
झापा । नेपाली कांग्रेस झापाको नवौं जिल्ला अधिवेशनबाट पूर्व पत्रकार तथा तत्कालीन जिल्ला सचिव कृष्ण हुमागाई जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
पार्टीको १५औं नियमित महाधिवेश अन्तरगत आइतबार बिर्तामोडमा सम्पन्न जिल्ला अधिवेशनबाट हुमागाईसहित जिल्ला नेतृत्व सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।
१४औं महाधिवेशन अन्तरगत भएको आठौं जिल्ला अधिवेशनबाट कृष्णप्रसाद सिटौलाको टिमबाट सचिवमा निर्वाचित हुमागाई र सहसचिव कालेन्द्रसिंह राहवंशी बाहेकका सबै जिल्ला पधाधिकारीहरु गगन विश्व टिममा गएका छन् । १४औं महाधिवेशनमा झापा जिल्ला कार्यसमितिका सबै पदमा सिटौला समूहले जितेको थियो ।
नेपाली कांग्रेसको १४ महाधिवेशनभन्दा अघिका कार्यकालहरुमा जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीको जिल्ला प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका नेता हुमागाँईले कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षको जिम्मेवारी पनि पूरा गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापा शाखाको सभापति, साप्ताहिक विचार, रेडियो नेपाल, रासस, पूर्वाञ्चल दैनिक, लोकपत्र दैनिक, देशान्तर साप्ताहिक, झुल्केघाम, नयाँ संदर्भ, जय लोकतन्त्र साप्ताहिक, स्पेशटाइम दैनिक, अर्जुनधारा दैनिक लगायत दर्जनौ संचार संस्थामा सम्वाददातादेखि प्रधनसम्पादकको जिम्मेवारी हुमागाईंले सम्हालिसकेका छन् ।
हुमागाँई प्रेस तथा अभिव्यक्ति सवतन्त्रताको आन्दोलनको क्रममा पटक–पटक हिरासतमा परेका थियो । २०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको हत्या गरी सैनिक कु–गरेपछि संगठन विभाग प्रमुख कृष्ण सिटौलासँगै तीन महिना भारतमा निर्वासित जीवन बिताउनु परेको थियो ।
निर्वासनमा रहँदा पनि हुमागाँईले नेपालमा तत्कालिन शाही सत्ताले गरेको दमनका विरुद्ध अन्तरास्ट्रिय संचार माध्यममा नेपालको प्रेस स्वतन्त्रता र मानव अधिकारको दयनीय स्थितिका बारेमा समाचार प्रवाह गर्नुका साथै शाही अत्याचारका विरुद्ध आन्दोलना प्रचार सामग्री भारतमा तयार गरी छपाई गरेर नेपाल पठाउने जिम्मेवारी सम्हालेको तत्कालीन नेतृत्व बताउँछ ।
त्यसताका ज्ञानेन्द्र शाहले नेपालमा सम्पूर्ण संचार माध्यममा सेन्सर र प्रतिबन्ध लगाएका थिए । राजाको कदम विरुद्ध कुनै पनि पर्चा, पम्प्लेट पोष्टर कसैले छाप्न नपाउन भनेर प्रेसहरु पनि बन्द गराइएको थियो ।
जुझारु, निडर अनि संघर्षशील छवि बनाएका कांग्रेस नेता हुमागाई जनआन्दोलनका क्रममा निकै चर्चित बने । स्पष्टवक्ता र खरो वैचारिक बहस गर्नसक्ने कुशल वक्ता हुमागाईलाई पत्रकारको नेता हुँदै राजनीतिक दलको नेतृत्वदायी भूमिका प्राप्त गरेकोमा साझामञ्च डटकम परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

