामाता हामीले गुमाए पनि गतिशील समाजका थुप्रै पितामाताहरु यहीँ हाम्रो कामको मूल्याङ्कन गरेर माया, आशीर्वाद, सुझाव सल्लाह दिइरहनु हुनेछ भन्ने अपेक्षा राखेका छौं ।

सम्बन्धित खबर