
अमेरिकी सञ्चारमाध्यमहरूले ह्वाइट हाउसकी प्रेस सचिव केटी जाकारियाले नियुक्त भएको पाँच दिनमा नै पद छाड्न लागेको खबर सार्वजनिक गरेका छन् । द न्युयोर्क टाइम्सलगायत सञ्चारमाध्यमका अनुसार, नोभेम्बरमा हुने मध्यावधी निर्वाचन नजिकिँदै गर्दा उनको बहिर्गमनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई प्रमुख प्रवक्ताविहीन बनाउने बताइएको छ ।
क्यारोलिन लिभिटको स्थानमा जिम्मेवारी सम्हालेकी जाचारिया पदमा नियुक्त भएको पाँच दिनमै बाहिरिन लागेकी हुन् । मंगलबार आयोजित ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा उनले पत्रकारका तीनवटा प्रश्नको मात्र जवाफ दिएकी थिइन् । उक्त पत्रकार सम्मेलन १४ मिनेटभन्दा कम समयमै सकिएको थियो ।
यद्यपि, सोही दिन ह्वाइट हाउसको वेबसाइटमा जाचारियाले ३७औँ प्रेस सचिवका रूपमा प्रभावशाली पहिलो पत्रकार सम्मेलन गरेको उल्लेख गरिएको थियो ।
शुक्रबार बिहान राष्ट्रपति ट्रम्पले पनि जकारियाले पद छाड्न सक्ने संकेत गरेका थिए । पत्रकारहरूसँग उनले जकारियालाई यो काम कठिन रहेको र यसमा उनी खुसी हुन नसक्ने आफूलाई लागेको बताएका थिए ।
ट्रम्पले आफू जकारियाको ठाउँमा भएको भए पदमा रहने विषयमा पुनर्विचार गर्ने सल्लाह दिने पनि बताएका थिए ।
कानुनी योग्यतामाथि विवाद
ट्रम्पले गत शुक्रबार जाचारियालाई नयाँ प्रेस सचिव नियुक्त गरेको घोषणा गरेका थिए । तर, आफूलाई वकिलका रूपमा प्रस्तुत गर्दै आएकी जाचारियाको कानुनी योग्यता प्रमाणित नभएको विषय सार्वजनिक भएपछि उनी विवादमा परेकी थिइन् ।
यसअघि जकारिया दक्षिणपन्थी सञ्चारमाध्यम फक्स न्युज र न्युजम्याक्समा विश्लेषकका रूपमा कार्यरत थिइन् । उनी ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसल सञ्चालन गर्ने कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजीकी सल्लाहकार समेत थिइन् ।
उनले कानुन विषयमा अध्ययन पूरा गरे पनि अमेरिकाका कुनै पनि राज्यमा कानुनी अभ्यास गर्न आवश्यक बार परीक्षा उत्तीर्ण गरेको प्रमाण सार्वजनिक नभएको समाचारमा उल्लेख छ । ह्वाइट हाउसले पनि उनको बार परीक्षासम्बन्धी योग्यता पुष्टि गर्ने विवरण प्रस्तुत गर्न नसकेको बताइएको छ ।
जकारियाले सन् २०११ मा पेपरडाइन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि प्राप्त गरेकी थिइन् । अमेरिकामा कानुन विषयमा अध्ययन पूरा गर्नु र इजाजतप्राप्त वकिलका रूपमा कानुनी अभ्यास गर्न योग्य हुनु फरक विषय हुन् । डीडब्ल्यूबाट

