
दुबई । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईले राहत तथा उद्धार कोष वृद्धि गर्ने उद्देश्यले १ नोभेम्बरमा आयोजना गरेको ‘अन्तरजातीय नृत्य प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम–२०२६को उपाधि तामाङ समाजले चुमेको छ । महासंघमा आबद्ध आठ जातीय संस्थाका कलाकारहरूको प्रतियोगितामा सहभागिता थियो ।
दुबईमा आयोजित प्रतियोगितामा तामाङ समाज यूएईले उपाधि जित्न सफल भयो भने नेपाल मगर संघ शाखा यूएईले द्वितीय र तमु समाज यूएईले तृतीय स्थान हासिल गरे।
विजेता समूहहरूलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा सनिल घिसिङ, इन्द्र तमु र होम राजालि मगर रहेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ यूएईका प्रमुख संरक्षक एवं पूर्वअध्यक्ष विक्रम लिम्बूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले मन्तव्य राख्दै यूएई तथा नेपालमा विभिन्न कठिनाइमा परेका आदिवासी तथा गैरआदिवासी नेपाली समुदायका सदस्यहरूलाई महासंघले सहयोग गर्दै आएको स्मरण गरे।
उनले राहत तथा उद्धार कोषलाई थप सुदृढ बनाउन सांस्कृतिक कार्यक्रम मार्फत कोष अभिवृद्धि गर्ने प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विभिन्न जातजातिका मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
साथै, यूएईमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्न पनि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उनको धारणा थियो ।
महासंघका अध्यक्ष भागरथी कुमार भगतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईका अध्यक्ष सूर्यबहादुर खवास, नेपाली समाज यूएईका महासचिव जीवन पंगेनी, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् यूएईका केशव खड्का लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता थियो।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले यस्ता सांस्कृतिक कार्यक्रमले विभिन्न जातजातिको मौलिक पहिचानलाई जीवन्त राख्नुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति, परम्परा र मौलिकताको महत्त्व बुझाउन सहयोग पुर्याउने बताए। उनीहरूले वैदेशिक रोजगारी तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा यूएईमा रहेका नेपालीहरूलाई एउटै सांस्कृतिक मञ्चमा जोड्दै विविधताबीच एकताको सन्देश प्रवाह गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।

