
झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था भए बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने आश्वासन दिएका छन् ।
जिल्लाका व्यावसायिक फूल किसानको समूहले प्रमुख जिल्ला अधिकारी पोखरेललाई सातबुँदे मागपत्र बुझाएको पृष्ठभूमिमा शनिबार बुद्धशान्ति पुगेका प्रमुख जिल्ला अधिकारी पोखरेलले व्यावसायिक फूलखेती गरिरहेका किसानसँग भेटेर उत्पादन र बजारको अवस्थाबारे स्थलगत जानकारी लिए पछि यस्तो आश्वासन दिएका हुन् ।
फूलखेतीका किसानले स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिन तथा भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न प्रजिअसँ माग गरेका थिए । किसानको माग र जिल्लामा फूलखेतीको अवस्थाबारे जानकारी लिएपछि उनले स्थानीय उत्पादनले माग धान्नसक्ने ग्यारेन्टी भए बाहिरबाट आउने फूल रोक्न कठिनाई नहुने बताएका हुन् ।
मागपत्र बुझाउन गएका किसानहरुलाई उनले भनेका छन्, ‘तपाईँहरूले सामूहिक रूपमा गर्नुभएको व्यावसायिक फूलखेती र स्वदेशी उत्पादनले बजार पाउनुपर्छ भन्ने माग जायज छ । प्रशासनले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिन्छ’, पोखरेलले भने, ‘झापामा फूलको ठूलो माग हुने भएकाले स्थानीय उत्पादनले बजारको माग धान्दैन कि भन्ने चिन्ता मात्र हो ।’

