
शिवसताक्षी । झापाको शिबसताक्षीमा २५ औं जनयुद्ध दिवसमा विहीबार साँझ दीप प्रज्वलन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटिले शिवसताक्षीको पाँच स्थानमा साँझ दीप प्रज्वलन गरी जनयुद्ध दिवस मनाएको हो ।
शिबसताक्षीको वडा नं १ को धरमपुर चौक, वडा नं ३ को पाराबारी बजार, वडा नं ४ र ५ को जनता बजार पाँचगाछी, वडा नं ७ को चन्द्रडाँगी र वडा नं १० को माइधारमा जनयुद्ध दिवस कार्यक्रम आयोजना गरिएको नेकपा शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए । उनले जनआन्दोलन र जनयुद्धमा वीरगति प्राप्त गर्नुहुने महान शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरिएको बताए ।
माइधारमा आयोजित कार्यक्रममा वडा कमिटि अध्यक्ष दिपक पोख्रेलको अध्यक्षतामा र नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराईले सम्बोधन गरेका थिए । उनले जनआन्दोलन र जनयुद्धमा वीरगति प्राप्त गर्नुहुने शहीदको सम्मान र स्मृतिमा श्रद्धाञ्जली गर्न मात्रै नभएर उनिहरुको सपनालाई पुरा गर्न समेत पार्टी नेतृत्व गम्भिर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा वडा नं १० का नेता समध्वोज कार्की, व्यवसायी तथा नेकपाका नेता मोहन सुवेदी, पदमलाल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
यता, धरमपुर चौकमा आयोजित कार्यक्रममा पार्टीका झापा जिल्ला सचिवालय सदस्य राधाकृष्ण खनालले मन्तव्य राखेका थिए । वडा नं १ का सचिव नेत्र नेम्बाङका अनुसार कार्यक्रममा वडा कमिटि अध्यक्ष नरेन्द्र दाहाल, वडा इन्चार्ज दुर्गा नेम्बाङ, जयबहादुर विश्वकर्म लगायतको उपस्थिति रहेको थियो ।
पाराबारी बजारमा आयोजित कार्यक्रममा नेकपा नगर कार्यालय सदस्य प्रेम याम्फु राई, वडा इन्चार्ज सञ्जय राई, वडा कमिटि अध्यक्ष अग्नी सापकोटाको सहभागिता थियो ।
पाँचगाछीस्थित जनता बजारमा आयोजित जनयुद्ध दिवसमा नेकपा झापाका सचिवालय सदस्य रामबहादुर राईले सम्बोधन गरेका थिए । जनता बजारमा आयोजित जनयुद्ध दिवसमा शिबसताक्षी–४ र ५ को पार्टी र जनबर्गिय संगठनका नेतृत्वहरुको ठूलो संख्यामा उपस्थिति थियो ।
तत्कालीन नेकपा माओवादीले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुुद्धको आरम्भ गरेको थियो । तत्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र) बीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा श्रद्धाञ्जली सभा’ का रुपमा मनाउन थालिएको छ ।