२०८० फागुन १८, शुक्रवार , ०२:३९:३३ बजे

Sajhamanch
'

लैङ्गिक विभेद बुझ्नका लागि ‘डुब्छ र तैरिन्छ’को उदाहरण नै काफी रहेछ

सोमवार, माघ २७, २०७६

तालिम या औपचारिक कार्यक्रमहरुमा म त्यति धेरै जान रुचाउँदिन । बेला मौका मनमिल्दा साथीहरुसँग जानु अलग्गै कुरा हुन्थ्यो । तर आज लागिरहेछ, मैले तालिम, गोष्ठी र कार्यक्रमहरुमा सहभागी हुन रुचि नराख्दा धेरै कुरा गुमाइरहेकी रहेछु । पछिल्लो पटक माघ १९ गते धुलाबारीमा नारी सञ्चार गृह झापाको आयोजनामा भएको कार्यक्रममा जान पनि हाम्रा सम्पादक कै निर्देशन थियो । उहाँले कार्यक्रमहरुमा जाने गर्नुपर्छ भन्दै मानिसहरु चिन्न र विषयवस्तु बुझ्न यस्ता कार्यक्रमहरु प्रभावकारी हुनेछन् भन्ने उहाँको सुझाव थियो । सोही भएर धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित लैगिक हिंसा र सुरक्षित सञ्चार सम्बन्धी कार्यक्रममा सहभागी भएँ । सो कार्यक्रममा प्राप्त उर्जाले म आफूले विगतमा निक्कै ठूलो भूल गरेको अनुभूति भयो ।

सो दिन पनि हामी कार्यक्रम हलमा पुग्न अलि ढिला नै भएका थियौं । हल भरिभराउ थियो, ठाउँ खोज्दै पछाडि रहेका केही खाली कुर्सीमा बस्यौ । हलमा जनप्रतिनिधि र सञ्चारकर्मीहरुको बाक्लो सहभागिता देख्दा खुशी पनि । अहा ! कति धेरै मानिसको सहभागिता । कार्यक्रम विशेष नै रहेछ सायद भन्ने कल्पना गरेर ध्यान दिएर सुन्न थालेँ । स्टेजमा प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेती, अग्रज पत्रकार बविता बस्नेत, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, नारी सञ्चार गृह झापाका अध्यक्ष अम्बिका भण्डारीको आसन ग्रहण थियो । कार्यक्रम पत्रकार रेजिना गौतमले सञ्चालन गरिरहनु भएको थियो ।

अरु सबैजनासँग यतैकतै देखिरहेको, भेटिरहेको र उहाँहरुको कुरा सुनिरहेका कारण लैगिक हिंसा र सुरक्षित सञ्चार विषयमा पत्रकार बविता बस्नेतले के बोल्नु होला भन्नेमा नै मेरो ध्यान थियो । त्यसो त मैले मात्र होइन, सहभागी धेरैको मुखबाट यही शब्द सुनिरहेकी थिएँ । कार्यक्रममा उहाँले कतिखेर बोल्ने होला भन्ने सबैमा उत्सुकता रहेको पाएँ । उहाँको मन्तब्यको धेरैले ब्यग्र प्रतिक्षा गरिरहेका रहेछौं । विशेष गरी मेरो ध्यान उहाँतर्फ यसर्थ पनि थियो कि उहाँलाई म पहिलेदेखि नै सामाजिक सञ्जालमा फलो गरिरहेकी छु । उहाँले लेखेका महिलासँग सम्बन्धित अत्यन्तै मन छुने लेखहरु पढ्ने गरेकी छु । आज नजिकबाट उहाँका कुरा सुन्ने अवसर जुरेकाले मेरो पूरै ध्यान उहाँका कुराहरुमा केन्द्रित रह्यो ।

उहाँले जब बोल्न शुरु गर्नुभयो हल पनि सुनसान हुन थाल्यो । सबै एकाग्र भएर लैगिक हिंसा र सुरक्षित सञ्चार सम्बन्धी उहाँका अनुभवहरु सुन्न थाल्यौ । वास्तबमै हिंसा अशिक्षित महिलाहरुले मात्र भोग्नु परेको रहेनछ, अनि एक दुई जनाले मात्र पनि होइन । पढे लेखेका, शिक्षित परिवारका अनि जिम्मेवार पदमा रहेका महिलाहरु कुनै न कुनै रुपमा हिंसा सहेर बस्न बाध्य रहेको उहाँका कुराले छर्लङ्ग पारयो ।

