२०८३ कार्तिक २७ शुक्रवार , ०८:५६:४६ बजे

Sajhamanch
'

कोशी लोक सेवाको ‘भत्ता काण्ड’ सुशासन समितिमा बहस

सोमवार, कार्तिक १६, २०८३

विराटनगर । कोशी प्रदेश लोकसेवा आयोगभित्र मौलाएको आर्थिक बेथिति र पूर्वअध्यक्ष महेन्द्रप्रसाद गुरागाईंको राजीनामाबारे प्रदेशसभाको सुशासन तथा योजना समितिले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। तर, प्रदेशको संवैधानिक निकायसँग जोडिएको यति गम्भीर विषयको छलफलमा भने संसदीय समिति आफैँ कोरमविहीन बन्न पुग्यो।

११ सदस्यीय समितिमा निर्णयका लागि कम्तीमा ६ जना सांसद उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ। तर, बैठक सुरु हुँदा सभापति खगेश्वरी पौडेलसहित भूमिप्रसाद राजवंशी, राधाकृष्ण खनाल र मालतीकुमारी लिम्बू गरी जम्मा चार जना मात्र उपस्थित थिए। बैठकको बीचमा नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो थपिए पनि संख्या ५ मात्र पुग्यो, जसले गर्दा बैठकको वैधानिक कोरम नै पुगेन।

अझ रोचक त के भने, प्रदेशको सुशासन कायम गराउने जिम्मेवारी बोकेका पूर्वमुख्यमन्त्रीद्वय केदार कार्की र राजेन्द्रकुमार राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री निर्मला लिम्बू तथा सांसद मीना श्रेष्ठ जस्ता ‘हेभिवेट’ नेताहरू बैठकमा अनुपस्थित रहे।

के थियो लोकसेवाको विवाद ?

कोशी प्रदेश लोकसेवाका अध्यक्ष रहेको समयमा महेन्द्रप्रसाद गुरागाईंको भत्ता प्रकरण माथि जानकारहरूले सुशासन समितिमा उजुरी दिएका थिए । त्यसअगाडि उनको विषयमा विभिन्न संचार माध्याममा प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता र कम्प्युटर सीप परीक्षणसम्म आफैँ संलग्न भएर लाखौँ रुपैयाँ भत्ता कुम्ल्याएको आरोपसहितका समाचार प्रकाशित भएका थिए ।

यस्तै, १५ मिनेटको परीक्षा दिनमा १० सिफ्टसम्म चलाएर भत्ता लिएको, ६ जना परीक्षार्थीका लागि १५ जना निरीक्षक खटाएको तथा वेबसाइटमा सूचना राख्दा र फाराम रुजु गर्दासमेत अतिरिक्त भत्ता लिने गरी कार्यविधि बनाउन खोजेको विषय सार्वजनिक भएको थियो। त्यसपछि अध्यक्ष गुरागाईंले राजीनामा दिएका थिए।

बैठकमा लोकसेवा आयोगका प्रवक्ता ऋषिकुमार खनाल र निमित्त अध्यक्ष डा. भीमबहादुर सुब्बाले अध्यक्षको संलग्नता अध्यक्षका रूपमा नभई ‘विज्ञ’का हैसियतमा भएको भन्दै बचाउ गरे। तर, सांसदहरूले यसलाई ठाडै अस्वीकार गरेका थिए ।

सांसद इन्द्रबहादुर आङ्बोले भने, ‘महेन्द्र गुरागाईं लोकसेवाकै अनुभवी क्याडर हुनुहुन्थ्यो। यति गम्भीर प्रश्न उठेपछि उहाँले समितिमा आएर डटेर जवाफ दिनुपर्थ्यो। सामना गर्नुको साटो एकाएक राजीनामा दिएर भाग्नुले उहाँमाथिका आरोप र कमजोरीलाई नै पुष्टि गरेको छ। संवैधानिक निकाय प्रश्नभन्दा माथि हुन सक्दैन।’

सांसद राधाकृष्ण खनालले थपे, ‘अध्यक्ष आफैँ प्रश्न बनाउने, आफैँ कापी जाँच्ने अनि आफैँ अन्तर्वार्ता लिने ? १५ मिनेटको परीक्षा १० सिफ्ट चलाएर भत्ता खाने छुट कुन कार्यविधिले दियो ? आयोगका सम्पूर्ण कार्यविधि समितिमा मगाएर अध्ययन हुनुपर्छ।’

सांसद भूमिप्रसाद राजवंशीले कमीकमजोरी देखिएको बताए । ‘उहाँले राजीनामा दिनुभयो। अब ढिला नगरी सत्यतथ्य पत्ता लगाउन तत्काल जाँचबुझ समिति बनाउनुपर्छ,’ उनको भनाइ थियो । बैठकमा उपस्थित सांसद मालतीकुमारी लिम्बू भने छलफलभरि मौन रहिन्।

छलफलको अन्त्य गर्दै समितिका सभापति खगेश्वरी पौडेलले लोकसेवा जस्तो पवित्र संस्थामा यस्तो आर्थिक र नैतिक विचलन सह्य नहुने बताइन्। पूर्वअध्यक्षको राजीनामालाई व्यङ्ग्य गर्दै उनले भनिन्, ‘प्रश्न उठेपछि चोरले खुट्टा काट् भन्दा उठाएजस्तै गरी राजीनामा दिएर हिँड्न मिल्दैन।’

उनले समितिले आयोगका सम्पूर्ण आन्तरिक कागजात र कार्यविधि झिकाउने तथा सत्यतथ्य छानबिनका लागि छुट्टै संसदीय समिति गठन गर्ने निर्णय सुनाइन्।

सम्बन्धित खबर