
काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई निलम्बन गरेको छ ।
उक्त संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको भन्दै निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
साथै संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरितका कार्यहरूसमेत गरेको देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस विषयमा मन्त्रालयले सम्बद्ध सरोकारवाला पक्षहरूलाई मिति २०८३ असोज २३ गते छलफल गराई राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा यस मन्त्रालयबाट मिति २०८२ मंसिर १२ गते जारी निर्देशन बमोजिमका कार्य गर्न आग्रहसमेत गरिएकामा सो बमोजिम गरिएको नदेखिएकाले राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम “राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) दुई वटा समूहको समानान्तर गतिविधिले निलम्बनमा परेको हो ।
गीता राणा समूहले यही कात्तिक १४ र १५ गते चितवनमा विशेष विधान महाधिवेशनको आयोजना गर्दै थियो । त्यसको पूर्वसन्ध्यामा गृह मन्त्रालयले एनप्याब्सनलाई आजै निलम्बन गरेको हो ।
तर राणा समूहले गृहमन्त्रालयले निलम्बन गरेपनि आफूहरूको कार्यक्रम नरोकिने बताएको छ । ‘गृह मन्त्रालयकै निर्देशन अनुसार गर्न लागेका हौँ । भोलि र पर्सिको कार्यक्रम हो’ पूर्वअध्यक्ष पाण्डव हमालले भने, ‘वर्षिक साधनरण सभा गर्न लागेका हौँ ।’
एन प्याब्सनको ७औँ महाधिवेशनपछि विवाद सुरु भएको हो । २०७८ साल फागुन २२ र २३ गते नेपालगञ्जमा भएको महाधिवेशनमा अध्यक्षमा पाण्डव हमाल र सहअध्यक्षमा सुवास न्यौपाने चयन भएका थिए ।
तर अध्यक्षमा दुई जनाले १८/१८ महिना चलाउने भद्र सहमति भएको एनप्याब्सनमा न्यौपाने समूहको दाबी छ । १८ महिना समय बितेपछि हमाललले अध्यक्ष छोड्नन् ।

त्यसपछि पाण्डव समूहले पद हस्तान्तरण नगरेको भन्दै अध्यक्षमा न्यौपानेसहति अर्को कार्यसमिति घोषणा भयो । र, दुई वटा समानान्तर कार्यसमिति चल्यो ।
७औँ महाधिवेशनपछि समानान्तर कार्यक्रम भएको दुबै समूहले स्वीकार गरेका छन् । ‘दुई वटा समानान्तर भएको हो’ हमालले भने, ‘सिंगो कार्यकाल हुँदा हुदै उहाँले (न्यौपाने) छुट्टै खोल्नु भयो ।’
तर, दुवै पक्षले आफूहरू आधिकारिक रहेको दाबी पनि गरिरहेका छन् । ‘हामी आधिकारिक हौँ । उहाँहरूले नियम विपरीत समानान्तर कार्यक्रम गरिरहनु भएको हो’ न्यौपानले भने ।
त्यसिपछि २०८१ फागुनमा ८औं महाधिवेशन भयो । दुवै समूहले छुट्टछुट्टै महाधिवेशन गरेका थिए । एउटा समूहबाट गीता राणा अध्यक्ष बनिन् । अर्को समूहबाट न्यौपाने अध्यक्ष बने ।
निलम्बनमा परेको गीता राणा समूहले चितवनमा गर्न लागेको कार्यक्रम नरोकिने बताएको छ ।
‘हामी कार्यक्रमको लागि चितवन जाँदै छौँ । गृह मन्त्रालयकै सहमतिमा गर्न लागेका हौँ’ हमालले भने, ‘गृहको सूचनामा कुनै हस्ताक्षर केही छैन । हाम्रो कार्यक्रम रोकिदैन ।’
न्यौपाने समूहले भने चितवनको कार्यक्रम नियम विपरीत भएको दाबी गरेको छ । ७औँ महाधिवेशनसम्म एनप्याब्सनमा ११४७ प्रतिनिधि थिए । ८औँ बाट विवाद भएपछि प्रतनिधि दुईतिर विभाजित भएका छन् ।