उहाँको मन्तब्यमा केही यस्ता मन छुने सन्दर्भहरु थिएः–

श्रीमान अगाडि बढ्दा उनको प्रगतिमा श्रीमतीहरु खुसी हुन्छन् । मेरो श्रीमान त यो पोजिसनमा हुनुहुन्छ नि ! भन्दै साथीभाइ आफन्तजनलाई सुनाउँछन्, खुशी बाँड्छन् । तर त्यही ठाउँमा श्रीमतीको पोजिसन राम्रो हुँदा जति खुशी श्रीमती हुन्छिन् त्यति श्रीमान हुनै सक्तैनन् । होला कसै–कसैलाई, तर त्यस्ता श्रीमान सिमित मात्रामा मात्र छन् । जो श्रीमतीलाई अगाडि बढाउन चाहन्छन् अनि कसैले श्रीमतीको नाम लिँदा गर्वको महसुस गर्छन् । एक रथका दुई पांग्रा हामी बोलीमा मात्र देखाउँछौं, व्यावहारमा अझै हुन सकेकै छैन ।

छोराको गल्ती लुक्ने छोरीको नलुक्ने ! जसरी पोखरीमा ढुंगा डुब्छ छोराको गल्ती त्यसरी नै लुक्छ । तर पोखरीमा पात जसरी तैरिन्छ छोरीको गल्ती त्यसरी नै तैरिन्छ । ‘डुब्छ र तैरिन्छ’ यही उदाहरण नै काफी छ, लैङ्गिक विभेद बुझ्नका लागि । मैले सो दिनको तालिमबाट लिएको महत्वपूर्ण ज्ञान यही थियो, जीवनभरि सम्झना योग्य रहनेछ ।

समाजमा बस्दा इज्जत पो जाने हो कि भन्ने डरले अझै पनि आफूमा भएका हिंसाहरु सहेर बसिरहेका छन शिक्षित या अशिक्षित, ग्रामीण क्षेत्र या शहरिया क्षेत्रका महिलाहरु सबै । महिला हिंसाका कुराहरु गरिरहँदा पुरुष चाहिँ हिंसामै परेका छैनन् भन्न पटक्कै सुहाउँदैन । यो चाहिँ सत्य हो, महिलाको तुलनामा पुरुष हिंसा थोरै भएका हुन्छन् र पिडीत पनि थोरै नै छन् ।

लंैगिक हिंसा र सुरक्षित सञ्चार सम्बन्धी कार्यक्रममा हिंसा किन हुन्छ, यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ, हिंसाको प्रवृत्ति कस्तो छ । न्यूनीकरणमा राज्य र सञ्चार जगतको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा केन्द्रित थियो । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पनि सहजीकरण गरेको सो कार्यक्रममा उहाँले ६७ प्रतिशत हिंसाका घटनाको कारण मदिरा सेवन रहेको तथ्य सुनाउनु भयो ।

हिंसाको जड त मदिरा सेवन पो रहेछ, राज्यले उत्पादन गर्न र बेच्नमा नै रोक लगाए घटना न्यूनीकरण हुने पक्का भयो । झापा जिल्लामा हिंसाको अवस्था र साइवर अपराध, सामाजिक सञ्जालबाट मान्छेलाई कसरी फसाइँदो रहेछ, कस्ता–कस्ता घटना प्रहरी समक्ष पुगेका रहेछन् भन्नेबारे जिल्ला प्रहरी प्रमुख कोइरालाले दिनु भएको जानकारी मनन गर्न लायक छ ।

वास्तव मै उक्त कार्यक्रम प्रभावकारी र उपलब्धिमूलक रह्यो । महिला सञ्चारकर्मीहरुको हक, हित र संरक्षणका लागि स्थापना गरिएको नारी सञ्चार गृह झापाले यस्ता प्रकृतिका कार्याक्रम ल्याएर हामीलाई हौसला भर्दै गएकोमा धन्यवाद नदिइरहँदा पक्कै अन्याय हुनेछ ।

सम्बन्धित खबर