
काठमाडौं । नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ ।
महानगरले स्वदेशी फूल र मालाको प्रयोगलाई प्राथमिकता दिई बिक्री वितरण गर्न सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा अनुरोध गरेको हो ।
काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको महानगर प्रहरी बलले एक सूचना जारी गर्दै सूचनाको अवज्ञा गरी कसैले प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलको माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सम्पूर्ण सामग्रीहरू जफत गरिने चेतावनी दिएको छ ।
यसैगरी, नेपाली किसानहरूले उत्पादन गरेका फूल र मालाहरूले उचित बजार पाउन् र सर्वसाधारणलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगर प्रहरी बलले सरोकारवाला निकायहरूसँगको समन्वयमा बिक्री वितरणका लागि विभिन्न स्थानहरू तोकेको छ ।

